माओको १३१औं जन्म जयन्ती

किन मनाउने माओ दिवस ?

विहीबार, ११ पुस २०८१, ०६ : १०

काठमाडाैं- माओ संसारभरिकै क्रान्तिकारीहरुका प्रेरणास्रोत हुन । खासगरी औपनिवेशिक र सामन्तवादी शोषण.उत्पीडनबाट गुज्रिएका मुलुकहरुमा क्रान्तिको मार्ग पहिल्याउने कुरामा माओको उल्लेखनीय योगदान रहेको छ । उनले चीनमा दीर्घकालीन जनयुद्धको बाटोबाट क्रान्ति सम्पन्न गरेका थिए । गाउँले शहर घेर्ने कार्यनीति अपनाउँदै राष्ट्रवादी शक्तिहरुसँग मोर्चावन्दी गरेर चाङकाईसेककोे सत्ता ढलाएका थिए । कालान्तरमा उनको क्रान्तिको सिद्धान्तलाई माओ विचारधाराको रुपमा स्विकार गरियो । नेपाललगायत कतिपय मुलुकमा भने माओवाद नै भन्न थालियो । नेपालमा माओवादको नाममा प्रचण्डको नेतृत्वमा सत्ताको विरुद्ध विद्रोह समेत भयो । १० वर्षसम्म चलेको उक्त विद्रोहलाई तत्कालीन नेकपा (माओवादी) ले जनयुद्धको नाम दिएको थियो । आज उनै क्रान्तिकारी नेता माओको १३१औं जन्म जयन्ती हाे ।

आज चीनले जुन प्रगति गरिरहेको छ, त्यसमा माओको योगदानले अभूतपूर्व काम गरेको छ । आज चीनले चीनिया विशेषता सहितको समाजवादको अभ्यास गरिरहेको छ । चिनियाँहरुको संश्लेषण छ, माओले हिंड्न सिकाए, देङ्गले दौड्न सिकाए । आज यी दुई नेताहरुको वैचारिक र दर्शनिक मार्गनिर्देशनको आधारमा विकसित मानिएका पूँजिवादी मुलुकहरुसँग प्रतिष्प्रधा गरिरहेको छ ।

चीनको दुरदराज हुनान प्रान्त अन्तरगत रहेको सान्सीको ग्रामीण किसान परिवारमा सन् १८९४ डिसेम्बर २६मा माओको जन्म भएको थियो । अध्यक्ष माओ विश्व सर्वहारा बर्गको विचारक, अभिभावक, संरक्षक र नेतृत्वकर्ता थिए । निरन्तर क्रान्तिको नेतृत्व गर्दागर्दै अविश्राम योद्धा माओको सन् १९७६ मा देहावसान भयो । वास्तवमा कमरेड माओको मृत्यु एउटा युगको अन्त्य थियो । विश्वभरका समाजवादी शिविरका मान्छेहरुले आफ्नो नजिकका अभिभावक गुमाएका थिए भने साम्राज्यवादीहरुले आफ्नो जानी दुश्मन गुमाएका थिए । । माओको मृत्युमा बिबिसीले धर्तीको लाल सिताराको अवसान भनेको थियो ।

जापान तथा बेलायत लगायतका मुलुकहरुको लामो उपनिवेशको भोगाइ, भर्खर मात्र लेनिनको नेतृत्वमा १९१७ सम्पन्न भएको समाजवादी क्रान्ति, संसारभर कम्युनिस्ट पार्टी नेतृत्वमा मुक्तिकाे लहर, आफ्नो देशका राष्ट्र्रवादी भनेका पार्टीहरुले गरेको राष्ट्र्रघात, जनताहरुको नाजुक अवस्थालगायत घटनाक्रम बीचबाट कमरेड माओको अगुवाईमा चीनमा सन् १९२१ मा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

