त्रिविका आंशिक प्राध्यापकहरु कक्षा बहिष्कार गर्ने तयारीमा, कारण छ यस्तो

६ बर्ष अगाडि

काठमाडौं ।  नेपाल आंशिक प्राध्यापक संघले दैनिक ज्यालादरीमा काम गरिरहेका आंशिक प्राध्यापकहरुलाई मासिक ज्यालादरी अर्थात करारमा नलगे आन्दोलनमा जाने चेतावनी दिएको छ । 

शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन गरेर संघले न्युन ज्यादा दिएर सधैँभरी काममा लगाउने त्रिभुवन विश्वविद्यालयको कार्यशैलीले आफूहरु अन्यायमा परेको भन्दै नियमअनुसार प्राध्यापक नियुक्ति गर्न माग गरेको हो । 

६–६ महिनामा विज्ञापन गरेर क्याम्पसहरुमा प्राध्यापकहरु नियुक्ति गर्नुपर्नेमा आंशिक प्राध्यापक गराउने गरेकोप्रति संघले आपत्ति जनाएको हो । 

“वर्षौवर्षसम्म सेवा आयोगमा विज्ञापन नखोल्ने र हामी आंशिक प्राध्यापकहरुले दैनिक ज्यालादरीबाट मासिक ज्यालादरीमा मात्र लैजान माग गर्दा स्वतः स्थायी भन्ने अफवाह फैलाएर आंशिक प्राध्यापकहरुको इज्जत मान प्रतिष्ठामाथि खेलवाड गर्दै त्रिविले वौद्धिक शोषण गरिरहेको छ ।” संघको विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालयमा हुने यसप्रकारका वौद्धिक शोषण तत्काल सदाका लागि अन्त्य गरी त्रिविमा स्वच्छ शैक्षिक वातावरण कायम गर्न र आंशिक प्राध्यापक अन्त्य गर्दैै विश्व्विद्यालयमा हुने सबैखाले बेथितीको अन्त्य गर्न संघले जोडदार माग गरेको छ । 

आंशिक प्राध्यापक, त्रिवी र सरकारबिच विगतमा पटकपटक भएका सम्झौता कार्यान्व्यन गर्नसमेत संघले माग गरेको छ । 

पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. महेशकुमार गजुरेलले आफ्ना माग पूरा नभए आंशिक प्राध्यापकहरुले पठन–पाठन, परीक्षा लगायतका त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने कुनै पनि कार्यक्रममा सहयोग नगर्ने चेतावनी दिए । 

त्रिविले आंशिक प्राध्यापकहरुको माग पूरा गर्ने सम्बन्धमा तदारुकता नदेखाएमा २३ गते हुन गइरहेका सिनेट नै विथाल्ने चेतावनी गजुरेलले दिए । “त्यति गर्दा पनि मागप्रति त्रिवि गम्भीर नभए कडाभन्दा कडा आन्दोलनका साथै आमरण अनशनसम्म जान्छौँ ।” उनले भने ।

संघले भोली आइतबारदेखि नै त्रिविका सम्पूर्ण क्याम्पसहरुमा पठनपाठन तथा शैक्षिक गतिविधीमा असहयोग आन्दोलन गर्ने भएको छ । 

नेपाल आंशिक प्राध्यापक संघको मागप्रति नेपाल प्रगतिशिल प्राध्यापक संगठनले पनि ऐक्यवद्धता जनाएको छ । संगठनका उपाध्यक्ष प्रा.डा. कृष्णप्रसाद न्यौपाने नै पत्रकार सम्मेलनमा उपस्थित भएर आफूहरुको ऐक्यवद्धता व्यक्त गरेका थिए । 

त्यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक प्रा.डा. बालमुकुन्द रेग्मीले पनि मागप्रति पूर्ण समर्थन र सहयोग रहेको धारणा राखेका थिए ।

पत्रकार सम्मेलनको स्वागत मन्तव्य संघका सदस्य मोहन घिमिरे र सम्बोधन सहअध्यक्ष नरेन्द्रप्रसाद भण्डारीले गरेका थिए । 

कार्यक्रमको संचालन संघका महासचिव केशव चन्दले गरेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया