काठमाडौं- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेर पार्टी नेतृत्वको पक्षमा कित्ताकाट हुन आह्वान गरेका थिए ।
उनले मंगलबार कर्णाली प्रदेश समितिको सातौँ बैठकमा कार्यकर्ताहरुलाई नेतृत्वको पक्षमा कित्ताकाट हुन आह्वान गर्दै उपमहासचिव जनार्दन शर्मा लक्षित अभिव्यक्ति दिएका थिए ।पछिल्लो समय पार्टीमा आफूलाई चुनौती दिन थालेका उपमहासचिव शर्माको पक्षमा नलागेर आफ्नो पक्षमा उभिन प्रचण्डले नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।
यसको प्रतिवाद गर्दै उपमहासचिव शर्माले आफ्नै गृह जिल्ला कर्णाली प्रदेशको रुकुम पश्चिमबाटै सबै नेता कार्यकर्तालाई पार्टीमा गोलबन्द हुन आग्रह गरेका छन् । बिहीबार जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिम पुगेका शर्माले त्यहाँ आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै सबै नेता कार्यकर्तालाई कतै कित्ताकाट नभएर पार्टीमा गोलबन्द हुन आग्रह गरेका हुन् ।
जनयुद्ध दिवसको अवसरमा उपमहासचिव शर्माको गृह जिल्ला रुकुम पश्चिममा बृहत सांस्कृतिक कार्यक्रम सहित गुरिल्ला दौड प्रतियोगिताको आयोजना गरिएको थियो । माओवादीमा प्रचण्डको एकाधिकार विरुद्ध शर्माले लोकतान्त्रिकरणको प्रस्ताव अघि बढाएका छन् । त्यसकै उपज प्रचण्ड शर्माप्रति अनुदार बन्दै आएका छन् ।
पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को निर्वाचनमा उपमहासचिव शर्मा पक्षधरको उल्लेख्य उपस्थिति भएपछि प्रचण्ड सशंकित भएका छन् । पार्टीमा शर्माको बढ्दो प्रभावपछि प्रचण्डले नेताकार्यकर्तालाई आफ्नो पक्षमा खुलेर लाग्न आग्रह गर्दै आएका छन् ।
प्रतिक्रिया