रसुवामा माथिल्लो त्रिशूली-१ : १७ करोडको सामुदायिक सहयोग, प्रभावित क्षेत्रको समृद्धि तर्फ एक कदम

विहीबार, ०१ फागुन २०८१, ०५ : ५२

काठमाडाैं- रसुवाको दुर्गम पहाडी भेगमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना स्थानीय समुदायका लागि उज्यालोको मात्र स्रोत होइन, समृद्धिको आधार पनि बन्दैछ। वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत् आयोजना का रूपमा परिचित यस आयोजनाले प्रभावित क्षेत्रमा हालसम्म रु १७ करोडको सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गरिसकेको छ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृतिको संरक्षण, जीविकोपार्जन तथा आयआर्जन वृद्धिलगायत क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको छ।

कोरियन कम्पनीको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँध र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह निर्माणाधीन छ। नेपाल विद्युत् प्राधिकरणसँग भएको सम्झौताअनुसार उत्पादन भएको ऊर्जा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ।

२०७२ सालको विनाशकारी भूकम्पबाट नराम्ररी प्रभावित यस क्षेत्रमा कम्पनीले भूकम्प पीडितहरूलाई राहत सामग्री वितरण, अस्थायी आवास निर्माण, विद्यालय तथा स्वास्थ्य संस्थाहरूको पुनर्निर्माण, हेलिकोप्टरमार्फत उद्धार, निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रम सञ्चालन गरिसकेको छ।

हाकुबेँसीमा त्रिशूली नदीमा बेलीब्रिज निर्माणका लागि रु ७ करोड ८६ लाख १४ हजार खर्च गरिएको छ। प्रभावित क्षेत्रमा सडक निर्माणका लागि रु १८ लाख ५७ हजार र धुन्चे खोलडोल सडक निर्माणका लागि रु ७० लाख खर्च भएको छ। आयोजनाले स्थानीय तीनवटा विद्यालयलाई सन् २०१८ देखि शिक्षक उपलब्ध गराउँदै आएको छ।

यस आयोजनाले आदिवासी समुदायको संस्कृतिको संरक्षणलाई प्राथमिकता दिएको छ। गुम्बा निर्माण तथा अन्य धार्मिक र सांस्कृतिक गतिविधिहरूमा पनि सहयोग गर्दै आएको छ।

कुल लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको यस आयोजनाबाट २१६ मेगावाट विद्युत् उत्पादन हुनेछ। वार्षिक रूपमा १.५३ अर्ब युनिट ऊर्जा उत्पादन हुने यस आयोजनाबाट हिउँदमा १०४ मेगावाट स्थिर ऊर्जा उपलब्ध हुनेछ। निर्माण विसं २०८३ मंसिरभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।

नेपालको ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान दिने यस आयोजनाले स्थानीय समुदायको सामाजिक–आर्थिक रूपान्तरणमा सशक्त भूमिका खेल्नेछ। विद्युत् उत्पादन मात्र होइन, उज्यालोसँगै समृद्धि पनि बग्नेछ।

विहीबार, ०१ फागुन २०८१, ०५ : ५२

प्रतिक्रिया