काठमाडौं- मधेशमा खस्किएको जनाधार फर्काउने भन्दै नेकपा(माओवादी केन्द्र)ले एक महिने तराई मधेश जागरण अभियान सुरु गरेको छ । फागुन १२ गतेदेखि कोशी प्रदेशको झापाबाट सुरु गरिएको उक्त अभियान मधेश प्रदेशको सप्तरी, सिराहा हुँदै आइतबार धनुषामा पुगेर तीन दिनका लागि स्थगित गरिएको छ । अब २२ गतेदेखि महोत्तरीबाट पुनः निरन्तरता दिइने माओवादीले जनाएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अधिकांश पदाधिकारीहरु यस अभियानमा सक्रियरुपले सहभागी भएका छन् । अभियान अवधिभर नेताहरु जनताकै घरदैलोमा पुगेर उनीहरुसँगै बास बसेका थिए । अभियानभर होटेलमा नबसेर जनतासँगै बस्ने माओवादीको घोषित नीति अनुसार अध्यक्ष प्रचण्डसहित नेताहरु जनताकै घरमै पुगेर खाना खाने र त्यही बास बस्ने गर्दै आएका छन् ।
कुनै समय मधेशमा माओवादीको बलियो जनाधार रहेको थियो । सिराहाबाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित समेत भएका थिए । तर, गत निर्वाचनको मतपरिणामले भने माओवादीको अवस्था निकै कमजोर देखिएको छ । तराई मधेश जागरणअभियानले जनतासँग टुटेको सम्बन्ध जोडिने र पार्टीमा सांगठनिक उभार आउने अपेक्षा माओवादी नेताहरुले गरेका छन् ।
यस अभियानले मात्रै माओवादी पूर्ववत अवस्थामा फर्किने अवस्था न्यून रहेको मधेशका पूर्वमाओवादी नेता एवं पत्रकार रामरिझन यादव बताउँछन् । यो अभियानले पार्टीभित्र व्याप्त गुटबन्दीको अन्त्य नगर्ने हुँदा सांगठनिक उभार आउने सम्भावना न्यून रहेको उनको निचोड छ ।
उनी भन्छन्, ‘पार्टी बन्न मूल कुरा आन्तरिक पक्ष नै बलियो र चलायमान हुन आवश्यक छ । तर मधेशमा माओवादीको दुई समूहहरु समानान्तर गतिविधिमै सक्रिय रहेर संगठन निष्कृय जस्तै बनेको छ । ’
उनले मधेशमा साविकको माओवादी र पूर्व एकताकेन्द्रको गुटले पार्टी संगठन भद्रगोल भएको बताए । बाह्य कार्यक्रममा जनताको सहभागितालाई लिएर मात्रै संगठन बलियो नहुने उनको तर्क छ ।
मधेशमा एकातिर जनमत गुमाएर माओवादी कमजोर बन्दै गइरहेको छ भने त्यसैमाथि आन्तरिक गुटबन्दीले पनि सांगठनिक गतिरोध उत्पन्न भएको छ । माओवादीभित्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको पूर्व एकताकेन्द्र समूहको छुट्टै बलियो गुट सक्रिय रहेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ निकटका नेताहरुले त्यहाँ आफ्नो पूर्ववत गुटमार्फत समानान्तर गतिविधि गर्दै आएका छन् ।
माओवादीभित्र एकता प्रक्रियाबाट आएको पूर्वएकताकेन्द्र समूह र जनयुद्धकालीन माओवादीबीचको गुटकै लडाइँले मधेशमा अझैंसम्म प्रदेश कमिटी गठन हुन सकेको छैन भने जिल्लाहरुमा पनि आपसी सहमति नजुट्दा पार्टीको सांगठनिक संरचनाले समेत पूर्णता पाएको छैन ।
यहीबीचमा माओवादीको भर्खरै तोकिएको कार्यविभाजनमा मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी मातृका यादवलाई दिइएको छ । उनी मधेशकै धनुषा जिल्लाका माओवादी नेता हुन् । त्यस अघि लिलामणि पोखरेलले इन्चार्जको जिम्मेवारी पाएका थिए ।
पोखरेलले आफ्नो कार्यकालमा मधेशमा समन्वयकारी भूमिका निर्वाह गर्दै दुबै गुटलाई मिलाएर लैजान असफल भएपछि भूगोलकै नेता यादवलाई ईन्चार्ज बनाइएकोे हो । पाखरेल आफैं पूर्व एकता केन्द्र समूहकै नेता भएकाले माओवादी पक्षधरहरुले असहयोग गर्दा मधेशमा सर्वस्वीकार्य हुन नसकेको बताइन्छ । यद्यपि, पछिल्लो समय वरिष्ठ उपाध्यक्ष श्रेष्ठसँग लिलामणि पोखरेल असन्तुष्ट रहेर प्रचण्डसँग निकट भएको माओवादी वृत्तमा चर्चा छ ।
