इजरायल- इरान युद्धबारे राष्ट्रसंघ के सोच्दैछ ?

मंगलबार, १० असार २०८२, १३ : १६

 काठमाडौँ -अमेरिकी राष्ट्रपति डाृनाल्ड ट्रम्पले दुई देशबीच युद्धविराम भएको घोषणा गरे पनि आक्रमण रोकिएको छैन । यतिबेला संयुक्त राष्ट्रसघ र रेडक्रस जस्ता संस्थाहरुको भूमिकाबारे चर्चा हुन थालेको छ । विश्व शान्तिको लागि स्थापना भएको संस्था उक्त मुलुकहरुको युद्धबारे अनभिज्ञ जस्तै देखिएको छ । 

राष्ट्रसंघले आफ्नो घोषित उद्देश्य अनुसारको काम नगरेकोमा आलोचना हुँदै आएको छ । अमेरिकी प्रभावबाट राष्ट्रसंघ मुक्त हुन नसकेको देखिन्छ । त्यस्तै रेडक्रसको अन्तराष्ट्रिय समिति (आइसिआरसी) ले पनि युद्ध रोक्नेतर्फ कुनै पहल लिएको देखिएन । कुनै नेताको स्वार्थको लागि निर्दोश मानिसहरु मारिनुपर्ने अवस्थाको अन्त्य गर्न यस्ता संस्थाहरुले मुख्य भूमिका खेल्नुपर्ने हो । यदि यस्तो संवेदनशील र भयावह अवस्थामा पनि मुकदर्शक मात्रै बन्ने हो भने यी संस्थाहरुको औचित्यमै प्रश्न उठ्नु स्वभाविक हुन्छ । 
दुई देशबीच युद्धको कारण राजनीतिक स्वार्थ नै दखिएको छ । अमेरिकी सहयोगमा इजरायलले इरानमा तख्तापलटलाई आफ्नो अभीष्ट भनेको छ । निश्चय पनि इरानमा धर्मगुरुको तजबिजमा चल्ने अधिनायकवादी सत्ता छ । खासगरी इस्लामिक क्रान्तिसँगै सत्तामा आएका आयतोल्लाह खोमेनीले यस्तो धार्मिक तानाशाही सत्ता चलाएका छन् जसमा लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार, धार्मिक स्वतन्त्रता र राजनीतिक बहसका लागि किञ्चित् पनि ठाउँ छैन । अझ महिलाका सारा आकांक्षा र अधिकारलाई संकुचित गरिएको छ । अधिकार खोज्ने महिलालाई कसरी दण्डित गरिन्छ भन्ने त हिजाब लगाउन अस्वीकार गरेको आरोपमा अमिनीमाथि गरिएको अत्याचार र हत्याको उदाहरणले नै प्रस्ट पार्छ । इरानी जनता निसासिएका छन् भन्ने बेला–बेलामा प्रकट भएका घटनाक्रमले नै पुष्टि गरेको छ । कुनै पनि दमनकारी सत्ताको पतन जनताकै जागरणबाट सम्भव हुने हो । तर, इरानी जनताको वैधानिक र सार्वभौम अधिकारभन्दा अघि बढेर अर्को कुनै देशले सैन्य हस्तक्षेपबाट सत्तापलट गर्ने अभ्यास विगतमा पनि अस्वीकार्य थियो, इरानमा त्यही दिन दोहोर्‍याउने इजरायलको योजना पनि अन्तर्राष्ट्रिय स्थापित मान्यताविपरीत छ । त्यस्तो प्रयास सफल हुन्छ कि हुँदैन, दोस्रो प्रश्न हो । तर, त्यस्ता अभ्यासले तत्कालका लागि सफलता दिए पनि दीर्घकालका लागि घातक भएका छन् भन्ने उदाहरण फेरि इराक र अफगानिस्तान हुन् । यस्तो अवस्थामा राष्ट्रसंघले बोल्नुपर्ने हो । तर उसको भूमिका अमेरिकी स्वार्थभन्दा बाहिर जान सकेको छैन ।

युद्ध कति भयानक र बिनासकारी हुन्छ भन्ने शक्तिशाली देश अमेरिकालाई जानकारी नहुने कुरा भएन । उसले जहाँ युद्ध भड्काउँछ त्यहाँबाट निस्कन कति जटिल भएको थियो भन्ने अमेरिकाले राम्रै अनुभव गरेको हुनुपर्छ । अफगानिस्तानबाट सोभियत संघको र भियतनामबाट अमेरिकाको फिर्ती जटिल बनेको विषय इतिहासको कठोर सत्य हो । अझ एक सातामै समेटिने विश्लेषण गरिएको युक्रेनले तीन वर्षभन्दा बढी समयदेखि रुसलाई थकाइरहेको छ । त्यस्तै, २००१ मा अफगानिस्तान र २००३ मा इराक पसेको अमेरिकाले त्यहाँ के उपलब्धि प्राप्त गर्‍यो भन्ने प्रश्नको सन्तोषजनक उत्तर छैन । इराकले आम विनाशका हतियार बनाइरहेको दाबी गर्दै अमेरिकी नेतृत्वमा आक्रमण भयो । इराक कब्जा भयो । हुसेन पक्राउ परे र उनलाई फाँसी दिइयो । तर, अमेरिकाले दाबी गरेजस्तो आम विनाशका हतियार इराकमा भेटिएनन्, बरु २२ वर्षपछि पनि इराक अस्तव्यस्त छ । त्यस्तै अफगानिस्तान पसेको २० वर्षपछि फेरि तालिवानलाई सत्ता सुम्पिएर अमेरिका बाहिरिएको हो । यी सबैजसो युद्धमा अमेरिकाको ठूलो सैन्य र आर्थिक क्षति भएको छ ।
त्यसैले इरानमाथिको आक्रमण पनि अमेरिकाको लागि निकै महंगो हुनेछ । तसर्थ, आफूलाई विश्वकै शक्तिशाली र अभिभावक ठान्ने अमेरिकाले जारी युद्ध रोक्नु नै वुद्धिमानी हुनेछ । विश्व शान्तिकै लागि पनि ठूलो योगदान हुनेछ । 


 

मंगलबार, १० असार २०८२, १३ : १६

प्रतिक्रिया