माैसम पूर्वानुमान

आजदेखि देशका अधिकांश भागमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात शुरु हुने

शुक्रबार, १२ पुस २०८१, ०७ : २२

काठमाडौं- आज साँझदेखि देशका विभिन्न क्षेत्रमा हिमपात र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज साँझदेखि देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।

महाशाखाका अनुसार शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका अधिकांश स्थान र गण्डकी, बागमती, र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

यसैगरी, सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । गण्डकी, बागमती, मधेस, र कोशी प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

मौसम प्रणालीको प्रभावका कारण तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार पनि देशका धेरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने संभावना छ भने आइतबारदेखि मौसममा सुधार हुने अपेक्षा गरिएको छ ।

वर्षा, हिमपात र चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, र हवाई यातायातलगायतका क्षेत्रमा असर पर्न सक्ने भएकाले सबैले आवश्यक सतर्कता र तयारी गर्न महाशाखाले अनुरोध गरेको छ

शुक्रबार, १२ पुस २०८१, ०७ : २२

प्रतिक्रिया