यस अघि पनि पूर्व एकताकेन्द्र पक्षकै गिरिराजमणि पोखरेल इन्चार्ज हुँदा मातृका यादव समूहले उनलाई अस्वीकार गर्दा संस्थागतरुपमा पार्टीको कार्यक्रम हुन सकेको थिएन । त्यस समयमा पार्टीगत भन्दा पनि गुटगत कार्यक्रम हाबी भएको थियो ।
पार्टी चलायमान बनाउन व्यवस्थित संगठन र नेता कार्यकर्तालाई उचित भूमिका सहित परिचालन गर्न नसक्दा मधेशमा माओवादीको सांगठनिक अवस्था अस्तव्यस्त बनेको मधेश प्रदेश इन्चार्ज मातृका यादव स्वीकार्छन् । जागरण अभियानमा भने नेता कार्यकर्ता सामूहिकरुपमै पार्टी बनाउन प्रतिबद्ध भएर लागेको उनी बताउँछन् ।
मधेश प्रदेश इन्चार्ज यादव भन्छन्, ‘मधेश प्रदेशमा पार्टीभित्र केही समस्याहरु पहिल्यैदेखि थिए । तर अहिलेको जागरण अभियानले नेता कार्यकर्तालाई पार्टीमै गोलबन्द गरी एकताबद्ध बनाउन सबै लागेका छौं । ’
अब मधेशमा कुनै गुट नहुने र सबै पार्टीमै एकताबद्ध हुने उनले दाबी गरे । यस अभियानले सांगठनिक जीवनमा उभार ल्याउनेमा उनी आशावादी छन् । तराई मधेश जागरण अभियानले गुटबन्दीको अन्त्य गरी संगठन मजबुद बनाउन उल्लेख्य भूमिका खेल्ने यादवको जिकिर छ ।
तर, यही अभियानका हरेक कार्यक्रममा समेत गुटगत प्रभाव देखिएको माओवादी स्रोत बताउँछ । पछिल्लो जागरण अभियानका क्रममा मधेशका जिल्लाहरुमा पार्टीभित्र लोकतान्त्रिकरणको प्रस्ताव राखेका उपमहासचिव जनार्दन शर्मालाई बोल्न नदिइएको विषय व्यापकरुपमा उठेको छ ।
माओवादीमा प्रवेश गरिनसकेका तर भित्रिने अन्तिम तयारीमा रहेका नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष महिन्द्रराय यादवलाई प्राथमिकता दिएर बोल्न दिइएको तर पार्टीकै अन्य नेताहरुलाई भने समय नदिएको भन्दै कतिपय नेताहरुले कार्यक्रम स्थलमै असन्तुष्टि व्यक्त गरेका थिए ।
मधेशको कार्यक्रममा अध्यक्ष प्रचण्डसहित प्रदेश इन्चार्ज रहेका मातृका यादव, नेसपा अध्यक्ष महिन्द्रराय यादव र पार्टी उपाध्यक्ष पम्फा भुसाललाई मात्रै बोल्न दिइएको छ । र, अन्य नेताहरुका लागि कार्यक्रममा सम्बोधन गर्न समय नछुट्याइए पछि गुटगत प्रभाव सतहमै आएको नेताहरु बताउँछन् ।
मधेश इन्चार्ज यादवको गृह जिल्ला धनुषामा उपमहासचिव शर्मा लगायतका नेताहरु स्थानीय नेता कार्यकर्ताको घरमा बस्ने तयारी गर्दा गुटगत गतिविधि गर्ने भयले त्यहाँ बस्न नदिई प्रदेश इन्चार्ज यादवले आफ्नै घरमा लैजानै प्रयत्न गरेका थिए ।
उनले पार्टी कार्यकर्ताको घरमा बसेका नेताहरुलाई आआफ्नै तवरले कार्यकर्तामाझ बसेर गुटगत गतिविधि गर्न पाइदैन भन्दै आफ्नो घरमै बास बसाल्ने प्रबन्ध गरेको बताएका थिए । तर, नेताहरुले कार्यकर्ताकै घरमा बस्ने अडान लिएपछि यादव रुष्ट भएर फर्किएको माओवादीका एक पदाधिकारीले सुनाए ।
प्रदेश ईन्चार्ज यादव भने यस अभियानभर गुटगत गतिविधिमा आफू कतै सहभागी नभएको दाबी गर्छन् । उनले यस अभियानमा कहीँकतै पनि पनि गुटको छनक नदेखिएको र सबै अभियान सफल पार्न लागेको बताए ।
प्रचण्डसहितका नेताहरुले सक्रियता बढाए पनि पार्टीको आन्तरिक किचलो र मधेशमा जनताको अविश्वासले पुरानो साख फर्किन निकै कठीन छ । माओवादी सचिव राम कार्की पनि बाहिरी भीडभाड र औपचारिक कार्यक्रममा जनताको उपस्थितिले मात्रै संगठन बलियो हुनेमा विश्वस्त छैनन् । उनी बाह्य भीडभाड भन्दा पनि पार्टीको सांगठनिक जीवनमा आउने सकारात्मक परिणामका आधारमा मात्रै अभियानको उपलब्धी निक्र्योल हुने बताउँछन् ।
‘जनतासँग जोडिने माध्यम त बनेको छ तर यसले मात्रै गुमेको साख फर्किनेमा विश्वस्त हुन सकिँदैन’, सचिव कार्कीले भने,‘माओवादीप्रतिको आशा पुनःजागृत हुन थाले पनि यत्तिले मात्रै पुग्दैन, अब व्यवहारमै रुपान्तरित भएर परिणाम दिन जरुरी छ । ’
प्रतिक्रिया