काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफ्ना विरोधीलाई किनाराकृत गर्ने रणनीति तय गरेका छन् । एमालेमा निर्विकल्प देखिएका ओलीले आफू र आफ्नो नेतृत्वमाथि प्रश्न उठाउनेलाई अनेकौं दाउपेच गर्दै पार्टीबाटै निष्कासन गरी पार्टीमा एकाधिकार कायम गर्न उद्यत देखिन्छन् ।
दशौं महाधिवेशनमा निर्विरोध नेतृत्वमा दोहोरिने उनको मोहमा तगारो बनेका एमाले पूर्वउपाध्यक्ष भीम रावललाई बुधबार संगठित सदस्यबाटै निष्कासित गरेका छन् ।
बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्दै अन्तरपार्टी लोकतन्त्र अंगीकार गर्न जबज(जनताको बहुदलीय जनवाद)लाई पथप्रदर्शक सिद्धान्त मानेको एमालेले पार्टीमा भने त्यसको प्रत्याभूति दिलाउन सकेको छैन।
यस अघि ओली स्वयंमले नै एमालेमा आन्तरिक लोकतन्त्रको उपयोग गर्दै नवौं महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित भएका थिए । तर सोही विधि अनुरुप दशौं महाधिवेशनमा उम्मेदवारी दिएका भीम रावल उनको निशानामा परेका छन् । आफ्नो एकल निर्णयमा कसैले आवाज उठायो भने त्यसलाई देखि नसहने प्रवृत्तिले उनी आलोचकका विरुद्ध निर्मम ढंगले प्रस्तुत हुँदै आएका छन् ।
विवादास्पद व्यापारी मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन जग्गा दान गरेको विषयमा विरोध जनाउँदा एमालेका दुई नेत्रीलाई कारबाही गरेर ओलीले आफ्नो अलोकतान्त्रिक चरित्र प्रदर्शित गरेका छन्। बुधबारको सचिवालय बैठकले रावलसँगै स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन गरेको छ ।
यी नेत्रीद्वयले सर्वोच्च अदालतले दोषी ठहर गरेको रअन्य विभिन्न मुद्दा अदालतमा विचाराधिन रहेको विवादास्पद व्यापारीबाट पार्टी कार्यालय बनाउन जग्गा लिने निर्णय गलत भएको बताएका थिए । उनीहरुले सिंगो एमाले र नेता कार्यकताको साख गिरेको बताउँदै विवादास्पद व्यापारीबाट लिइएको दानले कार्यकर्ता र मतदाताको अपमान गरेको बताएका थिए ।
एमालेका पूर्वउपाध्यक्ष रावल भने दशौं महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएर पराजित भएयता पार्टीमा भूमिकाविहीन रहेका थिए । रावललाई एमालेले सल्लाहकार समितिको सदस्यमा मनोनीत गरे पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए ।
एमाले र अध्यक्ष ओलीविरुद्ध आलोचनात्मक टिप्पणी गर्दै आएका रावलसँग वार्ता गर्न केही समय वार्ता टोली पनि गठन गरिएको थियो । यद्यपि एक-दुई चरण एमालेले रावलसँग वार्ता गरे पनि त्यसले मूर्तरुप नलिँदै उनलाई पार्टीबाटै निष्कासन गरिएको छ ।
पार्टीमा आफ्ना विरोधीलाई एकपछि अर्कोलाई निष्तेज पार्दै अघि बढेका ओलीले एमाले विभाजन हुनुपूर्व आफ्नो समूह इतर रहेकाहरु प्रति पनि पूर्वाग्रह देखाएका छन् ।उनले तत्कालीन एमाले विभाजनको समयमा अर्का नेता माधव नेपालको पक्षमा लागेकाहरुलाई पनि पार्टीको भूमिकामा विभेद गरेका छन् ।
एमाले विभाजनको अन्तिम समयमा माधव नेपालको पार्टीमा नगएर फर्किएका दश भाइका रुपमा परिचित नेताहरुलाई पार्टीमा कार्यकारी भूमिकाबाट विमुख गर्दै आफ्नो सामु निरीह बन्न बाध्य गराएका छन् । ओलीले पार्टीमा कायम गरेको एकाधिकार र पछिल्लो समय नेताहरुमाथि गरिएको कारबाहीले आलोचना र असहमति सहन नसक्ने उनको असहष्णिु चरित्र उजागर गरेको छ ।
प्रतिक्रिया