काठमाडौं - दैनिक १८ घण्टासम्मको लोड सेडिङ अन्त्य गर्न आफूलाई उपभोक्ताले ठुलो सहयोग गरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
२०७३ सालको तिहारदेखि काठमाडौंलाई लोडसेडिङ मुक्त गरेसँगै २ वर्षभित्रै देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा आफूलाई उपभोक्ताले ठुलो साथ दिएको उनले जिकिर गरे । शनिवार नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरा गरी बिदा भएका विद्यार्थीहरूलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले विद्युत् प्रयोग गर्ने बानी व्यवहार परिवर्तन गरेकाले आफु लोडसेडिङ हटाउन सफल भएको बताए ।
‘उपभोक्ताको मागलाई कसरी म्यानेज गर्ने, उपभोगको शैली कसरी सुधार गर्ने कसैले सोचेकै थिएन । मैले एक नम्बरमा उपभोक्ताको व्यवहार र उपभोगको शैलीलाई परिवर्तन गरे । उपभोक्ताले पनि साथ दिए, त्यसपछि म सफल भए ।’ लोडसेडिङ एकै पटक अन्त्य गर्न नसकिने अवस्थामा आफूले काठमाडौंबाट सुरुवात गर्दा देशभरका जनताले साथ दिएको उहाँको जिकिर छ । कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रकं लाइनको बक्यौदाको विषय जनतालाई दैनिक १८ घण्टासम्म अन्धकारमा राखेर उद्योगहरूलाई दिइएको विद्युत् भएको बताउँदै उक्त विद्युत् उपभोगको रकम तिर्नै पर्ने बताए ।
‘जनतालाई लोड सेडिङमा पारेर तत्कालीन म्यानेजमेन्टसँग पनि मिलेर उद्योगीले २० घण्टा २४ घण्टासम्म विद्युत् उपभोग गरेको पैसा नतिरेको आज मात्र हैन त्यो बेलादेखि नै लिन खोजेको हो । बिचमा उहाँहरुले धेरै अदालत र मुद्दा गर्नुभयो । त्यो लिनुपर्छ ।’ उनले भने।लोडसेडिङको समय एउटै उद्योगलाई ४० मेगावाट सम्म सप्लाई हुने गरेको जिकिर गर्दै कार्यकारी निर्देशक घिसिङले ४० मेगावाट विद्युतले ४० वटा पहाडी जिल्लालाई पुग्ने दाबी गरे ।
‘४० मेगावाट एउटै उद्योगमा सप्लाई हुन्थ्यो । ४० मेगावाटले १० वटा जिल्लालाई पुग्छ । बेलुकाको टाइममा एउटै उद्योगले ४० मेगावाट चलायो भने १० वटा जिल्ला अन्धकार हुन्छ ।’ पहाडी जिल्लामा ४ मेगावाट पनि खपत नहुने घिसिङ बताएछन् । सप्लाई साइटको म्यानेजमेन्ट र डिमाण्ड साइटको म्यानेजमेन्टमा काम गर्दा लोडसेडिङ अन्त्य गर्न सफल भएको उनको दाबी छ ।
२०७३ सालमा ५० प्रतिशत जनतामा विद्युत् पुगेकोमा आजको दिन ९९ प्रतिशत जनताको घरमा विद्युत् पुगेको उनको दाबी छ । ‘लोडसेडिङको अन्त्य सहरी क्षेत्रको मात्र गरिराख्यौँ, तर, काठमाडौं वरीपरीमै विद्युत् पुगेको थिएन । जहाँ २४ सै घण्टा लोडसेडिङ थियो त्यहाँ विद्युत् पुर्याउने हाम्रो काम नै महान् काम हो । अहिले ९९ प्रतिशत जनताले विद्युत् पाई रहेका छन् ।’ १ प्रतिशत जनताको घरमा आफ्नै कार्यकालमा पुर्याउने भन्दै उनले भने, ‘अब ६, ७ महिना छ यही कार्यकालमा १ प्रतिशत जनताका घरमा विद्युत् पुर्याउँछु ।’
