माओवादी पदाधिकारी बैठक

अखिल(क्रान्तिकारी)मा ३२ वर्षे उमेरहद कायम हुने निश्चित, मतपरिणाम सार्वजनिक गर्ने निर्णय

आइतबार, १४ पुस २०८१, २० : ३१

काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेरहदको पक्ष र विपक्षमा भएको मतदानको मतपरिणाम सार्वजनिक हुने भएको छ । आज(आइतबार) बेलुका बसेको पार्टीको पदाधिकारी बैठकले देशभरबाट प्राप्त मतपरिणाम सार्वजनिक गर्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

शनिबार राति मतगणना पछि नतिजा सार्वजनिक गर्ने समयमा उमेरहदको विपक्षमा रहेकाहरुको अवरोधपछि मत परिणाम सार्वजनिक हुन सकेको थिएन । अखिल(क्रान्तिकारी)को आन्तरिक निर्वाचनमार्फत देशभरबाट संकलित मत परिणाम सार्वजनिक हुन नसकेपछि माओवादीले आजै पदाधिकारीको बैठक बोलाएको थियो ।

उक्त पदाधिकारी बैठकमा मतदान प्रक्रियामार्फत देशभरबाट आएको मतपरिणाम सार्वजनिक गरेर अखिल(क्रान्तिकारीमा) सोही अनुसारको प्रावधान लागू गर्ने निर्णय गरेको ती पदाधिकारीले जानकारी दिए । 

अखिल(क्रान्तिकारी)को गत असोजमा आयोजित २३ औं राष्ट्रिय सम्मेलनमा पार्टीमा व्याप्त गुटको लडाइँ र त्यसको प्रभावले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेर स्थगित भएको थियो ।  त्यसको करिब तीन महिनापछि आन्तरिक निर्वाचनमार्फत नै उमेर हदको टुंगो लगाएर नेतृत्व चयनको प्रक्रिया अघि बढेको थियो । तर, शनिबार उमेरहदको पक्षमा परिणाम आएपछि विपक्षमा रहेकाहरुले अवरोध गर्दै अन्तिम समयमा मतपरिणाम सार्वजनिक हुन रोकेका थिए ।

देशभरबाट प्राप्त भएको कूल मतपरिणाम अनुसार उमेर हद कायम गर्नुपर्ने पक्षमा ९१७ मत र त्यसको विपक्षमा ८८४ मत आएको थियो । उमेर हद कायम गनुपर्ने पक्षमा ३३ मत बढी आउँदा पनि त्यसलाई विपक्षमा रहेकाहरुले अस्वीकार गर्दा मत परिणाम सार्वजनिक हुन सकेको थिएन ।

 
 

आइतबार, १४ पुस २०८१, २० : ३१

प्रतिक्रिया