काठमाडौं - प्रधानमन्त्रीले संसद्मा गरेको पहिलो सम्बोधनको पराकम्प अझैं सेलाएको छैन । उनले सीमा सम्बन्धी गरेको टिप्पणी स्वतन्त्र मुलुकको प्रधानमन्त्रीको जस्तो रहेन । आइतबार उनले संसद्को रोस्ट्रममा उभिएर देशबासीलाई एउटा जानकारी दिए । उनले संसद्मा रेकर्ड रहने गरी भने– ‘तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ, अनि यो कुराचाहिँ अस्ति भर्खरै थाहा पाएँ ।’
प्रधानमन्त्री शाहको यो भनाईले नेपाली मात्रलाई लज्जित बनाएको छ । देशको यति संवेदनशील विषय प्रधानमन्त्री बनेपछि मात्र थाहा पाउने हो भने अरु पाँच वर्ष मुलुकको शासन प्रशासन कसरी चल्ने होला ? वास्तविक भए पनि कतिपय विषयहरु राष्ट्रिय हीतको लागि बाहिर नल्याउने खालका हुन्छन् । यो विषय त झन वास्तविकताबाट धेरै टाढा रहेको छ । एउटा छिमेकी देश जसले नेपालको भूभाग उपभोग गरिरहेको छ र यता यो देश जसको प्रधानमन्त्री उनी छन् त्यस्तो बेला यो देशको इतिहासमै कतै कसैले पनि नेपालले भारतको सीमा मिचेको भनेर कुनै पनि प्रधानमन्त्रीले मात्र होइन दुईदेशका संयुक्त सीमा अध्येताहरूले पनि अहिलेसम्म कहिल्यै नदेखेका नभेटेका र बोल्दै पनि नबोलेका कुरा थियो यो । प्रधानमन्त्री शाहको यस्तो गलत प्रकारको जानकारीले अबका दिन कम्तीमा छिमेकी देश भारतसंग उसले उपभोग गरिरहेको नेपाली भूभाग फिर्ता ल्याउन करि–करिब बाटो बन्द भएजस्तो विज्ञहरूको बुझाइ छ ।
प्रधानमन्त्रधी शाहका गतिधिधीहरु हेर्दा उनी मिडियामा तरङ्ग ल्याउन यस खालका अभिव्यक्तिहरु दिने गर्दछन् । उनलाई यो एक प्रकारको क्रमभंग हो भन्ने लागेको होला । जसलाई उनको दल र उनका सांसदले पुरानाहरूको परम्परा तोडिएको भनेर निरन्तर ताली बजाउँदै समर्थन गरिरहे । आफ्नै नीति तथा कार्यक्रममा आफैँले संसद् बहिष्कार गर्ने, राष्ट्रका कतिपय मर्यादित विषयलई खिल्ली उडाइदिने र आफैँ एउटा विज्ञापन एजेन्सीको प्रमुखजस्तो भएर प्रस्तुत हुने, आफ्नै देशको राष्ट्रिय पोशाकलाई एउटा ठूलो व्यंग्यको विषय बनाइदिने जस्ता हर्कतहरू गरिरहँदा उनलाई सतर्क गराउनुको साटो झन् पुलपुल्याउने काम भयो र त्यो अझै जारी छ । यो क्रम बढ्दै जाँदा यता देशले कति क्षति व्यहोर्नुपर्ने हो भन्ने आशंका भने बढी नै रहेका छन् । हुँदै जाँदा आफ्नै दलका सभापति विदेश जाने अघिल्लो दिन आफ्नो देशका बारे उनले जसरी संसद्मा नै र सधैंभरीका लागि हात तल पार्नुपर्ने गरी विषयको अति हलुका रूपले प्रस्तुत गरे । त्यसले त देशमा एउटा हद नै पार गरेर विचित्रको तरंग ल्यायो, जो महामूर्ख भए पनि शासनसत्ता चलाइरहेकाहरूबाट त्यस्तो नहोस भन्ने अपेक्षा गरिन्छ । यस्तो मूर्खतायुक्त दुस्साहसबापत पनि उनले कतै जवाफ दिन आवश्यक ठानेनन् । जसले कहिल्यै निको नहुने चोट लागेको अनुभूति गराएको छ ।
उनको विवादास्पद उक्त भनाइको कतैबाट पनि पुष्टि हुने आधार छैन । सीमाविद्हरूले तरुन्तै सामूहिक लिखित प्रतिकृया दिए । जसमा खेद नै व्यक्त भएको छ । त्यसमा भनिएको छ– प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति खेद वक्तव्य । आज प्रतिनिधिसभामा आयोजित प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै सम्माननीय प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुभएको जानकारी प्राप्त मात्र भएन, उक्त अभिव्यक्ति प्रत्यक्ष रूपमा सुन्न र देख्नसमेत पाइयो । सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीबाट व्यक्त यस्तो धारणाले हामीलाई आश्चर्यचकित बनाएको छ र यसले अनावश्यक भ्रमसमेत सिर्जना गरेको छ । आजसम्म नेपालले भारतको सीमा मिचेको भन्ने कुरा कुनै आधिकारिक निकायबाट सार्वजनिक रूपमा सुनिएको थिएन । यस्तो अभिव्यक्ति पहिलो पटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट नै सुन्न पाइयो । प्रधानमन्त्रीले कुन आधारमा यस्तो धारणा व्यक्त गर्नुभएको हो भन्नेबारे स्पष्ट जानकारी प्राप्त गर्न हामी इच्छुक छौं । यसैगरी नेपाल भारतबीच रहेका विविध समस्याको समाधानको लागि दुवै देशका विज्ञ सम्मिलत प्रवुद्ध समूहका सदस्यहरुले पनि कहिले पनि यस्तो विषय नउठेको बताएका छन् । भारतीय पक्षबाट नेपालले सीमा मिचेको भन्ने कुरा दुई वर्षको अवधिमा कहिले पनि नउठेको बताइएको छ । बरु महाकाली नदीको मुहान तथा सुस्ता क्षेत्रसँग सम्बन्धित सीमाविवादका विषयहरू अझै समाधान हुन बाँकी रहेको तथ्य सार्वजनिक रूपमा स्थापित छ । विज्ञहरूको यस्तो जानकारीले प्रधानमन्त्रीको आफ्नै देशलाई गिज्याउने यो भनाइले विषयगत ज्ञान र गम्भीरताको अभाव भन्ने नै देखाउँछ । यसबारे सत्तारुढ दलले नै अविलम्ब जवाफ दिनुपर्दछ ।
प्रतिक्रिया