उपनिवेश, गरिवी र अशिक्षाले आक्रान्त चीनमा कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दा एक दशक अघि सन् १९११ मा डा.सनयात सेनको नेतृत्वमा पहिलो क्रान्ति अर्थात गणतन्त्र स्थापना भएको थियो । तर, छोटो समयमै देशमा साम्राज्यवादी अतिक्रमण, अस्थिरता, राष्ट्र्रघात र जनविरोधी गतिविधि बढ्दै जानु, जनता बीच चाङकाईसेक नेतृत्वको पार्टी, सरकार राष्ट्र्रघाती हर्कतहरुका कारणले बदनाम हुँदै थियो, यो परिवेशमा चिनीयाँ कम्युनिस्ट पार्टीले बिशाल चीनमा क्रान्तिको परिकल्पना गर्यो । यही परिवेशमा सन् १९४९ मा अर्ध उपनिवेश र अर्ध सामन्ती चीनमा कमरेड माओकाे नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भयो।

माओको नेतृत्व कालमा पार्टी भित्रका आन्तरिक शक्ति संघर्षहरु, समाजवादको अभ्यास, सोभियत संशोधनवादका विरुद्ध महान् बहस र चीनमा देखिन थालेको पुँजीवाद विरुद्ध निरन्तर क्रान्तिको रुपमा संचालन गर्नु परेको चीनिया सर्वहारा सांस्कृतिक क्रान्तिलगायतका परिघटनाहरुलाई महत्त्वपूर्ण संयोग मान्न सकिन्छ ।

आज विश्वभर भुमण्डलिकृत साम्राज्यवाद आफ्नो नेतृत्वमा विश्व व्यापार, अर्थतन्त्र, विश्व बैंकहरु र सैन्यअड्डा सहित श्वेत आतंक सहित आक्रामक रुपमा विश्वभरीका श्रोत, साधन कब्जा गर्ने र ती मुलुकहरूमा आफ्नो दलालहरु खडा गर्न अघि बढि रहेको छ, भने विश्व साम्राज्यवादी हस्तक्षेप विरुद्ध उभिएका राष्ट्र्रहरु जति छन् ती केही संगठित र केही आफ्नो व्यापारिक स्वार्थ सहित विश्व मंचमा उभिएका छन् । अहिले विश्वभर राजनीतिक अन्तरविरोधहरु सतहमा भने रुस युक्रेन युद्ध आमनेसामने भएको छ । यही युद्धका कारण कोरोना महामारीपछि विश्वभर सबै मुलुकहरूमा आर्थिक मन्दीले संकट गहिरिदै गएको छ ।

यसको असरको रुपमा विश्वभर गरिबी, बेरोजगारी, भोकमरीलगायतका समस्याहरु देखिएका छन्, जसका कारण दैनिक जसो विश्वभर मूल्यवृद्धी, बेरोजगारी, जनतामा लादिएका विभेदविरुद्ध प्रदर्शन, आन्दोलनहरु भइरहेका छन्, केही देशहरूमा त आन्दोलनहरु हिंसात्मक हुँदै बिद्रोह र सत्ता परिवर्तन सम्म पुग्ने गरेका परिदृश्यहरु पनि देखिदै छन्, यस बीच नेपालमा पनि विश्व परिघटना र यसका असरहरु छन्, जसले नेपाली समाज नराम्रोसँग प्रभावित भएको छ, देशमा गहिरिदो अर्थ संकट, भ्रष्ट राजनीतिक दल र नेतृत्व, महङ्गी, भ्रष्टाचार, बेरोजगारलगायत विषयले आम जनतामा चरम निराशा र वितृष्णा पैदा भएको छ ।

मुलुकको यो कठीन परिवेशमा आफूलाई माओका अनुयायी भन्ने कम्युनिस्ट पार्टीहरुको अवस्था भने त्यति भरोसालाग्दो छैन । माओवादलाई मान्ने मूलधारको पार्टी नेकपा (माओवादी केन्द्र) विभिन्न समूहमा विभाजित छ । उनीहरु जुट्नु र फुट्नुमा अब जनताले चासो राख्न छोडिसकेका छन् । कतिपय सन्दर्भमा त नेपालका माओवादीहरु बदनाम भैसकेका छन् । माओवादीका शीर्ष नेताहरुकै कार्यशैली विवादास्पद देखिन्छ । आफ्नो पार्टीको आदर्श मार्क्स, लेनिन तथा माओलाई मान्ने तर व्यवहारमा भारतीय राजनीतिका अगुवा जवाहरलाल नेहरुको शैली अपनाउने गरिरहेका छन् । माओवादी केन्द्रका एक पदाधिकारीले पंक्तिकारसँग भनेका थिए, ‘माओ र सि जिनपिङ्गले कहिल्यै पनि आफ्ना छोराछोरीलाई राज्यको सुविधामा राखेनन् । स्वकीय बनाएनन् । तर हामीकहाँ त नेहरुले गरे जस्तो परिवारवाद लागु गरिएको छ ।’

