३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत् आयोजनाको ग्रीड कनेक्सन सम्झौता सम्पन्न

मंगलबार, ०६ फागुन २०८१, ११ : ०३

काठमाडौं - ताप्लेजुङमा निर्माण हुने  ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत् आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी प्राली र नेपाल विद्युत् प्राधिकरणबीच कनेक्सन एग्रिमेन्टमा हस्ताक्षर भएको हो । 

आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मध्य घुन्सा खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको निर्माणाधिन २२०\१३२ केभी हाङ्गपाङ्ग सब–स्टेसनमा जोडिनेछ । 

त्यसका लागि आयोजनाले साढे ६ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारणलाईन निर्माण गर्नेछ । त्यसमा  १३२\२२० केभीएको ट्रान्सफर्मर जडान गरी प्राधिकरणको प्रणालीमा २२० केभीमा विद्युत् प्रवाह गर्नेछ ।ताप्लेजुङको फत्तालुङ गाउँपालिकामा निर्माण हुने आयोजना सन २०२६ मा निर्माण सुरु गरी सन २०२९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख उज्वल श्रेष्ठले जानकारी दिए ।

ग्रसहेड १५८ मिटर रहेको आयोजनाको डिजाइन डिस्चार्ज २२.६ रहेको छ । ३ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने आयोजनाको १७५० मिटर टनेल र २५० मिटर पेनस्टक पाइप रहनेछ । आयोजनाको विद्युत् गृह अर्धभूमिगत रहनेछ भने विद्युतगृहमा १५.१२ मेगावाट क्षमताका २ वटा टर्बाइन रहनेछन् । आयोजनाले वार्षिक रुपमा १७५ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ ।
 

मंगलबार, ०६ फागुन २०८१, ११ : ०३

प्रतिक्रिया