आज अखिल(क्रान्तिकारी)को निर्वाचन, को-को भिड्दैछन् ?

शनिबार, १२ माघ २०८१, ०९ : २३

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज निर्वाचन हुँदैछ । निर्वाचनमार्फत नेतृत्व चयन गर्नका लागि देशभरिका साढे २४ सय प्रतिनिधिले मतदान गर्दैछन् ।

उपत्यका विशेष प्रदेश र बागमती प्रदेशको मतदान काठमाडौंमा हुँदैछ । शनिबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ । उपत्यका विशेष प्रदेशको विश्वभाषा क्याम्पस र बागमती प्रदेशको वाल्मीकि क्याम्पसमा हुनेछ । अरू प्रदेशको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ ।

अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका लागि मनोननयन दर्ता गरेका ६ जनामध्ये २ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । अब उपदेश यादव, सुदिन पौडेल, विजयप्रकाश सापकोटा र हेमन्त राईबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुनेछ ।

यसअघि योगेन्द्र बुढा र विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका थिए । महासचिवमा उम्मेदवारी दिएका १० जनामध्ये २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अब महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुयाँल छन् ।

अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ जना सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय सहित कुल ३१२ जना निर्वाचनबाट चयन हुनेछन् ।

शनिबार, १२ माघ २०८१, ०९ : २३

प्रतिक्रिया