माओ दिवसले आफुलाई क्रान्तिकारी भन्ने कम्युनिस्टहरुबीच जनता र राष्ट्र्रका समस्या पहिचान र समाधान बारे नेपाल सुहाउँदो कार्यदिशा निर्माण बारे बहस सिर्जना गर्न सक्ला ? के नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा आफ्नो वर्ग समुदाय र जनतासँग एकाकार हुँदै बलियो कम्युनिस्ट आन्दोलनको निर्माण संभव छ ? जसरी माओले चीनमा बलियो कम्युनिस्ट पार्टीका लागि कार्यकर्ता, किसान र युवा विद्यार्थीहरु बीच लामो छलफल र सहकार्य गरेका थिए , के नेपालका माओवादीहरु पनि जनताको बीचमा गएर पार्टीलाई बलियो बनाउने प्रयास गर्लान् ? के नेपाली कम्युनिष्टहरु विश्व कम्युनिस्ट आन्दोलनले ब्यहोरेका धक्काहरुको समीक्षा गर्दै आजको वस्तुगत आवश्यकता र आफ्नो देशको मौलिकता सहितको कार्यदिशा निर्माण गर्न तयार छन् ? माओ जयन्तीको अवसरमा आफूलाई माओवादी भन्नेहरुले गम्भीर समीक्षा गर्न जरुरी छ ।

माओले सोभियत रूसको कहिले नक्कल गरेनन् बरु स्टालिनको आलोचनाका बाबजुद पनि आफ्नो देशको मौलिकता र आवश्यकतामा प्रतिबद्ध रहदै क्रान्तिलाई अघि बढाए । माओले पार्टीका विभिन्न प्रवृत्ति विरुद्ध चीनमा क्रान्ति काल र पछि पनि निरन्तर क्रान्ति अन्तरगत चीनिया सर्वहारा सांस्कृतिक क्रान्ति अघि बढाएका थिए । माओवाद जपेर मात्र केही हुनेवाला छैन । माओबाट सिक्नपर्ने थुप्रै विषयहरु छन् । आजका माओवादी नेताहरुले आफ्नो व्यवहारिक जीवनमा कुन सिद्धान्त अपनाएका छन् ? सिद्धान्तमा माओवादी व्यवहारमा नेहरुवादी बनिरहेको भनेर पार्टीमै आलोचना हुन थालेको छ ।

त्यसैले माओ जयन्ती मनाइरहँदा माओको विचार, दर्शन र राजनीतिको बारेमा पनि गम्भीर बहस र छलफल गरियोस् । माओले सर्वहारा सत्ता स्थापना र साम्राज्यवाद विरुद्धको मोर्चामा कोरियामा आफ्नो छोराकाे सहादतकाे मुल्य चुकाए, तर साम्राज्यवादको अघि झुकेनन् । के नेपालका माओवादी नेताहरु यो स्तरको त्याग गर्न सक्छन् ? यदि मार्क्सवादलाई पक्रने हो र माओलाई वास्तविक रुपमा स्मरण गर्ने हो भने आजको दिनमा मालेमावादी पार्टी, नेतृत्व, विचार, संगठन र आन्दोलनहरु निर्माण गर्ने अभियानमा जनतासँग लाग्ने प्रतिवद्धता गरौं र आदरणीय माओका महान् कामहरुको समय सापेक्ष रक्षा, अनुसरण र विकास गर्ने हिम्मत गरौं, यसमै मालेमावाद मान्नेहरुको भविष्य निर्भर रहने छ र माओ दिवसको सान्दर्भिकता पनि चरितार्थ हुनेछ ।

विहीबार, ११ पुस २०८१, ०६ : १०

प्रतिक्रिया