प्रचण्डको सचिवालयमा पत्रकार महासंघका पूर्वअध्यक्षदेखि बाबुरामका पूर्वस्वकीय सचिवसम्म

सोमबार, २८ माघ २०८१, ११ : २०

काठमाडौं - नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय हेरफेर भएको छ । यस अघि बसेको पदाधिकारी बैठकले सचिवालय हेरफेर गर्ने निर्णय गरेको थियो । माओवादीले शनिबार सर्कुलर जारी गर्दै नेताहरुको कार्यविभाजन र अध्यक्ष प्रचण्डको सचिवालय हेरफेर भएको जानकारी गराएको हो ।

करिब तीन वर्षदेखि सचिवालयमा रहेका रमेश मल्ल बाहिरिएका छन् भने प्रमुख स्वकिय सचिवको जिम्मा गोविन्द आचार्यले पाएका छन् । प्रचण्डको स्वकिय सचिव रहेका मल्ल सचिवालयबाट बाहिरिएर पार्टी राजनीतिमा सक्रिय भूमिका खोज्न थालेका छन् । उनलाई उपत्यका विशेष प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

यद्यपि, माओवादी स्रोतका अनुसार उनलाई तत्काल उपत्यका विशेष प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिइए पनि कर्णाली प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने गरी प्रचण्डले गृह जिल्ला सल्यानबाट निर्वाचन लड्ने सुनिश्चितता प्रदान गरेपछि सचिवालयबाट बाहिरिएका हुन् ।

अब प्रचण्डको सचिवालय गोविन्द आचार्यले हाँक्नेछन् । माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरको संस्थापक रहेका उनी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

यस अघि न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष समेत भइसकेका आचार्यले दुई कार्यकाल प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको जिम्मेवारी पाएका थिए । उनै आचार्यलाई प्रचण्डको प्रमुख स्वकिय सचिवको जिम्मेवारी दिइएको छ । उनीसहित प्रचण्डको सचिवालय सदस्यमा सन्तु दराई, छोरी गंगा दाहाल, गोकर्णप्रसाद भट्ट र विश्वदीप पाण्डे रहेका छन् ।

पूर्वजनमुक्ति सेनाका कमाण्डर रहेका दराई माओवादी शान्तिप्रक्रियामा आएयता प्रचण्डको सहयोगीका रुपमा उनको सचिवालयमा रहँदै आएका छन् ।  प्रचण्ड पुत्री गंगा पनि भाई प्रकाश दाहालको निधन पछि सचिवालयमा रहेर बुबालाई सघाउँदै आएकी छिन् ।  

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत भट्ट तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा उनको सचिवालयमा रहेका थिए । त्यसयता उनले प्रचण्डको सचिवालयमा रहेर काम गर्दै आएका छन् ।

अर्का विश्वदीप पाण्डे भने माओवादी युद्धकालदेखि शान्ति प्रक्रियापछि पनि बाबुराम भट्टराईको सचिवालयमा रहेका थिए । केही समय अघि मात्रै बाबुरामको साथ छाडेर माओवादीमा प्रवेश गरेका हुन् ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको नेता समेत रहेका उनी तेस्रो कार्यकाल प्रचण्ड प्रधानमन्त्री रहेकै बेलामा माओवादी प्रवेश गरेर राजनीतिक नियुक्ति समेत लिएका थिए । उनलाई माओवादी प्रवेश लगत्तै तत्कालीन प्रधानमन्त्री प्रचण्डको युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त गरिएको थियो ।

सोमबार, २८ माघ २०८१, ११ : २०

प्रतिक्रिया