अपी पावर कम्पनीको ऐतिहासिक फड्को: नाफामा अकल्पनीय उछाल

आइतबार, २७ माघ २०८१, ०८ : २५

काठमाडौं- अपी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यो विवरणले कम्पनीको वित्तीय प्रगति ऐतिहासिक रहेको देखाएको छ।

कम्पनीले समीक्षा अवधिमा ३१ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा २१ लाख ४३ हजार रुपैयाँ मात्र नाफा रहेको थियो। यस वर्ष नाफा १४४४४.४७ प्रतिशतले उछाल आएको छ, जुन कम्पनीको उल्लेखनीय प्रगति हाे।

अपी पावर कम्पनीले विद्युत् बिक्रीबाट ८५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ६२ करोड रुपैयाँ थियो। यसरी कम्पनीको आम्दानीमा ३८.३८ प्रतिशतको वृद्धि भएको छ, जसले यसको व्यवसायिक सुदृढता दर्शाउँछ।

कम्पनीको चुक्तापूँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ५५ करोड ७६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष अन्य इक्विटी १९ करोड १३ लाख रुपैयाँ मात्र थियो। यस वर्ष अन्य इक्विटीमा १९१.४७ प्रतिशतको अप्रत्याशित वृद्धिदर देखिएको छ।

नाफासँगै कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) समेत उकालो लागेको छ। ईपीएस १०.२६ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २.७५ रुपैयाँको तुलनामा निकै माथि रहेको छ। त्यस्तै, कम्पनीको पीई रेसियो २५.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९.१८ रुपैयाँ पुगेको छ।

अपी पावर कम्पनीको यो ऐतिहासिक वित्तीय वृद्धिले लगानीकर्ताहरुलाई थप आशावादी बनाएको छ। कम्पनीले देखाएको प्रभावशाली वित्तीय सुधारले आगामी दिनमा अझ मजबुत व्यापारिक सम्भावनाको संकेत गरेको छ।

आइतबार, २७ माघ २०८१, ०८ : २५

प्रतिक्रिया