माओवादी पदाधिकारी बैठकमा महरा उपस्थित हुँदा प्रचण्ड चकित !

आइतबार, १४ पुस २०८१, २२ : २३

काठमाडौं- नेकपा(माओवादी केन्द्र)को आइतबार बसेको पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा सहभागी भएका छन् । आफ्नै पार्टीले सरकारको नेतृत्व गरेकै समयमा सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका महरा त्यसयता पार्टीका औपचारिक बैठकमा सहभागी नभएर निष्कृय जस्तै भएका थिए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा सुन तस्करी प्रकरणमा गिरफ्तार भएका महरा रिहाई भएपछि अध्यक्ष प्रचण्डसँग रुष्ट भएर कुनै पनि बैठकमा सहभागी भएका थिएनन् । पार्टीका सबै तहका औपचारिक बैठकमा उपस्थित नभएका महरा एकाएक आइतबारको पदाधिकारी बैठकमा पहिलो पटक सहभागी भएपछि नेताहरु चकित परेका थिए ।

यसअघि पार्टीका पदाधिकारी र स्थायी समितिका साथै सातै प्रदेश र गैरभौगोलिक प्रदेशमा आयोजना गरिएको परामर्श बैठकमा समेत सहभागी नभएका महरा पहिलो पटक बैठकमा उपस्थित भएपछि एकछिन सन्नाटा छाएको एक नेताले बताए । ती नेताका अनुसार महराले बैठकमा सहभागिता जनाएपछि सबै एकछिन एकअर्काको मुखमा हेराहेर गर्दै मौनता छाएको थियो ।

प्रचण्डले बारम्बार महराको गिरफ्तारीको उदाहरण दिँदै आफ्नो प्रधानमन्त्रीत्वकालमा पार्टीभित्रैकालाई समेत कानुनी दायरामा ल्याएर सुशासनको अभियानलाई तीव्रता दिएको बताउँदै आएका छन् । उनको गिरफ्तारीलाई लिएर माओवादीले कसैमाथि पूर्वाग्रह नराखेर सुशासनको अभियान थालेको जिकिर गर्दै आएको छ । 

पूर्वमाओवादी नेता रहेका एमाले सचिव टोपबहादुर रायमाझी र महराको गिरफ्तारीलाई माओवादी नेताहरुले सुशासनको हवाला दिँदै आफ्नो सरकारको गुणगान गाइरहेको बेला महरा आइतबारको बैठकमा सहभागिता जनाएपछि प्रचण्ड अचम्मित भएका हुन् ।

आइतबार, १४ पुस २०८१, २२ : २३

प्रतिक्रिया