माओवादीमा पुस्तान्तरणको एजेण्डा विद्यार्थी संगठनबाट कार्यान्वयन

सोमबार, १५ पुस २०८१, १३ : ३२

काठमाडौं- नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नेतृत्व चयनका लागि सुझाएका तीन विकल्पमध्ये एक पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)बाट लागू हुने भएको छ । 

उनले गत साउनमा पार्टीको स्थायी समिति बैठकमै नेतृत्व चयनका तीन विकल्प सुझाउँदै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा लिखित प्रस्ताव नै पेश गरेका थिए ।

उनको प्रस्तावका विषयमा छलफल गर्ने बताउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातै प्रदेशसहित गैरभौगोलिक प्रदेशमा आयोजना गरिएको परामर्श बैठक समेत सम्पन्न भइसकेका छन् । यसबारे आगामी केन्द्रीय समिति बैठकमा पेचिलो तवरले बहस हुने माओवादी वृत्तमा चर्चा छ । यद्यपि बैठक भने थप अनिश्चित बन्दै गइरहेको छ ।

अहिले शर्माद्वारा प्रस्ताव गरिएका नेतृत्व चयनका तीन विकल्प मध्ये पुस्तान्तरणको एजेण्डा लागू गर्न भने विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) सफल भएको छ । शनिबार मतगणना सम्पन्न भएपछि ३२ वर्षे उमेर हदको विपक्षमा रहेकाहरुले अनेकौं हत्कण्डा गरी मतपरिणाम सार्वजनिक गर्न रोकेका थिए । 

मतपरिणाम सार्वजनिक गर्ने विषयमा विद्यार्थी संगठनमा व्याप्त किचलोेपछि पार्टीले पदाधिकारी बैठक बोलाएरै निर्वाचन समितिमार्फत नै यसको समाधान गर्ने निर्णय गरेको थियो । आइतबार बसेको माओवादी पदाधिकारी बैठकले निर्वाचन समितिलाई सम्पूर्ण अधिकार दिँदै मत परिणाम सार्वजनिक गर्ने निर्णय गरे पछि अब उमेरहद कायम हुने भएको छ ।

उमेर हदको पक्ष र विपक्षमा भएको सार्वजनिक मतपरिणाम अनुसार अत्यधिक मत बदर गराइए पनि उमेर हदको पक्षमा ९०० र यसको विपक्षमा ८७९ मत खसेको थियो ।निर्वाचन समितिका अनुसार उमेर हदको पक्षमा २१ मत बढी आएसँगै ३२ वर्षे उमेरहद कायम भएर सोही अन्तर्गत आगामी नेतृत्व चयन हुने भएको छ । त्यसका लागि माघ ५ गते उम्मेदवारको मनोनय र १२ गते निर्वाचन गर्न लागिएको छ ।

माओवादी विद्यार्थी संगठनमा नयाँ पुस्ताको आगमनका लागि यो प्रावधान कोशेढुंगा सावित हुने विद्यार्थी नेताहरु बताउँछन् । अखिल(क्रान्तिकारी)को पदाधिकारीमा रहेर लामो समयदेखि एकाधिकार कायम गर्दै नेतृत्वको हठ नछाडेकाहरुलाई भने यसले बाहिरिन बाध्य गराएको छ ।

माओवादीका अधिकांश पदाधिकारीहरु उमेर हदको विपक्षमा रहेका थिए । सोही कारण पार्टी सत्ता र राजकीय सत्ताको चरम दुरुपयोग गर्दै देशका विभिन्न स्थानहरुमा उमेर हदका विरोधी विद्यार्थी नेताहरुले आफ्नो पक्षमा मत परिणाम ल्याउन अनेकौं जालझेल गरेका थिए ।

कतिपय कलेज नै नभएका स्थानबाटसमेत प्रतिनिधि छनोट गरी मतदान प्रक्रियामा सामेल गराइएको इतर पक्षको आरोप छ ।  विपक्षमा परिणाम ल्याउन धाँधलीपूर्ण तवरले सम्पूर्ण शक्ति प्रयोग गरिए पनि मत परिणाम उमेर हदकै पक्षमा आएको छ ।यसबाट विद्यार्थी संगठनको आडमा आफ्नो कमाउ धन्दा चलाएकाहरु रुष्ट भए पनि  विशुद्ध शैक्षिक कर्ममा लागेका समग्र विद्यार्थीहरु भने उमेर हदको प्रावधान लागू भएपछि खुशी देखिएका छन् ।

गत असोजमा आयोजित अखिल(क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा आन्तरिक विवाद हुँदा नयाँ नेतृत्व चयन नगरेरै स्थगित भएको थियो । तत्कालीन पदाधिकारीहरुले अस्वाभाविक हर्कत गरेपछि राष्ट्रिय सम्मेलन स्थल नै रणमैदानमा परिणत भएको थियो । तिनै पदाधिकारीहरुले संगठनमा उमेर हद लागू गरिए आफू नेतृत्वबाटै विस्थापन हुने भयले जुनसुकै हालतमा पनि त्यसलाई भाँड्न पार्टी नेताकै सहयोगमा लागेका थिए ।

