काठमाडाैं- पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि (आइटी) महोत्सव मधेस प्रदेशको सांस्कृतिक र पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण माध्यम बनेको छ। माघ १० गतेदेखि सुरु भएको महोत्सवमा ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानले विशेष आकर्षण पाएको छ।
मधेसको समृद्ध सांस्कृतिक र पर्यटन प्रवर्द्धन महोत्सवमा मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयद्वारा सञ्चालन गरिएको ‘घुमौँ मधेस, बुझौँ मधेस’ कक्ष पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ। दैनिक पाँच सयभन्दा बढी आगन्तुकहरूले यस कक्षमा मधेसको धार्मिक, ऐतिहासिक एवं प्राकृतिक सम्पदाबारे जानकारी लिइरहेका छन्। अभियानका संयोजक विकासकुमार ठाकुरका अनुसार यो कक्ष मधेस बुझ्न चाहने पर्यटकहरूका लागि ज्ञानको भण्डार सावित भइरहेको छ।
संयोजक ठाकुर तथा चन्द्रपुर उद्योग वाणिज्य संघका अध्यक्ष उदय सापकोटा लगायतका व्यक्तित्वहरूले मधेस प्रदेशको पर्यटन, जीवनशैली, संस्कृति र न्यानो आतिथ्यता सम्बन्धी विस्तृत जानकारी दिँदै आएका छन्। उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मधेसका प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्य समेटिएको सचित्र पुस्तिका हस्तान्तरण गरिएको थियो।
मधेसका धार्मिक धरोहर र पर्यटकीय गन्तव्यहरू महोत्सवका सहभागीसँग बाँडिएको पुस्तिकामा मधेस प्रदेशका प्रमुख धार्मिक एवं प्राकृतिक सम्पदाहरू उल्लेख छन्। जनकपुरधामस्थित जानकी मन्दिर, कोशी टप्पु वन्यजन्तु आरक्ष, सहलेश फूलबारी, गढीमाई मन्दिर, पर्सा राष्ट्रिय निकुञ्ज, धनुषाधाम, सिम्रौनगढ जस्ता स्थानहरूको उल्लेख गरिएको छ। साथै, छिन्नमस्ता भगवती मन्दिर, ठोरी, भिश्वाडाँडा, मटिहानी, कमलदह, चुरे शिवालिक पर्वत, राजदेवी मन्दिर जस्ता स्थानहरूबारे विस्तृत जानकारी दिइएको छ।
यसैगरी, नाढीमन ताल, जलेश्वर महादेव, टुटेश्वरनाथ धाम, कारिक स्थान पडौल, सिद्धबाबा हाइकिङ मार्ग, जनकपुर रेलमार्ग, बरहवाताल, हात्तीदह सिमसार जस्ता स्थलहरूको जानकारी पनि पुस्तिकामा समावेश गरिएको छ। यी जानकारीहरूले मधेस घुम्न चाहने पर्यटकहरूलाई थप जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ।
मधेसको मौलिक स्वादको पनि लोभ मधेस बुझ्ने कक्षका साथै मधेसको मौलिक स्वाद चाख्ने अवसर पनि महोत्सवमा उपलब्ध छ। रौतहटको कटहरिया बजारबाट ल्याइएको कटिया परिकारले आगन्तुकहरूको मन जितेको छ। माटोको घैँटोमा पकाइने खसीको मासु, प्याज, अदुवा, लसुन, जिरा, खुर्सानी, मरिच, बेसार र कोइलाको रापमा तयार पारिने यो परिकार मधेसको विशिष्ट पहिचान बनिरहेको छ। साथै, सप्तरीको बरमझियाबाट ल्याइएको प्रसिद्ध पेडाको स्वाद पनि आगन्तुकहरूका लागि विशेष आकर्षण बनेको छ।
महोत्सवले प्रदेशहरूलाई जोड्ने सेतुको भूमिका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार महोत्सवलाई विविधता बुझ्ने र अनुभव गर्ने थलोका रूपमा विकास गर्न खोजिएको छ। महोत्सवस्थलमा मधेस प्रदेशका दुई कक्षसहित सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, बागमती प्रदेशका कक्षहरू पनि राखिएका छन्। यी कक्षहरूमा ती प्रदेशका मौलिक उत्पादनहरू बिक्रीका लागि उपलब्ध गराइएका छन्।
माघ १९ गते समापन हुने महोत्सवले व्यापार, प्रविधि, संस्कृति र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिने विश्वास गरिएको छ। विशेष गरी मधेस प्रदेशको सांस्कृतिक सम्पदा, पर्यटकीय गन्तव्यहरू र स्वादिष्ट परिकारहरूले पर्यटकहरूलाई लोभ्याइरहेको छ। पोखरामा बसेर मधेसलाई अनुभूति गर्ने यो अवसर पर्यटकहरूका लागि अविस्मरणीय बन्दै गएको छ।
प्रतिक्रिया