काठमाडौं- नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले आफ्नो महाधिवेशनमा अन्य दललाई आमन्त्रण नगर्ने भएको छ । आज(बिहीबार)देखि भक्तपुरमा सुरु भएको आठौं महाधिवेशनमा अन्य कुनै पनि दललाई अतिथिका रुपमा निम्त्याइएको छैन ।
यस अघि डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले पुराना राजनीतिक दललाई आमन्त्रण नगरी आफ्नो महाधिवेशन सम्पन्न गरेको थियो ।नेसपा(नयाँ शक्ति)ले आफ्नो प्रथम महाधिवेशनमा समकालीन दलका नेताहरुलाई आमन्त्रण नगरेरै नयाँ दललाई मात्रै बोलाएको थियो । वैकल्पिक राजनीतिको अभ्यासमा जोड दिइएकाले पुराना दललाई नबोलाइएको अध्यक्ष भट्टराईले बताएका थिए ।
नेपालको कम्युनिष्ट आन्दोलनमा भक्तपुरमा प्रभाव क्षेत्र कायम राखेको पुरानो वामपंथी दलले अन्य कम्युनिष्ट पार्टीहरुमा कम्युनिष्ट चरित्र नभएको बताउँदै आएको छ । नेमकिपाले पनि आफ्नो आठौं महाधिवेशनमा समकालीन दलहरु कसैलाई पनि नबोलाएर महाधिवेशन गर्न लागेको सचिव प्रेम सुवालले जानकारी दिए ।
उनले पुराना दलहरु सबै भ्रष्ट भएको र कम्युनिष्ट नामधारी दलहरुमा पनि कम्युनिष्ट चरित्र नभएकाले कसैलाई नबोलाइएको बताए ।
प्रतिक्रिया