काठमाडौं । नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को निर्वाचन सकिएर नयाँ नेतृत्व चयन भइसके पनि त्यस अवधिका अनेकौं पाटाहरु उजागर हुने क्रम जारी छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षीय उम्मेदवार विजयप्रकाश सापकोटा नेतृत्वमा निर्वाचित भए पनि अन्य पदाधिकारीमा भने अर्का उपमहासचिव जनार्दन शर्मा पक्षीयको बर्चस्व कायम भएको छ । तर, प्रचण्ड पक्षका नेताहरुले भने आफू पक्षीय उम्मेदवार जिताउन अनेकौं प्रपञ्च गरे पनि सफल हुन नसकेको माओवादी नेताहरु बताउँछन् ।
प्रचण्ड पक्षका उम्मेदवार सापकोटालाई उपमहासचिव शक्ति बस्नेत गुटको हवाला दिँदै उनलाई जिताउन सो पक्षधर पार्टीका नेताहरुले आर्थिकरुपमा चलखेल गर्न पैसा समेत उठाइएको तथ्य उजागर भएको छ ।
स्रोतका अनुसार पार्टी नेता एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले अखिल(क्रान्तिकारी) निर्वाचनका लागि चुनावी खर्च भन्दै आफ्नै जिल्ला धादिङको गजुरी गाउँपालिका अध्यक्षसँग पैसा असुलेका हुन् ।
उनले आफ्नै पार्टीबाट निर्वाचित गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई बालुवाखानीको ठेक्का दिलाईदिने आश्वासन दिएर अखिल(क्रान्तिकारी)को चुनावी खर्च प्रयोजनका लागि पचास लाख लिएको स्रोतले जनाएको छ ।
जम्मकट्टेलले गाउँपालिका अध्यक्षसँग चुनावी खर्च प्रयोजनका लागि लिएको रकम कहाँ खर्च गरे भन्ने यकिन हुन नसकेको माओवादी स्रोत बताउँछ । तर, उनले अखिल(क्रान्तिकारी)का अध्यक्षका उम्मेदवार रहेका (हाल नवनिर्वाचित अध्यक्ष) सापकोटालाई जिताउन हेडक्वाटरको निर्देशनको संज्ञा दिँदै पैसा असुलेको स्रोतको दाबी छ ।
यसरी पार्टीको भातृ संगठनको चुनाव जित्नका लागि समेत अमुक कामको आश्वासन दिएर पैसा असुल्ने प्रवृत्तिले दलाल पुजीवादी अर्थप्रणालीलाई नै टेवा पुर्याइरहेको छ । समाजवादी व्यवस्थाका पक्षपाती बताउँदै दलाल पुँजीवादी व्यवस्थालाई थप प्रश्रय दिने यस प्रकारका आर्थिक असुली सत्ताको आडमा राज्यकै सम्पत्ति दोहन गरी परिपूर्ति गर्ने गरिन्छ ।यस प्रवृत्तिले देशको अर्थतन्त्र झनै धराशायी भएको अर्थराजनीतिका जानकारहरु बताउँछन्।
यसबारेमा प्रतिक्रिया लिन गाउँपालिका अध्यक्ष श्रेष्ठसँग सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइल स्विच अफ रहेको पाइयो भने जम्मकट्टेलको फोन उठेन ।
प्रतिक्रिया