काठमाडौं - विश्वको महाशक्ति अमेरिकामा पनि अतिगरिबीको अवस्था बढेर गएको सुन्दा मानिसहरुलाई आश्चर्य लाग्न सक्छ । तर सत्य यही हो । अहिले अमेरिकामा घरबारविहीनको संख्या बढ्दै गएको छ ।
एक अध्ययन प्रतिवेदेनले जनाए अनुसार विकसित र शक्तिशाली मुलुकको अग्रस्थानमा रहेको अमेरिकामा बर्सेनि घरबारविहीनको संख्या बढ्दो छ । सामाजिक, आर्थिक, विकासका पूर्वाधार र राजनीतिक रूपमा विकसित अमेरिकामा अतिगरिबीको अवस्था नाघेपछि हुने घरबारविहीनको संख्या बर्सेनि बढ्दै गएको हो ।
नेपाल जस्ता कम विकसित मुलुकका मानिसहरु अमेरिकालाई सपनाको मुलुक ठान्ने गर्दछन् । उनीहरु त्यहाँ त कुनै पनि समस्या नभएको भन्ने पनि ठान्दछन् । विश्वमा आफ्नो प्रभुत्व जमाइरहेको अमेरिकामा पनि गरिबीको अवस्था बढेको थहा पाउँदा बाँकी विश्वलाई आश्चर्य लाग्ने नै भयो । यो अनुमानलाई युएस डिपार्टमेन्ट एन्ड हाउसिङ अर्बन डेभलपमेन्ट (एचडीयू) ले सन् २०२४ मा गरेको गणनाले गलत सावित गरिदिएको छ । उक्त गणना अनुसार अमेरिकामा हाल ७ लाख ७१ हजार ४ सय ८० जना पूर्ण रूपमा घरबारविहीन छन् ।
हालै डोनाल्ड ट्रम्प सत्तामा आएपछि अमेरिकी अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक हुन थालेको छ । उनले संसारका विभिन्न मुलुकमा अमेरिकाले दिदै आएको अनुदान रोकेका छन् । उनले यसरी दिएको अनुदामा व्यापक ठगी र भ्रष्टाचार भएको आरोप लगाएका छन् । ट्रम्पले अमेरिकी संसदलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । उनको कदमबाट अमेरिकी नागरिकमा खुशी छाएको पाइन्छ । देशको आन्तरिक अवस्था जर्जर रहे पनि पूर्ववर्ति सरकारले जथाभावि डलर बाँडेको ट्रम्पको दाबी छ ।
करिब ३२ करोड जनसंख्या रहेको अमेरिकामा १२ वर्षको अन्तरालमा घरबारविहीनको संख्यामा उतारचढाव देखिए पनि तुलनात्मक रूपमा बढेको एचडीयूको दाबी छ । ब्यागप्याक बेड नामक संस्थामार्फत एचडीयूले सार्वजनिक गरेको उक्त तथ्यांकमा २०१२ देखि २०१६ सम्म अमेरिकामा घरबारविहीन हुनेको संख्या घटिरहँदा २०१७ देखि २०२४ सम्ममा भने यो संख्या बर्सेनि बढेको देखिन्छ ।
अमेरिकाले आफ्नो बारेमा भन्दा पनि अन्य मुलुकको आन्तरिक अवस्थामा चलखेल गरेको कारण अमेरिकी अर्थतन्त्र कमजोर बनेको त्यहाँका वौद्धिक तथा अर्थविद्हरुले बताउने गरेका छन् । अर्काको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गर्दा आफ्नो अवस्था निकै जर्जर बनेको भन्दै अघिल्लो सरकारको आलोचना हुने गरेको छ ।
प्रतिक्रिया