अखिल(क्रान्तिकारी)मा बबण्डर

उमेरहदको पक्षमा आएको मत परिणाम अस्वीकार गर्दा नेतृत्व चयन अन्योलमै

आइतबार, १४ पुस २०८१, १० : ४२

काठमाडौं ।  नेतृत्व चयनमा विवाद हुँदा स्थगित भएको नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनपछि पार्टीले उमेर हद लगाएर समाधान गर्ने निर्णय गरेको थियो ।  ३२ वर्षे उमेरहदमा संगठनका पुराना नेताहरु सहमत नभए पछि निर्वाचन प्रक्रियामार्फत नै टुंगो लगाउन प्रयत्न गर्दा पनि आफ्नो पक्षमा मत नआउँदा त्यसलाई अस्वीकार गरिएको छ ।

शनिबार मध्यराती मतगणना भइरहँदा उमेर हदको पक्ष र विपक्षमा देशभर गरिएको मतदानमा उमेर हद कायम गर्नुपर्ने पक्षमा परिणाम आएपछि अर्को पक्षले विवाद सिर्जना गरी मतपरिणाम समेत सार्वजनिक गर्न नदिएको बताइएको छ ।  उमेर हदको कारणले बाहिरिन लागेका विद्यार्थी नेताहरुको स्वार्थले अखिल(क्रान्तिकारी)को नेतृत्व चयनमा थप अन्योलता छाएको छ ।

देशभरबाट आएको जम्मा मतपरिणाम अनुसार उमेर हद कायम गर्नुपर्ने पक्षमा ९१७ मत र त्यसको विपक्षमा ८८४ मत आएको थियो । उमेर हद कायम गनुपर्ने पक्षमा ३३ मत बढी आउँदा पनि त्यसलाई अर्को पक्षले अस्वीकार गर्दा मत परिणाम सार्वजनिक हुन सकेन ।  

akhil-1024x505

अखिल(क्रान्तिकारी)कै निवर्तमान पदाधिकारी तहमा रहेका नेताहरुले उमेर हद कायम गरे विद्यार्थी संगठन बिदा लिनुपर्ने स्थिति निम्तिएपछि मत परिणाम अस्वीकार गर्दैै त्यसलाई सार्वजनिक गर्न नदिएका हुन् ।

उनीहरुले पार्टीका नेताहरुको आड र उक्साहटमा अधिकांश आकांक्षीमा उमेर हदको दायराले निर्वाचन लड्न नपाउने भयले मत परिणाम समेत स्वीकार नगर्ने पक्षमा देखिएका छन् । अन्तिम समयमा  उमेर हद लगाउनेको पक्षमा मतपरिणाम आएपछि अर्को पक्षले अस्वीकार गर्दा मत परिणाम सार्वजनिक हुन नसकेको हो ।

अखिल(क्रान्तिकारी)का एक विद्यार्थी नेताका अनुसार कलेज नै नभएका स्थानबाट उमेर हदको विपक्षीमा रहेका नेताहरुले प्रतिनिधि छनोट गरेका थिए । चौतर्फी धाँधली गर्दा पनि अन्तिम मतपरिणाम भने उमेरहदकै पक्षमा देखिएपछि त्यसलाई भाँड्न लागिएको ती विद्यार्थी नेता बताउँछन् ।

अखिल(क्रान्तिकारी)को आन्तरिक निर्वाचनका लागि तोकिएका प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधानले भूगोल  र गैरभूगोलका जिल्लाहरुबाट निर्वाचनका कागजात प्राप्त भइनसकेकोले मत परिणाम सार्वजनिक नगरिएको जनाएका छन् ।

उनले जिल्लाबाट कागजात प्राप्त भएपछि मत परिणाम घोषणा गर्ने बताए पनि उमेरहदको विपक्षमा लागेकाहरुले आफ्नो विरुद्धमा मत परिणाम बाहिरिसके पछि त्यसलाई सार्वजनिक गर्न नदिने प्रपञ्चले औपचारिक रुपमा घोषणा हुन नसकेको हो ।

अखिल(क्रान्तिकारी)को गत असोजमा आयोजित २३ औं राष्ट्रिय सम्मेलनमा पार्टीमा व्याप्त गुटको लडाइँ र त्यसको प्रभावले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेर स्थगित भएको थियो । आन्तरिक निर्वाचनमार्फत नै उमेर हदको टुंगो लगाउने प्रयत्न गरे पनि मतपरिणाम आफ्नो पक्षमा नआउँदा अर्को पक्षले धाँधली गरी अन्तिम समयमा मतपरिणामा सार्वजनिक हुनबाट रोकेर नेतृत्व चयनमा थप अन्योलता बढाएका छन् ।

akhil-1-791x1024

आइतबार, १४ पुस २०८१, १० : ४२

प्रतिक्रिया