दैलेखको ग्याँसले फेर्नसक्छ मुलुकको भविष्य

आइतबार, ०८ असार २०८२, १२ : ४९

काठमाडौ - दैलेखमा परापूर्वकालदेखि नै आगो बल्ने स्थानहरु थिए । तिनलाई मानिसहरुले विभिन्न नाममा पूजा गर्ने गर्दथे । दैलेखको ज्वाला त्यस्तै प्रख्यात स्थानमध्ये एक हो । अहिले दैलेखको जलजले क्षेत्रमा ठूलो परिमाणको प्राकृतिक ग्यास फेला परेको समाचारले सिंगो मुलुकलाई नै खुशी तुल्याएको छ।

चीनको सरकारी टोलीले प्रस्तुत गरेको प्रारम्भिक अध्ययनले झण्डै ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको संकेत दिएको छ। यो परिमाण नेपालका लागि करिब ५० वर्षसम्म पर्याप्त हुने बताइएको छ, जसले मुलुकको ऊर्जा भविष्यमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

२०८० सालदेखि चीनको चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले संयुक्त रूपमा दैलेखमा ड्रिलिङ सुरु गरेका थिए। ४,००० मिटर गहिराइसम्म खनेर परीक्षण गरिँदा ग्यासको गन्ध भेटिएको थियो। त्यसपछि संकलित चट्टान नमूना परीक्षणका लागि चीन पठाइएको थियो, जहाँबाट हालै मिथेन ग्यासको प्रारम्भिक पुष्टि आएको हो।

मिथेन ग्यासलाई वातावरणमैत्री इन्धनका रूपमा लिइन्छ, जसको प्रयोगबाट गाडी सञ्चालन, विद्युत् उत्पादन, र घरायसी आवश्यकताहरू पूरा गर्न सकिन्छ। साथै, मिथेनबाट हाइड्रोजन छुट्याएर अमोनिया उत्पादन गर्न सकिन्छ, जुन मल उद्योगमा उपयोगी हुन्छ।

भारतले २०७२ सालमा लगाएको नाकाबन्दीपछि नेपालले वैकल्पिक इन्धन स्रोतको खोजी सुरु गरेको थियो। त्यसैबेला चीनसँग सहकार्य गरेर सम्भावित ग्यास भण्डारहरूको अध्ययन थालिएको हो। झन्डै एक दशकको प्रतीक्षा पछि दैलेखमा उत्पादनको ढोका खुल्दै गएको छ।

हरेक वर्ष खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ लगायतका उर्जाजन्य वस्तु आयातमा अर्बौं रुपैयाँ विदेशिने गरेको छ । यस्तो अवस्थामा नेपालमै मिथेन जस्तो उर्जाको स्रोत फेला पर्नु आशाको सङ्केत हो । चीन सरकारको सहयोगमा भइरहेको पेट्रोलियम सर्वेक्षण अन्तर्गतको परियोजनाबाट मिथेन ग्यास रहेको पत्ता लागेको हो ।

आज कतिपय देशहरु पाइपलाइनमार्फत घरघरमा पुर्‍याउन तथा ग्यासबाट चल्ने गाडीमा र उद्योग कलकारखानामा प्रयोग गर्न सकिने भएकाले  उर्जामा आत्मनिर्भरसँगै आर्थिक रूपमा पनि सबल बन्दै गएका छन् । नेपालले पनि यस्तै खालको प्रविधि अपनाउन सकेमा, दैलेखको मिथेन ग्यास आर्थिक रूपान्तरणको आधार बन्न सक्छ । प्रारम्भिक प्रतिवेदनले सकारात्मक सङ्केत देखाए पनि यो अझै वैज्ञानिक परीक्षण र गुणस्तर मापनको प्रक्रियामा छ । अन्तिम प्रतिवेदनले मात्र ग्यासको मात्रा, गुणस्तर, प्रयोगको तरिका र उत्खननको लागतबारे स्पष्ट जानकारी दिनेछ ।

जमिन भित्रबाट उत्खनन गरिने भएकाले माटो, पानी र आसपासको वातावरणमा प्रभाव पर्न सक्छ । तर अहिलेको प्रविधिले यस्तो असरलाई कम गर्न सकिने बताइन्छ । विकसित देशहरूले प्रविधिको बढीभन्दा बढी उपयोग गरेर प्राकृतिक स्रोतहरूको सदुपयोग गरी आर्थिक समृद्धि हासिल गरेका छन् । नेपालले पनि त्यस्तै सोच, योजना र व्यवस्थापनसहित अघि बढेमा यस्ता प्राकृतिक स्रोतहरूले आर्थिक समृद्धिको ढोका खोल्न सक्छन् ।

दैलेखमा फेला परेको मिथेन ग्यास नेपालको उर्जा क्षेत्रको लागि एक ऐतिहासिक उपलब्धि बन्ने सम्भावना बोकेको छ । यदि यसलाई वैज्ञानिक ढङ्गले पुष्टि गरी व्यावसायिक उत्पादनमा रूपान्तरण गर्न सकियो भने यो केवल दैलेख मात्र होइन, सम्पूर्ण देशको आर्थिक समृद्धिको मेरुदण्ड बन्न सक्छ । ग्यास उत्खनन र प्रयोगमा दीर्घकालीन योजना, वातावरणीय सन्तुलन, प्रविधि हस्तान्तरण र सही लगानीको आवश्यकता हुन्छ । सरकार, निजी क्षेत्र, र आम नागरिकको साझा पहलले यसलाई आर्थिक विकासको आधार बनाउन सम्भव छ ।

सरकारले अब निकै बुद्धिमतापूर्ण तरिकाले यसको व्यवसायिक उत्पादन सुरु गर्नुपर्दछ । बहुराष्ट्रिय कम्पनिहरुको आँखा लागेर यसलाई तुहाउने षडयन्त्र पनि नहोला भन्न सकिन्न । विगतमा यस्ता केही घटना भएका पनि थिए । दैलेखमा पत्ता लागेको उक्त मिथेन ग्याँसको व्यवसायिक उत्पादन सफल भयो भने मुलुकको विकासमा यो भन्दा ठूलो उपलब्धी अरु हुन सक्तैन । त्यसैले यो सरकारको केन्द्रीय महत्वको काम हुनुपर्दछ । 
 

आइतबार, ०८ असार २०८२, १२ : ४९

प्रतिक्रिया