मीनबहादुरको जग्गा दान एमालेलाई भारी, एकपछि अर्को नेताले कारबाही खेप्दै

बुधबार, ०२ माघ २०८१, १३ : ३६

काठमाडौं- सत्तारुढ नेकपा(एमाले)मा विवादास्पद व्यापारी मीनबहादुर गुरुङबाट जग्गा दानमा लिइएको विषयमा असन्तुष्टि जनाउँदा नेताहरुले कारबाही भोग्ने क्रम जारी छ ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिने निर्णयको आलोचना गर्दा एमाले स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिना ६ महिने निलम्बन भोग्न बाध्य छन् । अर्का पूर्वउपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न गर्दा पार्टी सदस्यबाटै निष्कासित हुनुपरेको छ ।

यस्तै पछिल्लो समय पार्टी नेतृत्वमाथि प्रश्न उठाएकै कारण अर्का एक नेतामाथि पनि कारबाही गरिएको छ । कोशी प्रदेशसभाका पूर्व सदस्य रहेका एमाले उदयपुरका नेता बिमल कार्की पनि ६ महिने निलम्बन खेप्न बाध्य भएका छन् । 

सामाजिक सञ्जालमार्फत पार्टी र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदा उनलाइ निलम्बन गरिएको हो । कार्की एमाले कोशी प्रदेश कमिटीको सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य हुन् । 

कार्कीको कारबाहीबारे टिप्पणी गर्दै एमालेबाट निष्कासित नेता भीम रावलले ‘ओली गुटको निरंकुश, स्वेच्छाचारी र तानाशाही चरित्रको अर्को निन्दनीय परिणाम हो’ भनेका छन् । 

रावलले सामाजिक सञ्जालमा लेखेका छन्,‘कोशी प्रदेश सभाका पूर्व सदस्य तथा उदयपुरका नेता बिमल कार्की माथिको कार्बाई केपी गुटको निरंकुश, स्वेच्छाचारी र तानाशाही चरित्रको अर्को निन्दनीय परिणाम हो!’   

बुधबार, ०२ माघ २०८१, १३ : ३६

प्रतिक्रिया