काठमाडौं - भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले फ्रेबुअरी १६ तारिख (फागुन ४ गते ) आफू बस्ने होस्टलको कोठामा आत्महत्या गरेसँगै उत्पन्न भएको असहज परिस्थितिले नेपाली विद्यार्थीको मनोविज्ञान नराम्रोसँग प्रभावित भएको छ । सोही विश्वविद्यालयमा अध्ययनरत अन्य विद्यार्थीहरुले पनि नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहार अझै पनि भुल्न सकिरहेका छैनन् ।
यस घटनाले विदेशमा पढ्ने नेपाली विद्यार्थीहरुमाथि गम्भीर सुरक्षा चुनौति थपिएको महशुस भएको छ । प्रकृतिको आत्महत्या प्रकरणपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरुमाथि गरेको व्यवहार नेपाल –भारत सम्बन्धलाई असर पुर्याउने खालको छ । उक्त विश्वविद्यालयका दुई महिला कर्मचारीले व्यक्त गरेको अभिव्यक्तिले नेपालको सार्वभौमिकतामाथि नै आँच पुगेको छ । नेपाल सरकारले उक्त हर्कतको कडा प्रतिवाद गर्नुपर्दछ । कुनै पनि मुलुकको सार्वभौमसत्ता सानो र ठूलो हुँदैन । भारत सरकार र त्यहाँका विश्वविद्यालयहरुले बुझ्नुपर्दछ, आजको दुनियाँमा उच्च शिक्षा हासिल गर्न भारत मात्र छैन । नेपाली विद्यार्थीहरु कसैको दया, माया र निगाहमा भारतमा पढ्न गएका होइनन् । उनीहरु विश्वविद्यालयले निर्धारण गरेको मापदण्ड पुरा गरेर पढ्न गएका हुन ।
अहिले पनि पनि भारतमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु पढ्न जान्छन् । नेपाल सरकारको अनुमति लिएर बर्सेनि ५ हजार हाराहारी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भारत जाने गरेका छन् । अनुमति नलिई भारतका शिक्षण संस्थामा पढ्न जाने विद्यार्थीको संख्या त्योभन्दा बढी रहेको सरकारी अधिकारीहरू नै बताउँछन् । तर यकिन तथ्याङ्क भने छैन ।
शिक्षा मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका ८ महिनामा विभिन्न मुलुकमा अध्ययन गर्न भनेर ६६ हजार विद्यार्थीले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्राप्त गरेका छन् । त्यसमध्ये ४ हजार ३ सय ७३ विद्यार्थी भारत गएका छन् । ०८०/८१ मा ५ हजार ९ सय १० छात्रछात्रा भारत गएको शिक्षा मन्त्रालयले जनाएको छ । नेपाली विद्यार्थी एनओसी नलिई पनि भारत पढ्न जाने गरेको मन्त्रालयको भनाइ छ ।
विदेशी मुद्रा सटही र भिसा प्रयोजनका लागि एनओसी आवश्यक हुन्छ । भारतको हकमा मुद्रा सटही सहज छ भने नेपाली नागरिकलाई भिसा पनि चाहिँदैन । नेपाल शैक्षिक परामर्श संघ नेपाल (इक्यान) का अनुसार एनओसी लिएर र नलिई वार्षिक १५ हजार नेपाली विद्यार्थी भारत पुग्ने गरेका छन् ।
एक अध्ययन अनुसार भारतमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपालीको संख्या सबैभन्दा बढी पाइएको छ । भारतमा पढ्ने विदेशी विद्यार्थीमध्ये २५ देखि ३० प्रतिशत नेपाली हुने गरेका छन् ।नेपाली विद्यार्थीहरु शैक्षिक कन्सल्टेन्सीमार्फत र सिधै भारतका विश्वविद्यालय र कलेजमा पुग्ने गरेका छन् ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु र त्यसबाट सिर्जित घटनापछि शिक्षा मन्त्रालयले भारत गएका विद्यार्थीको संख्या खोज्न् थालेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरेर भारतका विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीमा उत्पन्न हुन सक्ने त्रास, अन्योल, मनोविज्ञानमा पर्ने प्रभावलाई समेत ख्याल गरी केआईआईटीको पठनपाठन पूर्ववत् सञ्चालन गराउने व्यवस्था मिलाउन भारत सरकारको ध्यानाकर्षण गराएको छ । यस विषयमा भारत सरकार जिम्मेवार र गम्भीर बन्न आवश्यक छ । अन्यथा सरकारले भारतमा उच्च शिक्षाको लागि जाने अनुमति रोक्नुपर्दछ । भारत एकमात्र विकल्प होइन भन्ने कुरा नेपाल र नेपालीले बुझिसकेका छन् । स्वार्थ एकतर्फी मात्र हुँदैन । तसर्थ, नेपाली विद्यार्थीमाथि भएको उनीहरुको दुव्र्यव्यवहार बन्द मात्र होइन क्षमायाचना पनि गर्नुपर्दछ । नेपाल सरकारले पनि आफ्ना नागरिकको सुरक्षा र आत्मसम्मानमाथि कुनै पक्षबाट पनि खेलवाड नहोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया