काठमाडौं - कुनै पनि मुलुकको अर्थव्यवस्थाको विकासमा केन्द्रीय बैकको महत्वपूर्ण र निर्णायक भूमिका हुने गर्दछ । सरकारका आर्थिक नीतिहरुलाई कार्यान्वयन गर्दै अर्थतन्त्र चलायमान गराउने जिम्मेवार निकाय राष्ट्र बैंक नै हो । सरकार, अर्थमन्त्री र गभर्नरको कामको लय मिलेपछि मात्र मुलुकको अर्थव्यवस्थाले सकारात्मक फड्को मार्न सक्छ ।
तर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यशैली भने सरकारका नीतिहरुलाई सघाउने खालका देखिदैनन् । अघिल्लो सरकारका अर्थमन्त्रीलाई पनि उनले अप्ठेरो पारेका थिए । उनी राष्ट्र बैंकलाई आफ्नो स्वार्थ सिद्ध गर्ने माध्यम बनाउँदै आएका छन् । उनकै कारण मुलुकले आर्थिक मन्दीको चर्को मार खेप्दै आएको छ । बजारमा पैंसाको अभाव हुने र बैंकहरुमा पैसा थुप्रिने अवस्था उनैले सिर्जना गरेका हुन । आर्थिक मन्दीको कारण नागरिकको जीवन कष्टकर बनेको छ । आर्थिक क्रियाकलापहरु निकै सुस्त गतिमा चलिरहेका छन् । मुलुकमा लगानीको वातावरण नभएर भएका उद्योगधन्दा पनि रुग्न अवस्थामा छन् भने कतिपय बन्द छन् । जसको कारण युवा जनशक्ति विदेशिने क्रम बढेको छ ।
आज मुलुकको आर्थिक छवि अन्तराष्ट्रिय जगतमा नकारात्मक छ । ‘ग्रे लिष्ट’ मा परेको कारण अवस्थामा सुधार नआए आर्थिक नाकाबन्दीसम्म हुने खतरा छ । यसको कारण पनि गभर्नर अधिकारी नै हुन । अर्थतन्त्र सबल हुनु वा दुर्बल हुनुमा राष्ट्र बैंकको मुख्य भूमिका हुने गर्दछ । राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीति समीक्षामा पेट्रोलियम गाडीमा कर्जाको सीमा बढाइएको छ भने देशमा उत्पादित बिजुलीबाट चल्ने गाडी आयातलाई निरुत्साहित गर्न कर्जा सीमा घटाइएको छ । आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने राज्यको नीति हुनुपर्ने हो । तर राष्ट्र बैंकले यो आवश्यकता ठानेन वा गर्न चाहेन ।
मौद्रिक नीति मार्फत् अहिलेको गभर्नरले डिजेल र पेट्रोलबाट चल्ने गाडीबाट करोडौं रकम असुलेको हुनुपर्दछ । नयाँ मौद्रिक नीतिले बैंकहरुमा थुप्रेको लगानीयोग्य तरलता झण्डै सात खर्ब बजारमा ल्याउने योजना बनाउनु पर्दथ्यो । तर मौद्रिक नीतिमा त्यो योजना आएन । यसले अर्थतन्त्रलाई झनै संकुचित बनाउने अवस्था देखिएको छ ।
गभर्नर अधिकारीले मौद्रिक नीति मार्फत् गम्भीर आर्थिक अपराध गरेका छन् । नीति नै बनाएर अर्थतन्त्र ध्वस्त बनाउने गभर्नर सम्भवत : कुनै सरकारको लागि पनि अनुकूल छैनन् । प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको लागि पनि उनी घाँडो बनेको बताइन्छ । उनले गरेको काम राष्ट्रघाती पनि छ । त्यसैले नेपाल राष्ट्र बैंकका गभर्नरलाई नीतिगत भ्रष्टाचार गरेको अभियोगमा तत्काल पक्राउ गरी भ्रष्टाचारको मुद्धा दर्ता गर्नुपर्दछ । तर यस्तो गम्भीर र मुलुकलाई दीर्घकालीन असर पर्ने आर्थिक घोटालाको विषयमा कसैले केही बोलेको छैन । यो देशकै लागि दुर्भाग्य मान्नुपर्दछ ।
प्रतिक्रिया