काठमाडौं । नेकपा(एमाले)बाट निष्कासित भएपछि भीम रावलको आगामी राजनीतिक यात्राबारे अनेकौं अड्कलबाजी सुरु भएको छ । रावलसामु रहेका विभिन्न राजनीतिक विकल्पहरुमध्ये उनी कुन अबलम्बन गर्छन् भन्ने सबैको चासो रहेको छ ।
कतिपयले रावललाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा पनि गरिरहेका छन् । यस्तै केहीले सुदूरपश्चिम प्रदेश केन्द्रित क्षेत्रीय पार्टी खोल्ने र कसैले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्न सक्नेसम्मको सम्भावना औंल्याएका छन् ।
तर, रावल निकट स्रोतले दिएको जानकारी अनुसार उनी आफ्नै नेतृत्वमा नयाँ पार्टी नै गठन गर्ने निर्णयमा पुगेर त्यसको तयारीमा लागेका छन् । केही दिनमै पत्रकार सम्मेलन गरी त्यसको घोषणा गर्ने तयारी भइरहेको छ ।
‘उहाँ(भीम रावल) राजनीतिकर्मी नै भएकाले राजनीतिभन्दा बाहिर जानुहुँदैन । अहिले एमाले नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकसँग छलफल गरिरहनुभएको छ।’, रावल निकट स्रोतले भन्यो, ‘केही दिनमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राखेर देश दौडाहामा निस्कने तयारी छ ।’
रावल निकट उक्त स्रोतका अनुसार पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीका आफू विरोधी गतिविधिको भण्डाफोर गरी पार्टीकै कार्यकर्तालाई आकर्षित गर्ने तयारी छ । एमालेमा असन्तुष्ट रहेका, ओलीको चेपुवामा परेका र सुदूरपश्चिमका आफूपक्षीय नेताहरुलाई तान्ने रणनीतिमा रावल रहेका छन् ।
यसबारेमा थप जानकारी लिन रावलसँग सम्पर्क गर्दा उनले निकटस्थहरुसँग छलफलमै रहेको जानकारी दिए । केही दिनभित्रै पत्रकार सम्मेलन गरेर आफ्नो राजनीतिक यात्राका बारेमा जानकारी दिने उनले बताए ।
‘म राजनीतिमै सम्पूर्ण जीवन व्यतित गरेकाले त्यसभन्दा बाहिर रहन सक्दैन ।’, रावलले आजको अर्थसँग भने, ‘सम्पूर्ण देशभक्त नागरिक, नागरिक समाज र पार्टीका शुभचिन्तक र शुभेच्छुक सबैसँग परामर्श गरेर अघि बढ्ने तयारीमा छु ।’
उनले केही दिनभित्रै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने बताए । नयाँ पार्टी खोल्ने सम्भावना प्रबल रहेको उनले औंल्याए ।
प्रतिक्रिया