माओवादी नेताहरुले निकटका विद्यार्थी नेताहरुलाई नेतृत्वमा पुर्याउनकै लागि उमेर हद लागू नगर्न पार्टीकै पदाधिकारी तहकै नेताहरु समेत लागेको माओवादी स्रोत बताउँछ । आइतबारको पदाधिकारी बैठकमै माओवादीका केही नेताहरुले उमेरहद लागू गर्न नहुने बताउँदै वैचारिक क्षमताका आधारमा नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । 

उनीहरुले आफ्नो गुट निकटलाई संगठनको अध्यक्ष बनाउन उमेरको आधारमा नेतृत्व चयन गर्ने परिपार्टी गलत रहेको भन्दै असन्तुष्टि जनाएका थिए । चौतर्फी प्रतिकूलता र अवरोधका बीच पनि उपमहासचिव शर्माले पार्टीमा उठाएको एजेण्डाले विद्यार्थी संगठनमा स्थान पाएको छ । उनले यसलाई पार्टीमै लागू गर्ने प्रयत्नका साथ संघर्षरत छन् । तथापि यसबारे आन्तरिक छलफल समेत गर्न नदिएर प्रचण्डले केन्द्रीय समिति बैठक नै सारिरहेका छन् ।

यसअघि तय गरिएका बैठक सार्दै प्रचण्डले यही पुस २१ गते केन्द्रीय समिति बैठक बोलाए पनि अझै अनिश्चित रहेको छ । विद्यार्थी संगठनमा उमेरहदको प्रावधानले अब नयाँ र शैक्षिक गतिविधिमै संलग्नहरु मात्रै नेतृत्वमा पुग्ने अवसर उमेरहदको प्रावधानले सिर्जना गरेको छ । यद्यपि, यसकै माउ पार्टी माओवादीमा भने करिब ३६ वर्षदेखि नै पुष्पकमल दाहाल प्रचण्ड पार्टी नेतृत्वमा विराजमान छन् । 

पार्टीमा एकाधिकार कायम गर्दै प्रचण्डले आफ्ना विरोधीहरुलाई नेतृत्वमा पुग्ने अवसरबाट विमुख गराइरहेका बेला अखिल(क्रान्तिकारी)मा कायम भएको उमेर हदको प्रावधानले उनलाई नैतिक दबाब सिर्जना गरेको छ । कम्युनिष्ट पार्टीमा लामो समयदेखि एकल नेतृत्व कायम हुँदा नयाँले क्षमता प्रर्दशन गर्ने अवसरबाट बञ्चित हुने परिस्थिति विगतदेखि नै रहेको छ ।

माओवादीमा पनि लामो समयदेखि व्याप्त यो समस्याले प्रचण्डका सहकर्मीहरु अधिकांशले पार्टी छाडेका छन् । नयाँ र क्षमतावानलाई अवसर प्रदान गर्ने भन्दा पनि आफ्नो नेतृत्व टिकाइरहने प्रचण्डको प्रवृत्तिले बहुसंख्यक नेताहरु बाहिरिएका हुन् । प्रचण्डका सारथिका रुपमा रहेका युद्धकालीन सहकर्मीहरु अहिले कोही पनि नहुँदा माओवादीको विगतको साख गिर्दो अवस्थामा पुगेको छ । 

पार्टी निकट विद्यार्थी संगठनमा उपमहासचिव शर्माको एजेण्डा कार्यान्वयन हुँदा प्रचण्डको अडान भने देशभरको मतदानबाटै अस्वीकृत भएको छ । अब शर्माको एजेण्डाले पार्टीमा पनि स्थान पाउने अपेक्षा आम नेता कार्यकर्ताहरुले गरेका छन् । 

भावी नेता कार्यकर्ता उत्पादन गर्ने थलोका रुपमा परिचित माओवादी विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)बाट आफ्नो एजेण्डा कार्यान्वयन गराउन शर्मा सफल भए पनि पार्टीमा भने त्यसको अभ्यास हुन निकै संकट रहेको बताइन्छ ।

प्रचण्डले आफ्नो नेतृत्व सुरक्षित गर्न जस्तोसुकै हत्कण्डा प्रयोग गर्ने भएकाले अझै शर्माको एजेण्डाले प्राथमिकता पाउन मुस्किल रहेको माओवादी नेताहरु बताउँछन् । तैपनि पार्टीमा लोकतान्त्रिकरणको प्रयत्न थालेका शर्मा अविचलितरुपमा आफ्नो अडानमा दृढ रहेको उनी निकट स्रोत बताउँछ ।

अखिल(क्रान्तिकारी)मा तय भएको उमेरहदको प्रावधानले पार्टीमा निषेधकारी प्रवृत्ति अंगीकार गरेका प्रचण्डलाई भने राम्रै सवक सिकाएको छ । यसले निकट समयमै प्रचण्ड पनि पार्टीमा लोकतान्त्रिक विधिबाटै नयाँ नेतृत्व चयन गर्ने पक्षमा जान बाध्य हुने अपेक्षा माओवादीजनले गरेका छन् । 
 

सोमबार, १५ पुस २०८१, १३ : ३२

प्रतिक्रिया