काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को निर्वाचनमा पार्टी हेडक्वाटरले देशभरका मतदातालाई फोन गरेर प्रभावित पार्ने प्रयत्न गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्ल एवं सचिवालयमा रहेकी उनकै छोरी गंगा र अर्की भरतपुर महानगरकी मेयर रहेकी छोरी रेणुले देशभर मतदाताका रुपमा रहेका विद्यार्थी नेताहरुलाई फोन गरेर आफू पक्षीय उम्मेदवारलाई मत मागेका हुन् ।
अध्यक्ष प्रचण्डकै आफू निकट उम्मेदवार नभए पनि उनको सचिवालले पार्टी उपमहासचिव शक्ति बस्नेत पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएका विजयप्रकाश सापकोटाको पक्षमा फोन गरेर मत मागेको स्रोतले जनाएको छ ।
माओवादी स्रोतका अनुसार शनिबार (आज) हुन लागेको निर्वाचनमा शुक्रबार बेलुकादेखि नै देशभर रहेका २४०० मतदातामध्ये प्रत्येक जिल्ला तहका प्रमुख विद्यार्थी नेताहरुलाई फोन गरेर अनकौं आश्वासन दिँदै सापकोटाको पक्षमा मत मागेका हुन् ।
प्रचण्ड पुत्री रेणु र गंगासहित स्वकिय सचिव मल्लले देशभर रहेका मतदाता मध्येका अगुवा विद्यार्थी नेताहरुलाई अनकौं प्रलोभन दिँदै सापकोटाको पक्षमा मत दिन धम्कीपूर्ण अभिव्यक्ति समेत दिएको स्रोतको दाबी छ ।
यसअघि सहमतिका नाममा टीका लगाएर नेता बनाउने प्रवृत्तिको अन्त्य गर्दै निर्वाचनबाट नेतृत्व चयन हुने भएपछि विद्यार्थीहरूमा उत्साह छाएको छ । यो अभ्यास पार्टीमा पनि हुने र त्यसले माओवादी हेडक्वाटरको शक्ति कमजोर हुने आँकलन गरेर खुमलटारले जसरी पनि आफ्नो पक्षलाई जिताउन कुनै कसर बाँकी राखेको छैन ।
अखिल(क्रान्तिकारी)को नयाँ नेतृत्व छान्न शनिबार बिहानदेखि सुरु भएको निर्वाचनमा सापकोटा सहित हेमन्त राई, सुदिन पौडेल र उपदेश यादव अध्यक्षका उम्मेदवार रहेका छन् ।
स्रोतका अनुसार विद्यार्थी निर्वाचनमा हेडक्वाटरले सापकोटालाई जिताउन गंगा, रेणु, रमेश मल्ल र शक्ति बस्नेतलाई विशेष रुपले परिचालन गरिरहेको छ । यस सम्बन्धमा बुझ्ने प्रयास गर्दा गंगा दाहालसँग सम्पर्क हुन सकेन ।
प्रतिक्रिया