लोडसेडिङ अन्त्यसँगै अरबौं घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानु आफ्नो सबैभन्दा ठुलो उपलब्धि रहेको कार्यकारी निर्देशक घिसिङको जिकिर छ । ‘२०६९ सम्म २७ अर्ब जति घाटा थियो त्यसलाई सरकारले जिरो बनायो । त्यसपछि ५ वर्षमा ०७२ सालसम्म ३५ अर्ब घाटा पुगेछ । म आउनुअघि एक वर्ष करिब ९ अर्ब जति घाटा थियो । म आएपछि ०७३÷०७४ मा एकै वर्ष त्यसलाई नाफामा कन्भर्ट गर्यौँ । करिब डेढ अर्ब नाफाबाट सुरु भयो, त्यसपछि लगालग नाफामा गयौँ । अहिले करिब ८५ अरब जति ब्यालेन्स बनाउन सफल भएका छौँ ।’ प्राधिकरणमा नाफामा पुर्याउन चुहावट नियन्त्रणको पनि महत्त्वपूर्ण भूमिका रहेको घिसिङको भनाई छ ।
इन्जिनियरिङका विद्यार्थीलाई संबोधन गर्दै कार्यकारी निर्देशक घिसिङले इन्जिनियरका विद्यार्थीहरूका लागि विद्युत् प्राधिकरण पाठशाला रहेको बताए । ‘तपाईँहरू अहिले जति पास आउट गर्नुभएको छ त्यो सबै बेसिक छ । अब प्रोफेसनल लाइफमा धेरै सिक्नुहुन्छ त्यो चैं ठुलो पाठशाला हो । विद्युत् प्राधिकरण सबै प्रकारका इन्जिनियरहरुको लागि ठुलो पाठशाला हो ।’ आफूले प्राधिकरणमा ३१ वर्ष सेवा गर्दा ठुलो अनुभव हासिल गरेको उनको भनाई छ ।उनले इन्जिनियरहरुका लागि सरकारी र प्राइभेटमा दुवै क्षेत्रमा धेरै अवसर र सम्भावनाहरू रहेको जनाए।
साथै, इन्जिनियरहरूले नेतृत्व पनि गर्न सक्ने दाबी गरे । ‘इन्जिनियर भनेको टेक्नोक्रयाट मात्र हैन, इन्जिनियर भनेको समाज बुझ्ने, वातावरण बुझ्ने हुनुपर्छ । जब प्रोफेसनल लाइफमा जानु हुन्छ तपाई ठुलो म्यानेजर हो ।’ इन्जिनियरिङमा प्राविधिक क्षेत्रमा परामर्श दिएर अगाडी बढ्ने प्राविधिक फिल्डमा पनि व्यावसायिक नेतृत्व गर्न सकिने घिसिङको भनाई छ ।
कार्यकारी प्रमुख घिसिङले लिडरसिपमा आएका इन्जिनियरहरू सफल भएको जिकिर गरे। ‘इन्जिनियरहरूले जहाँ जहाँ नेतृत्व गरेका छन् त्यो राष्ट्र धेरै छोटो समयमा विकास भएको पनि देखिन्छ ।’ एक समय चीनको नौ वटा स्ट्याण्डिङ कमिटीमा इन्जिनियरहरू रहेको उदाहरण दिँदै उनले भने । वर्तमान चीनको राष्ट्रपति समेत केमिकल इन्जिनियर भएको भन्दै उहाँले इन्जिनियरहरूले प्राविधिक, सामाजिक, वातावरणीय र राजनीतिक नेतृत्व दिन सक्ने दाबी गरे।
कार्यकारी प्रमुख घिसिङले विद्यार्थीहरूलाई पढ्नका लागि विदेश गएपनि देशका लागि सोच्नुपर्ने उल्लेख गरे । ‘देशका लागि के गर्न सकिन्छ भनेर अगाडी बढ्नु पर्छ । विदेश जानै हुन्न भन्ने लाग्दैन । जानुपर्छ, अनुभव गर्नुपर्छ तर, तपाईले गर्नुभएको अनुभव राष्ट्रको लागि हुनुपर्छ ।’ नेपालमा इन्जिनियरहरुका लागि धेरै अवसर रहेको भन्दै घिसिङले भने। धेरै चुनौतिहरु भएको स्थानमा अवसर पनि हुने उनको अनुभव छ ।
बिदाइ कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी लगायतले स्नातक तहमा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारिक जीवनमा इमानदारिता र लगानशीलताका साथ प्रयोग गर्न सुझाव दिएका थिए ।
प्रतिक्रिया