काठमाडौं - वि.सं २०५२ साल फागुन १ गते आजकै दिन तत्कालीन नेकपा(माओवादी) ले उसकै शब्दमा जनयुद्धको घोषणा गरेको दिन । माओवादीले जनयुद्ध भने पनि यो तत्कालीन राज्यसत्ताको विरुद्ध गरिएको संगठित विद्रोह थियो । जुन सशस्त्र पनि थियो । दस वर्षसम्म चलेको यो युद्धमा विद्रोही र राज्यपक्ष दुवैबाट १७ हजार मानिसको ज्यान गयो । हजारौं घाइते, अपाङ्ग तथा बेपत्ता भए । माओवादीले विद्रोह सुरु गर्दा एउटा प्रचारात्मक पोष्टर निकालेको थियो । जसमा लेखिएको थियो, ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं ।’ जनयुद्धको घोषणा गर्दा यस्तो भने पनि माओवादी आफ्नो घोषणामा टिकेन । एक दसकको विद्रोहमा माओवादीले अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न भने सफल भयो ।
माओवादीले आफ्नो विद्रोहलाई जनयुद्ध’ भने पनि यसको विसर्जन गर्दा ‘जनयुद्ध’ शब्द कतै पनि प्रयोग गरिएको छैन । २०६३ मंसीर ५ गते भएको शान्ति संझौतामा पनि ‘जनयुद्ध’ शब्द प्रयोग गरिएको छैन । शान्ति प्रक्रियामा सघाउन आएको राष्ट्र संघीय मिशन अनमिनले पनि सशस्त्र विद्रोह नै भनेको छ । शान्ति संझौतापछि माओवादी समेतको सहभागितामा बनेको नेपालको संविधानमा पनि जनयुद्ध उल्लेख भएको छैन । संविधान निर्माणको बेला राजनीतिक दलहरुबीच भएको लामो छलफल र बहसपछि जनयुद्धको बदला सशस्त्र संघर्ष लेख्ने सहमति भएको थियो । त्यसैले माओवादीले स्विकार गरेको राज्यले पनि जनयुद्धलाई स्विकार गरेको छैन । संविधानको यही व्यवस्थाको कारण जनाएर प्रचण्ड प्रधानमन्त्री भएकोबेला ‘जनयुद्ध दिवस’ मा विदा दिने निर्णय भएर पनि कार्यान्वयनमा आउन सकेन । सर्वोच्च अदालतले उक्त निर्णय बदर गरिदिएको थियो ।
यसको अर्थ माओवादी विद्रोहको कुनै योगदान छैन भन्न खोजिएको हैन । यो विद्रोहको आशय जे जस्तो भए पनि परिणाममा यो नेपाली राजनीतिको पछिल्लो इतिहासमा हटाउनै नसकिने अध्याय बनेको छ । आजको राजनीतिक परिवर्तनमा यो विद्रोहको मुख्य भूमिका रहेको कुरामा कुनै विवाद छैन । यद्यपी माओवादीले विद्रोह सुरु गर्दा घोषणा गरेको लक्ष्य भने कहिल्यै नभेटिने गरी हराएको छ । तत्कालीन संसदीय व्यवस्थाको समूल नष्ट गरेर जनवादी राज्यसत्ता स्थापना गर्ने ऐजेण्डाबाट माओवादी आफै भागिसकेको छ । सत्ताको उपरीसंरचनामा केही परिवर्तन आए पनि आधारभूत चरित्रमा परिवर्तन भएको छैन । बरु माओवादी आफैले अघि सारेका जनजीवीका र स्वाधिन अर्थतन्त्रका मुद्धाहरु बिर्सेर उही पूँजीवादी संसदीय व्यवस्थाको खेलाडि बनेर जसरी पनि बाजी मार्ने रणनीतिमा डुबीसकेको छ ।
माओवादी इतरका राजनीतिक कार्यकर्ताहरु मात्र होइन हिंजो विद्रोहमा लागेका कार्यकर्ताहरु पनि जनयुद्ध भन्न खुलेर सकिरहेका छैनन् । उनीहरु केही लोभीपापी र टाँठाबाठाहरुको ठगी खाने भाँडो बनेको छ भन्छन् माओवादी ‘जनयुद्ध’ । कतिपयले यस्तो विद्रोहमा लागेर पश्चाताप लागेको पनि बताइरहेका छन् ।
माओवादी विद्रोह आफैमा सशस्त्र द्वन्द्व थियो । यसकारण त्यहाँ प्रयाप्त हिंसा पनि भयो । तर उनीहरु यसलाई हिंसा मान्न तयार छैनन् । उनीहरु प्रतिक्रियावादी सत्ताका विरुद्ध लडिएको ‘न्यायपूर्ण युद्ध वा जनयुद्ध’ नै भन्न रुचाउँछन् । तर विद्रोहका क्रममा भएका केही घटनाहरु अमानवीय र हिंसात्मक नै थिए । माओवादी नेतृत्वले पनि कतिपय घटनाहरुलाई ‘नहुुनुपर्ने’ भनेर आत्मालोचना गरिसकेको छ ।
सुर्खेतका तारा पौडेलले आज माओवादी ‘जनयुद्ध दिवस’ मनाइरहँदा आफ्नो फेसबुक स्ट्याटसमा यस्तो लेखेको पाइयो, ‘आज फागुन १ नेपाली माटोमा आतंकको बीउ रोपिएको दिन। हामीलाई जनयुद्ध भनियो, तर हाम्रो लागि यो हत्या, पीडा र अन्यायको कथा हो। माओवादी द्वन्द्वका नाममा मेरा बुबा जस्ता हजारौँ निर्दोष नागरिकहरू मारिए, परिवारहरू टुहुरा बने, र शिक्षाजस्तै अन्य धेरै पवित्र पेशाका निर्दोष मानिसहरू समेत सुरक्षित रहेनन्। माओवादीले मेरो बुबालाई केवल शिक्षक भएको ‘अपराधमा’ क्रूरतापूर्वक हत्या गर्यो। न त हामीले न्याय पायौं, न त दोषीहरूलाई सजाय। उल्टै, हत्याको उत्सव मनाइन्छ, जनयुद्ध दिवसको नाममा !
