काठमाडौं- सरकारका निकायहरुबीच समन्वय नहुँदा हिजो बबरमहल क्षेत्र जलमग्न भयो । हेर्दा सामान्य लागे पनि समन्वयको अभाव, लापर्बाही र अव्यवस्थित शहरीकरणको सन्दर्भमा भने यो प्रतिनिधिमुलक घटना हो यस अर्थमा यो सामान्य घटना होइन । मेलम्चीको पाइप फुटेको कारण त्यहाँ उत्पन्न समस्याको कारण त्यस क्षेत्रमा रहेका सरकारी कार्यालयहरुको काम समेत प्रभावित भयो । काठमाडौं जिल्ला अदालतले त सुचना नै निकालेर दैनिक पेशी समेत अर्को सूचना नभएसम्मको लागि स्थगित गर्यो ।
यस घटनाबाट खानेपानीको पाइप मात्र होइन, अरू संरचनामा पनि समस्या आउँछन्, मर्मत आवश्यक पर्छ भन्ने पाठ सिक्न जरुरी छ । परियोजनाहरुको मर्मत संभारका निम्ति कार्यक्रम बनाइनु र जनपरिचालन त्यसैका निम्ति हो । धन्न बबरमहल क्षेत्रमा जलमग्न हुनुको समस्या तत्कालै समाधान भयो ।
राजधानी समेत रहेको उपत्यकामा एकअर्का निकायहरूबीच समन्वय नहुँदा असाध्यै समस्याहरू देखिने गरेका छन् । बबरमहलमा खानेपानीको पाइप फुट्नुमा विद्युत प्राधिकरणसँग समन्वय नहुनु थियो । भूमिगत तार लैजाने क्रममा खन्दा खानेपानीको पाइप फुटेको थियो ।
विद्युत प्राधिकरणले आफ्नो गल्ती स्वीकार्यो । यदि मेलम्ची खानेपानी आयोजनासँग समन्वय गरिएको थियो भने पाइप फुट्नेगरी मेसिन चल्ने थिएन । तर समन्वय भएन, बबरमहल क्षेत्र जलमग्न हुने परिस्थिति सिर्जना भयो । प्राधिकरण र खानेपानीबीच समन्वय नभए जस्तै सडक विभाग, नेपाल टेलिकम र अरू निकायहरूबीच समन्वय नहुँदा राजधानीबासीले धेरै दुख समस्या भोग्न परिरहेको छ । सडक विभाग र खानेपानीबीच सबभन्दा धेरै समस्या छ । सडक विभागले सडक निर्माण गर्ने, तर तत्कालै खानेपानी आयोजनाले भत्काउने गर्दा सडक सधैं कच्ची र धुलाम्मे हुने गरेको छ । विद्युत प्राधिकरणले सडक भत्काउने क्रम चलिरहेकै हुन्छ । सडक विभागले सडक बनाइरहेकै हुन्छ । स्थानीय सरकार, प्रदेश र अरु संरचनाबाट बनाउने सडकप्रति आवश्यक समन्वय भइरहेको हुँदैन ।
यसरी सरकारी निकायबीच एक अर्कामा समन्वय नहुँदा सर्वसाधारणले समस्या मात्र हैन देशले पनि आर्थिक क्षति बेहोर्नु परिरहे छ । कतिपय अवस्थामा त सर्वसाधरणका निम्ति ज्यानमारा धराप नै हुने गरेको छ । तर आवश्यक समन्वय गर्नेतर्फ पहलकदमी देखिदैन । बरू दुरी बढाउने काम भइरहेको छ ।
स्थानीय सरकार, संघीय सरकार र अन्य सरोकारवाला पक्षकाबीच उपयुक्त सहकार्य र समन्वय हसन सकेमा नागरिकहरुले अनावश्यक समस्या झेल्नु पर्दैन । तर यस दिशातर्फ हाम्रा संस्था तथा सरकारहरु अग्रसर देखिंदैनन् । बरु अनब बखेडा झिकेर दुरी बढाउने काम गरिरहेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले संघीय सरकारसँग जानाजान दुरी बढाउन चाहिरहेको देखिन्छ । गठबन्धन सरकार हुने भएकाले एकअर्का मन्त्रीहरूबीच समस्या छ । अझ अस्थिर सरकार हुनुको नोक्सानी एउटै मन्त्रालयले पनि स्थिर योजना अगाडि बढाउन सकिरहेको छैन । त्यसैले बबरमहल प्रकरण राजधानीमा असमन्वयका कारण निम्तिएको एउटा उदाहरणीय समस्या हो । यसतर्फ जिम्मेवार निकाय तथा नेतृत्वले आवश्यक ध्यान दिन जरूरी छ ।
प्रतिक्रिया