काठमाडौं- तत्कालीन नेकपा(माओवादी)ले जनयुद्ध सुरु गरेको दिन फागुन १ को अवसरमा माओवादी घटहरुले आज(बिहीबार) विशेष कार्यक्रम गरी मनाइरहेका छन् । २०५२ साल फागुन १ गतेदेखि सुरु गरिएको जनयुद्ध २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतापछि विधिवत रुपमा अन्त्य भएको थियो ।
जनयुद्ध सुरु गरेको तत्कालीन नेकपा(माओवादी)को प्रमुख घटक नेकपा(माओवादी केन्द्र)ले आज फागुन १ को अवसर पारेर ३० औं जनयुद्ध दिवस मनाउन देशव्यापी पार्टी पंक्तिमा परिपत्र समेत जारी गरेको छ । अन्य विभाजित माओवादी घटकहरुले पनि यस अवसरमा कार्यक्रम आयोजना गरी मनाइरहेका छन् ।
तत्कालीन अवस्थामा जनयुद्ध सुरु गर्ने निर्णय नेकपा(माओवादी)को १९ सदस्यीय केन्द्रीय समितिले गरेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि ती नेताहरुमध्ये अधिकांश राजनीतिकरुपमा अलग भइसकेका छन् भने केहीले राजनीतिक सक्रियता छाडेर व्यक्तिगत जीवनयापन गरिरहेका छन् ।
राज्यविरुद्ध जनयुद्धको जोखिमपूर्ण निर्णयका क्रममा सँगै रहेका माओवादीका नेताहरु आज अनेकौं कित्तामा बिभाजित बनेका छन्। जनयुद्धको अन्तिम तयारीका क्रममा रहेर त्यो निर्णय गर्ने १९ जनासहितको तत्कालीन माओवादीका केन्द्रीय सदस्यहरु मध्ये नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्ड नै रहेका थिए । अहिले पनि उनी माओवादी केन्द्रको अध्यक्ष छन् ।
माओवादीले जनयुद्धको तयारी गर्दैगर्दा पार्टीमा ती १९ केन्द्रीय सदस्यमध्येबाटै ६ जनाको राजनीतिक समिति(पोलिटब्यूरो) गठन गरेको थियो। जसमा पार्टी नेतृत्व प्रचण्डसहित मोहन वैद्य किरण, बाबुराम भट्टराई ‘लालध्वज’, रामबहादुर थापा ‘बादल’, पोष्टबहादुर बोगटी ‘दिवाकर’, सीपी गजुरेल ‘गौरव’ थिए। पार्टीको महत्वपूर्ण निर्णय यही ६ सदस्यीय पोलिटब्यूरोले गर्ने गर्दथ्यो।
यी ६ सदस्यीय पोलिटब्यूरोमा रहेकाहरु पनि सबै राजनीतिक रुपमा सँगै छैनन्। केहीबाहेक अधिकांश अलग-अलग पार्टीमा लागेका छन्। जसमध्ये मोहन वैद्य किरणले प्रचण्डसँग अलग भएर क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गरेका छन्।
जनयुद्धभर प्रचण्डसँग साथमै रहेका उनी युद्धको उत्तरार्धमा भारतमा पक्राउ परेका थिए । जनयुद्धमा सबैभन्दा अग्रज मानिने उनी हाल क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिव छन्।
यस्तै अर्का नेता डाबाबुराम भट्टराई भने प्रचण्डको साथ छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका छन्। उनले २०४८ सलदेखि प्रचण्डलाई साथ दिँर्दै आए पनि नेपालको संविधान २०७२ जारी भएको केही समयमै सो पार्टी परित्याग गर्दै बाहिरिएका थिए । उनले कम्युनिष्ट विचारधारा नै परित्याग गरेर लोकतान्त्रिक चरित्रको पार्टी निर्माणको प्रयत्न गरिरहेका छन् ।
यस्तै तत्कालीन पोलिटब्यूरोमा रहेका रामबहादुर थापा बादल समेत अलग पार्टीमा लागेका छन्। उनी माओवादी र एमाले एकतापछि बनेको नेकपा बिभाजनको समयमै एमालेतिर लागेका हुन्। उनी हाल एमालेको उपाध्यक्ष रहेका छन्। २०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा(माओवादी) बिभाजन हुँदा मोहन वैद्यतर्फ लागेका उनी २०७३ सालमा प्रचण्ड नेतृत्वकै पाटीमा समाहित भएका थिए।
अर्का तत्कालीन पोलिट्ब्यूरो सदस्य पोष्टबहादुर बोगटी ‘दिवाकर’ को निधन भइसकेको छ। २०७१ सालमा निधन भएको हो। तत्कालीन एकीकृत नेकपा (माओवादी) को उपाध्यक्ष रहेका उनको हृदयघातका कारण निधन भएको हो।
यस्तै अर्का पोलिट्ब्यूरो सदस्य रहेका सीपी गजुरेल ‘गौरव’ पनि प्रचण्डसँग अलग भएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारीकम्युनिष्ट पार्टीमा लागेका छन्। उनी उक्त पार्टीको कार्यवाहक महासचिव र सोही पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको अध्यक्ष समेत छन्।
यस्तै अन्य १९ केन्द्रीय सदस्यहरुमध्ये अर्का हरिबोल गजुरेल ‘शितलकुमार’ हुन्। उनी प्रचण्ड नेतृत्वकै माओवादी केन्द्रको उपमहासचिव छन्।
