काठमाडौं - असोज महिनामा आएको बाढी र पहिरोले क्षति पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अब पूर्ण क्षमतामा उत्पादन गर्न थालेको छ।
नेपाल विद्युत् प्राधिकरणले सोमबार साँझदेखि (आजदेखि) आयोजनालाई पिक आवरमा चलाउने निर्णय गरेको छ। यससँगै, नेपालका विद्युत् आपूर्तिमा सुधारको आशा गरिएको छ। यो आयोजना पुस ९ गतेदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो, र आइतबार र सोमबार आयोजना बन्द गरेर पूर्ण सञ्चालनका लागि तयारी गरिएको थियो।
अब माथिल्लो तामाकोशी आयोजना ४५६ मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्दै छ । प्राधिकरणका अनुसार हाल करिब १५ सय मेगावाट हाराहारी विद्युत् मात्रै नेपालमा उत्पादन भइरहेको छ । तर पिक आवरमा माग भने २१ सय मेगावाटभन्दा बढी छ ।
यही बेला भारतबाट विद्युत् आपूर्ति हुँदैन । अरू समयमा भने ५०० मेगावाट हाराहारी विद्युत् दैनिक रूपमा भारतबाट आइरहेको छ । तर पिक आवरमा भारतबाट पनि बिजुली आयात नहुने र आन्तरिक उत्पादनले पनि नधान्ने हुँदा औद्योगिक क्षेत्रमा लोडसेडिङ यथावत् छ ।
प्रतिक्रिया