काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आजदेखि जारी केन्द्रीय समितिको बैठकमा केन्द्रदेखि प्रदेशसम्मका सबै नेताहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको छ । सम्पत्ति विवरण बुझाउन नेताहरूलाई फागुन १ गतेसम्मको समयसीमा पनि दिइएको छ।
आजदेखि काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्पः आजको आवश्यकता’ शीर्षकको प्रतिवेदनमा केन्द्रदेखि प्रदेशसम्मका नेताहरूलाई सम्पत्ति विवरण बुझाउन भनिएको छ।
‘आगामी फागुन १ भित्र माओवादीका केन्द्रदेखि प्रदेश तहसम्मका सवै नेता कार्यकर्ताले अनिवार्य सम्पत्ति विवरण र बाँच्ने आयस्रोतको विवरण पेश गर्नुपर्नेछ’, प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ।
आगामी निर्वाचनमा माओवादीले कुनै दलसंग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिन्ह र एजेण्डामा एक्लै चुनाव लड्ने पनि प्रतिवेदनमा उल्लेख छ। नेताहरूको जीवनशैली बदलिएकोप्रति आम नागरिकमा निराशा छाएको भन्दै केन्द्रीय सदस्यहरूले आम्दानी र त्यसको स्रोत पारदर्शी बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ।
प्रतिक्रिया