के यो दिन पीडितहरूका लागि उत्सवको दिन हुन सक्छ ? के हाम्रो आँसु, हाम्रो पीडा बेकार थियो ?
हामी बिर्सिन्नौं। न त आफ्नो पीडा, न त अन्याय ।’जनयुद्ध’ भनियो, तर हाम्रो लागि यो हत्या, पीडा र अन्यायको कथा हो। माओवादी द्वन्द्वका नाममा मेरा बुबा जस्ता हजारौँ निर्दोष नागरिकहरू मारिए, परिवारहरू टुहुरा बने, र शिक्षाजस्तै अन्य धेरै पवित्र पेशाका निर्दोष मानिसहरू समेत सुरक्षित रहेनन्। माओवादीले मेरो बुबालाई केवल शिक्षक भएको ‘अपराधमा’ क्रूरतापूर्वक हत्या गर्यो। न त हामीले न्याय पायौं, न त दोषीहरूलाई सजाय। उल्टै, हत्याको उत्सव मनाइन्छ, जनयुद्ध दिवसको नाममा ! के यो दिन पीडितहरूका लागि उत्सवको दिन हुन सक्छ ? के हाम्रो आँसु, हाम्रो पीडा बेकार थियो? हामी बिर्सिन्नौं। न त आफ्नो पीडा, न त अन्याय।
पौडेलले भने जस्तै ‘जनयुद्ध’ मा कैयौं कमि–कमजोरी भएका छन् । कतै ज्यादा बल प्रयोग पनि भएको छ । लालशाहीवादी प्रवृत्ति पनि छिटफुट देखिन्छ । शाही आतंकको प्रतिरोध गर्दा लालआतंक युद्धको नीति हुनु अस्वाभाविक होइन तर निर्दोष र युद्धमा असंलग्न निहत्था जनता पनि पीडित भएका छन् । तर संसारभरिका सशस्त्र युद्धको तुलनामा यो बढी होइन भन्ने माओवादी नेतृत्वको भनाइ रहेको छ ।
जनयुद्ध’ रक्तपात पूर्ण युद्ध थियो । युद्धले ठूलो जनधनको क्षति भएको छ । त्यसको उचित परिपूरण हुन नसक्नु, राजनीतिक परिवर्तनपछि पनि जनताको दैनिक जीवनमा परिवर्तन हुन नसक्नु, जनताको तीव्र समृद्धिका अपेक्षा पूरा हुन नसक्नु, शहीद तथा बेपत्ता परिवार, घाइते योद्धा, जेल यातना भोगेका योद्धाको उचित सम्मान र व्यवस्थापन हुन नसक्नु अझ जनयुद्धको उच्च नेतृत्व तह नै भ्रष्टाचार, व्यभिचारमा फस्नु, नातावाद, परिवारवाद र द्रव्यमोहमा फस्नु आदि कारण यसको उच्च बलिदान, त्याग, समर्पण र योगदान नै फिक्का देखिने गरेको छ ।
अहिले ‘जनयुद्ध’ इतिहास भइसकेको छ । २०५२ सालमा जन्मेको बच्चा आज २९ वर्ष पुग्यो र ‘जनयुद्ध’ अन्त्य भएपछि जन्मेकोबच्चा पनि बालिग भइसकेको छ । जुनसुकै इतिहासलाई हेर्ने बुझ्ने एउटै दृष्टिकोण हुन सक्दैन । जनयुद्धलाई हेर्ने पनि एउटै दृष्टिकोण हुनै सक्दैन । ‘जनयुद्ध’ लाई विविध आयाम विश्लेषण गर्नु र इतिहासबाट शिक्षा लिन जरूरी छ ।
कतिपय विश्लेषकहरु माओवादी नेतृत्वको शक्ति आर्जन गर्ने रणनीतिको रुपमा पनि यस विद्रोहलाई अथ्र्याउने गर्दछन् । २०४८ सालमा तीन वाम घटकहरु मिलेर नेकपा (एकताकेन्द्र) बनेको ३/४ वर्षमै पार्टीको नाम माओवादी राखेर ‘जनयुद्ध’ मा जाने निर्णय गरिएको थियो । सशस्त्र विद्रोहकै अवधिमा उनीहरुले राजासँग वार्ता गर्न पटक पटक प्रयास गरेको देखिन्छ । एक अपुष्ट समाचार अनुसार उनीहरु राजालाई सिंहानुक बनाउने र आफ्नो नेतृत्वमा सरकार बन्ने परिस्थिति बने युद्ध त्याग्न तयार भएका थिए । वार्ताको वातावरण बनाउने प्रयासकैबीच दरवार हत्याकाण्ड भएकोले यो अध्याय रोकियो । त्यसपछि राजा बनेका ज्ञानेन्द्रसँग पनि वार्ताको प्रयास भएको थियो । तर राजाले रेस्पोन्स नगरेकोले वार्ताले पूर्णता पाउन सकेन ।
