पारिवारिक तनावमा पासाङ, स्थायी समिति बैठकमै विरक्तिएर पोखे पीडा

विहीबार, १८ पुस २०८१, १४ : ४०

काठमाडौं- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ माओवादी केन्द्रको सक्रिय राजनीतिमा पुनरागमनको कसरतमा छन् । उनी औपचारिक रुपमा जिम्मेवारीमा नफर्किए पनि स्थायी समिति र पदाधिकारी बैठकमा भने सहभागी भइरहेका छन् । आगामी पुस २१ गते बस्ने केन्द्रीय समितिको बैठकले उनीबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।

बिहीबार स्थायी समिति बैठकमा सहभागी हुन आफ्नो पूर्वपार्टी माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा उनी नैराश्य अवस्थामा पुगेका थिए । बैठक सुरु हुनु अगावै उनले आफ्ना सहकर्मी समक्ष पारिवारिक विषयमा विरक्तिएर पीडा पोखेको एक स्थायी समिति सदस्यले बताए ।

ती स्थायी समिति सदस्यका अनुसार पासाङले आफ्ना सहकर्मी समक्ष परिवार र छोराहरुको कारण मुख देखाउनै नसकिने अवस्था आएको भन्दै दुखेसो पोखेका थिए ।

पासाङको भनाइ उद्धृत गर्दै ती स्थायी समिति सदस्यले भने, ‘हिजो जनयुद्धमा इमानदारिपूर्वक लागियो कुनै स्वार्थ राखिएन एउटा इमान जोगाएकै थिएँ । तर अहिले छोराबुहारीको कारणले लाजमर्दो अवस्था आयो कमरेड भन्दै दुखी बन्नुभयो ।’

पासाङका दुबै छोरा र बुहारी विभिन्न प्रकरणमा मुछिएर फरार रहेका छन्। उनका कान्छा पुत्र दिपेश सहकारी प्रकरणका फरार अभियुक्त हुन् भने उनकी श्रीमती पनि सोही प्रकरणमा फरार रहेकी छिन् । पासाङका जेठा छोरा जितेन्द्र पनि सुन तस्करी प्रकरणमै मुछिएपछि फरार छन् । चिनियाँ व्यापारीहरुले जितेन्द्रलाई सुन लिएर रकम नै नदिई फरार भएको भन्दै एक भिडियो नै सार्वजनिक भएको थियो ।

दिपेश पोखराको सूर्यदर्शन सहकारीकाे रकम अपचलनमा उनीविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ भने श्रीमती सविना आले पनि सहकारी ठगी प्रकरणमा मुछिएपछि हालसम्मै फरार रहेकी छिन् । कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि दिपेशपत्नी आले फरार भएकी हुन् ।

यिनै पारिवारिक कारणले तनावमा रहेका पासाङले आफ्ना सहकर्मीसँग स्थायी समिति बैठकमै दुखेसो पोखेका थिए । प्रचण्डले यिनै विभिन्न प्रकरणबाट छोराबुहारी जोगाइदिने आश्वासन दिएर सक्रिय राजनीतिमा फर्काउन लागे पनि उनी आफैं शेरा दरबारमा मुछिएपछि पासाङ थप पीडित भएर दुखेसो व्यक्त गर्दै हिँडेको माओवादी स्रोत बताउँछ ।स्रोतका अनुसार आफ्ना सन्तानलाई जोगाइदिने भन्दै आश्वस्त तुल्याएका प्रचण्ड आफैं नै शेरा दरबार प्रकरणमा मुछिएपछि पासाङ थप प्रताडित भएका हुन् । 

विहीबार, १८ पुस २०८१, १४ : ४०

प्रतिक्रिया