काठमाडाैं- गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ।
बुढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आयोजना निर्माणका लागि आवश्यक ऋण लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
करिब रु ९६ करोड ३८ लाख ३० हजार लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ। राष्ट्रिय वाणिज्य बैंकले रु ६७ करोड ४६ लाख ८० हजार ऋण उपलब्ध गराउनेछ भने बाँकी रु २८ करोड ९१ लाख ५० हजार प्रवर्द्धक कम्पनीको स्वपूँजी लगानी हुनेछ।
यस आयोजनालाई १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। वार्षिक २७ दशमलव ३७९ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ, जसअन्तर्गत वर्षायाममा १८ दशमलव ६२१ गिगावाट आवर र हिउँदमा ८ दशमलव ७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ।
गत असार २१ गते नेपाल विद्युत् प्राधिकरणसँग आयोजना र विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भइसकेको छ। आयोजनाबाट उत्पादित विद्युत् विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सवस्टेसनमा जोडिनेछ।
सम्झौता हस्ताक्षरपछि बुढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष न्यौपानेले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै लगानीकर्ताहरूलाई सुरक्षित प्रतिफलको प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले निजी क्षेत्रले ऊर्जामा थप लगानी गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। उनले बैंकले जलविद्युत् क्षेत्रमा निरन्तर लगानी गरिरहेको उल्लेख गर्दै वित्तीय अनुशासनमा रही आयोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिए।
यसै अवसरमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले स्वदेशी लगानीकर्ताहरूलाई प्रोत्साहन गर्न सरकारको निरन्तर सहयोग रहने आश्वासन दिए।
यसअघि, प्रवर्द्धक समूहले ४ दशमलव ५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर आयोजना सफलतापूर्वक सञ्चालन गरिसकेको छ। यही समूहले यसैवर्ष थप २२ मेगावाट क्षमताको जल्दीगाढ जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ।
प्रतिक्रिया