आजको उपलब्धी ‘जनयुद्ध’ले मात्रै ल्याएको होइन । यस्तो दाबी अर्को राजनीतिक बचकनापन र हठ हुन्छ । ‘जनयुद्ध’ अगाडि र ‘जनयुद्ध’ पछाडि पनि जनताले सत्ताको दमनका विरुद्ध निरन्तर संघर्ष गरेका छन् । ‘जनयुद्ध’ले ती आन्दोलनहरूबाट विचार, अनुभव, ज्ञान र शिक्षा लिएको छ भने ‘जनयुद्ध’को क्रममा विकास भएका विचार, ज्ञान, अनुभव र शिक्षाबाट अन्य आन्दोलनका आधार तयार गरेका छन् ।
कैयौं सन्दर्भमा तत्कालीन युद्धको बेला अप्रिय घटनाहरु पनि भएका छन् । कुनै पनि द्वन्द्वका सकारात्मक र नकारात्मक दुवै पक्षहरु हुन्छन् । युद्धलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोज्ने राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल हुनु अस्वभाविक मानिदैन । त्यसको वस्तुनिष्ठ समीक्षा हुन जरूरी छ । ‘जनयुद्ध’को क्रममा भएका हिंसाका घटनाहरूले समाजमा पारेका दीर्घकालीन नकारात्मक असरहरूको सामाजिक उपचारको लागि पनि ‘जनयुद्ध’को अध्ययन हुन जरूरी छ ।
फेरिएको राजनीतिक व्यवस्था र पुरानै आर्थिक आधार आजको अव्यवस्था र असन्तुष्टिको कारण हो । सामाजिक र आर्थिक क्षेत्रमा रहेको संरचनागत सुधार गरी तीव्र आर्थिक समृद्धि हासिल गर्नु आजको राष्ट्रिय चुनौती हो । माओवादी नेतृत्व आज यही समस्यामा फसेको छ । उनीहरु आफैले प्रतिक्रियावादी करार गरेको व्यवस्थामा बिलाउने त होइनन् भन्ने डर आफ्नै कार्यकर्तालाई छ ।
‘जनयुद्ध’लाई जुन दृष्टिकोणले हेरे पनि त्यसको इतिहासलाई बदल्न सकिदैन । आजको राजनीति, कूटनीति, इतिहास, साहित्य, समाज, कानुन वा समाजका जुनसुकै क्षेत्र, विषय ‘जनयुद्ध’लाई सम्बोधन नगरी पूर्ण हुँदैन । इतिहास बनेको ‘जनयुद्ध’लाई कसैले मेट्न सक्दैन । बरु समाजले आजको आवश्यकता र सन्दर्भमा यसको व्यापक, वस्तुनिष्ठ, आग्रहरहित विश्लेषण गरी शिक्षा लिनुपर्छ । माओवादी विद्रहले जन्माएको विचारधारा नेपाली समाजमा संस्थागत भैसकेको छ । यस विद्रोहबाट बनेको सामाजिक प्रणालीलाई व्यवस्थित गरेर जानुको विकल्प छैन । त्यसको लागि माओवादी पार्टी र नेतृत्व नै जिम्मेवार, आफ्नै इतिहासप्रति गम्भीर बन्दै र प्रष्ट विधि तथा प्रक्रियामा अघि बढ्न सक्नुपर्दछ ।
यो पनि पढ्नुस्
‘जनयुद्ध’ सुरु गर्ने निर्णय गरेका १९ जना केन्द्रीय सदस्य, को कहाँ छन् ?
प्रतिक्रिया