काठमाडौं - आज माघ १६ अर्थात् सहिद दिवस । सधैँझैँ यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्रका लागि प्राण आहुती दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद दिवस मनाइँदैछ । सहिद को हुन् भन्ने बारेमा विभिन्न कोणबाट परिभाषित गर्न सकिएला । तर सार रुपमा अन्धकारका विरुद्ध उज्यालो प्रकाश छर्नको लागि हाँसी हाँसी ज्यानको आहुती दिनेहरु नै सहिद हुन् । अर्काको खुशीको लागि आफूलाई मातृभूमिको बलिवेदीमा चढाउन तयार हुने सहिद आफैमा गौरव र सम्मानका प्रतिक हुन ।
सहिद कुनै दल विशेषका पेवा होइनन् । जीवित अवस्थामा कुनै दलसमा आवद्ध भए पनि सहादतपछि उनीहरु सबैका पूज्य हुन्छन् । तर नेपालमा सहिदलाई पनि राजनीतिकरण गर्ने गलत परम्परा बसेको छ । त्यसैले पनि सहिदको सपना साकार हुन नसकेको हो ।
सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द तथा गंगालाल श्रेष्ठलाई निरंकुश राणा शासनविरुद्ध क्रान्ति गरेकामा मृत्युदण्ड दिइएको थियो । तीनै वीर सहिदहरुको सम्मानमा सहिद दिवस मनाउन थालिएको हो ।
वि.सं. १९९० साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, १४ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा तत्कालीन राणशासनले मृत्युदण्ड दिएको थियो ।
त्यसैको सम्मानमा नेपालमा प्रत्येक वर्ष माघ १० देखि १६ सम्म सहिद सप्ताह मनाउने गरिएको छ ।
माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइँदै आएकामा आज सहिद सप्ताहको अन्तिम दिन पनि हो । नेपालमा प्रत्येक वर्ष सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।
सहिद दिवस मनाउनुको अर्थ सहिदले देखेको सपना पुरा गर्न प्रतिवद्धता जनाउने दिन पनि हो । निरंकुशता र तानाशाही शासनका विरुद्ध लोकतन्त्र, मानवता र समानता सहितको नागरिक अधिकारको लागि सहिदले मृत्युवरण गरेका हुन । बाँचेकाहरुले सहिदले देखेको सपना साकार पार्न इमान्दारी पूर्वक लाग्ने कसम खानु पर्दछ । एक दिन मात्र सहिदको तस्बीरमा माल्र्यापण गरेर सहिदको सम्मान हुँदैन । देश बनाउनको लागि तानाशाही शासनलाई चुनौति दिने सहिदहरुको गाथा जति गाए पनि सकिदैन । आज प्राप्त भएको स्वतन्त्रता, गणतन्त्र र नागरिक हकहरु सहिदकै बलिदानीबाट प्राप्त भएका हुन भन्ने कुरा आत्मसात गर्दै राजनीतिक नेतृत्वले काम गर्ने हो भने यथार्थमा सहिद दिवस मनाएको सार्थक हुनेछ । सहिदको सपना पुरा भएपछि मात्र मुलुक र मुलुकवासीको पनि समृद्धी सम्भव छ ।
प्रतिक्रिया