जलविद्युत्को हब बन्दै लमजुङ, १७ आयोजना सञ्चालनमा, ११ निर्माणाधीन

आइतबार, २८ बैशाख २०८२, ११ : ०१

काठमाडौं- जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७  आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन गरिरहेका हुन् । 

लमजुङ विद्युत् वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार जिल्लामा उत्पादन हुने बिजुलीको प्रमुख हिस्सा मध्य मर्स्याङ्दी (७० मेगावाट), सुपर दोर्दी ‘ख’ (५४ मेगावाट), अपर मर्स्याङ्दी (५० मेगावाट) तथा न्यादी (३० मेगावाट) जस्ता आयोजनाबाट आउँछ।

जिल्लामा साना–ठूला गरी मिदिम, खुदी, छन्दीखोला, स्याँगे, राँधीखोला जस्ता खोलामा सञ्चालित माइक्रो हाइड्रो समेत सक्रिय छन्। हाल लमजुङमा ४० हजार ५४२ उपभोक्ताहरू छन् भने चालू आर्थिक वर्षको ८ महिनामा रु १९ करोड ५३ लाख बराबरको विद्युत् बिक्री भएको छ।

यतिमात्र होइन, लमजुङमा हाल ११ जलविद्युत् आयोजना निर्माणाधीन छन्। तीमध्ये मर्स्याङ्दी बेँसी (५० मेगावाट), सुपर न्यादी (४०.२७ मेगावाट), अपर खुदी (२१.२१ मेगावाट), न्यादी–फिदी (२१ मेगावाट), र मिदिमखोला–१ (१३.४२ मेगावाट) प्रमुख हुन्।

विद्युत् उत्पादनको अपार सम्भावना बोकेको लमजुङमा आगामी वर्षहरूमा २,५०० मेगावाट क्षमतासम्मको विद्युत् उत्पादन सम्भव हुने प्रक्षेपण गरिएको छ। यस्तो विकासले लमजुङ मात्र होइन, देशको ऊर्जा सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याउने देखिन्छ। लमजुडमा दुई हजार ५०० मेगावाट क्षमता विद्युत् उत्पादन हुनसक्ने अनुमान छ ।

आइतबार, २८ बैशाख २०८२, ११ : ०१

प्रतिक्रिया