अर्का केन्द्रीय सदस्य रहेका यानप्रसाद गौतम आलोक माओवादी जनयुद्धकालमा मारिएका हुन्। उनलाई तत्कालीन शाही नेपाली सेनाले रोल्पामा २०५९ सालमा हत्या गरेको बताइन्छ।प्रचण्डविरुद्ध गतिबिधि गरेको भन्दै उनलाई माओवादीले कारबाही समेत गरेको थियो । सोही समयमा सेनाको आक्रमणबाट मारिएका उनको मृत्यु रहस्यमय भएको समेत चर्चा हुने गर्दछ।
यस्तै जनयुद्ध सुरु गर्दाको १९ सदस्यीय केन्द्रीय समितिमा रहेका अर्का केन्द्रीय सदस्य टोपबहादुर रायमाझी हुन्। माओवादीभित्र अनिल उपनामले चिनिने उनी नेकपा (एमाले) को सचिव रहँदा नक्कली भटानी शरणार्थी प्रकरणको आरोप लागेपछि अदालतबाट पुपक्र्षका लागि कारागार पुगेका छन् ।
माओवादी जनयुद्ध सुरु गर्ने समयका अर्का केन्द्रीय सदस्य देवप्रसाद गुरुङ हुन्। उनी हाल नेकपा (माओवादी केन्द्र)को महासचिवको जिम्मेवारीमा छन्। केही वर्ष अगाडि माओवादी अध्यक्ष प्रचण्डसँग बिभाजित भएर मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका उनी बादलको नेतृत्वमा फर्किएका हुन्।
यस्तै अर्की केन्द्रीय सदस्य रहेकी पम्फा भुसाल प्रचण्ड नेतृत्वकै पार्टीको उपाध्यक्ष रहेकी छिन्। उनी पनि २०६९ सालमा पार्टी बिभाजन हुँदा वैद्य नेतृत्वको पार्टीमा लागकी थिइन्। तर, पछि बादलसँगै पुनःफर्किएकी हुन्।
यस्तै तत्कालीन १९ जना केन्द्रीय सदस्यमध्ये एक दण्डपाणि न्यौपाने हालसम्म बेपत्ता छन्। माओवादी जनयुद्धकै क्रममा प्रहरीले उनलाई पक्राउ परेको थियो। २०५६ सालमा काठमाडौंबाट प्रहरीले पक्राउ गरेसँगै हालसम्म उनको अवस्था अज्ञात रहेको छ।
तत्कालीन केन्द्रीय सदस्य रहेका अर्का नेता हुन्, अग्नि सापकोटा । उनी माओवादीमा कञ्चन उपनामले चिनिन्थे। हाल उनी प्रचण्ड नेतृत्वकै पार्टीको उपाध्यक्ष एवं प्रवक्ताको जिम्मेवारीमा छन् ।
अर्का केन्द्रीय सदस्य रहेका लोकेन्द्र बिष्ट भने राजनीतिक रुपमा निष्क्रिय छन्। उनी देशको पछिल्लो राजनीतिक अवस्थाबाट बिरक्तिएर व्यावसायिक कृषितर्फ लागेका छन्।
उनले दाङको बिजौरीमा ब्यावसायिक खेती अंगालेका छन्। माओवादीमा अभ्यास उपनामले परिचित उनी देशको राजनीति विकृत भएपछि कृषि पेशा अंगालेको बताउँछन्।
यस्तै अर्का केन्द्रीय सदस्य हरिभक्त कँडेल प्रचण्डसँग अलग भएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीमा आबद्ध छन्। उनले प्रचण्डसँग २०६९ सालमा राजनीतिक रुपमा अलग भएका हुन्।
मधेशी समुदायबाट एकल रुपमा १९ सदस्यीय समितिमा केन्द्रीय सदस्य रहेका मातृका यादव प्रचण्ड नेतृत्वकै पार्टीमा छन्। उनी केही समय अगाडि प्रचण्डको पार्टीबाट अलग भएका थिए। तर, २०७३ सालमा फेरि प्रचण्ड नेतृत्वकैसमाहित भएका उनी हाल उक्त पार्टीको उपमहासचिव रहेका छन्।
अर्का केन्द्रीय सदस्य नारायणप्रसाद शर्मा भने पछिल्लो समय राजनीतिक सक्रियता बढाएका छैनन्। माओवादी बिभाजित हुँदा मोहन वैद्यतिर लागेका उनी बादलसँगै प्रचण्ड नेतृत्वकै पार्टीमा फर्किएका थिए।पछिल्लो समय प्रचण्डसँग राजनीतिक रुपमा असन्तुष्ट रहेर अलग्गै रहेका छन् ।
यस्तै अर्का केन्द्रीय सदस्य दिनेश शर्मा सागर हाल मोहन वैद्य नेतृत्वको पार्टीमा आबद्ध छन्। जनयुद्ध सुरु गर्ने क्रममा रहेका १९ जना केन्द्रीय सदस्य मध्ये एक उनी प्रचण्ड नेतृत्को पार्टी बिभाजित हुँदा वैद्यतर्फ लागेका हुन्। अहिले सोही पार्टीमा सक्रिय छन् ।
माओवादी जनयुद्ध सुरु गर्नु भन्दा अगाडिको १९ जना केन्द्रीय समितिमा रहेका फणिन्द्र आचार्य भने राजनीतिक रुपमा कुनै भूमिकामा छैनन् । उनी माओवादीले जनयुद्ध सञ्चालन गर्ने निर्णय गरेको १९ सदस्यीय केन्द्रीय समितिमा रहेपनि युद्धमा भने सहभागी भएनन् । शान्तिप्रक्रियापछि पुनः माओवादीमा जोडिएका उनी चितवनमा ब्याबसायिक जीवन बिताइरहेका छन् ।
यो पनि पढ्नुस्
दस वर्षे ‘जनयुद्ध’ : राजनीतिक आन्दोलन कि शक्ति आर्जनको दाउ ?
प्रतिक्रिया