भीम रावलको नयाँ पार्टीमा को-को अटाउलान् ?

मंगलबार, १६ पुस २०८१, १० : १५

काठमाडौं- नेकपा(एमाले)को संगठित सदस्यबाटै निष्कासित भएका नेता भीम रावलले नयाँ पार्टी गठन गर्ने तयारी थालेका छन् । यसबारेमा जानकारी दिन उनले बुधबार पत्रकार सम्मेलन गर्दैछन् । रावलले नयाँ पार्टी गठनको गृहकार्यस्वरुप पछिल्लो समय भेटवार्तालाई पनि निकै तिव्रता दिइरहेका छन् ।

रावल निकट स्रोतका अनुसार नयाँ पार्टी गठनका लागि सुदूरपश्चिमका एमाले र एकीकृत समाजवादीका नेता लगायत अन्य विभिन्न दलसम्बद्ध व्यक्तिहरुसँग पनि रावलले छलफल गरिहेका छन् । उनले सबैलाई समेट्नकै लागि गैरकम्युनिष्ट चरित्रको पार्टी गठन गर्ने बताइएको छ ।

बुधबारको पत्रकार सम्मेलन पछि रावल देश दौडाहामा निस्कने तयारीमा छन् । पूर्वको झापादेखि देश दौडाहा अभियान थालेर पश्चिमसम्म पुग्ने उनको योजना छ । 

रावलको पार्टीमा राष्ट्रियस्तरका कोको पार्टीमा अटाउलान् भन्ने अहिले सर्वत्र चासो छ । उनी निकट स्रोतका अनुसार पार्टीमा अहिले केही स्वतन्त्र व्यक्ति, नागरिक समाजका अगुवा र अन्य देशभक्त अभियान चलाइरहेका अभियान्ताहरुलाई पनि समेट्ने तयारी छ ।

सोमबार रावलले कांग्रेस सभापति शेरबहादुर देउवाकै जिल्लावासी कांग्रेसकै पूर्वनेता कर्ण मल्लसँग भेट गरेका छन् । यस्तै उनले सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सांसद डा.तारा जोशीसँग समेत पार्टी गठनकै विषयमा छलफल गरेका छन् । भेटपछि मल्लले रावलको पार्टी गठन प्रक्रियालाई साथ र सहयोग रहने बताएका थिए ।

रावलले सुदूरपश्चिमका नेताहरुलाई पार्टीमा समेट्न निकै प्राथमिकता दिएर लागेको स्रोतले जनाएको छ । अछाम गृह जिल्ला भएका रावलले आफ्नो गृह प्रदेश र विगतदेखि त्यतै कार्यक्षेत्र रहेकाले पनि उनको सुदूरपश्चिममा बलियो पकड रहेको बताइन्छ । 

रावलको नयाँ पार्टीमा एमाले र एकीकृत समाजवादीमा असन्तुष्ट रहेका नेताहरु पनि जान सक्ने सम्भावना रहेको छ । माले हुँदै एमालेको राजनीतिमा करिब पाँच दशक सक्रिय राजनीतिक जीवन व्यतित गरेका रावललाई पूर्वपार्टीकै कतिपय नेताहरुले पनि साथ दिने आँकलन गरिएको छ ।

मंगलबार, १६ पुस २०८१, १० : १५

प्रतिक्रिया