काठमाडौं- रसुवागडी जलविद्युत आयोजनामा टेण्डर आह्वान नगरेरै आयोजना प्रमुख र उर्जामन्त्रीको मिलेमतोमा करोडौंको कवाडका सामग्री बिक्री गर्ने अनुमति दिइएको छ ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निर्देशनमा आयोजना प्रमुख छवि गैरेले बोलपत्र आह्वान नगरेर हाइड्रोका कवाड सामग्री बिक्री गर्न लागेका हुन् । उर्जामन्त्री खड्काको ठाडो निर्देशनमा आयोजना प्रमुख गैरेले टेण्डर नखुलाएर समर सप्लाइज नामक कम्पनीलाई कवाड सामग्री दिलाउन लागेका हुन् ।
यस अघिका तत्कालीन उर्जा मन्त्री शक्ति बस्नेत र पम्फा भुसालले समेत कवाड बिक्रीका लागि पत्र पठाउँदा समेत कवाड सामग्री बिक्री गर्न प्रमुख गैरेले अनुमति दिएका थिएनन् । तर, यसपाली उर्जा मन्त्री खड्काको निर्देशनमा आयोजना प्रमुख गैरेले स्थानीयलाई कुनै जानकारी नै नदिएर बिना सूचना कवाड बिक्री गर्ने अनुमति दिन तयार भएका हुन् ।
सरकारी परियोजनाका हरेक सामग्री खरिद बिक्री गर्न सार्वजनिक सूचना जारी गर्नुपर्ने प्रावधान छ । तर, आयोजना प्रमुख गैरेले उर्जा मन्त्रीको निर्देशनमा झापाका क्षितिज देवानको समर स्पलाइज कम्पनीलाई कवाड बिक्री गर्ने निर्णय गरेका हुन् ।
देवान एमाले नेता प्रदीप नेपालका साला हुन् । उनको उर्जा मन्त्री खड्कासँग विभिन्न व्यवसायमा साझेदारी रहेको बताइन्छ ।
परियोजना प्रमुख गैरेले मनोमानी ढंगले बिना सूचना कवाड सामग्री देवानलाई बिक्री गर्ने निर्णय गरेपछि रसुवाका स्थानीय र अन्य सरोकारवालाले अवरोध गरेका छन् । स्थानीयको अवरोधले तत्कालका लागि कवाड सामग्री बिक्री गर्न भने रोकिएको छ ।
रसुवागडी जलविद्युत परियोजना प्रमुख गैरेले विद्युत परियोजनाका लागि खरिद गरिएका अत्यावश्यक सामग्रीमा समेत अनियमितता गर्दै आएका छन् । उनले परियोजनाका लागि खरिद गरिएका सामग्री पुराना बनाएर त्यसबाट बीमा बापतको रकम लिएको पाइएको छ ।
स्रोतका अनुसार गैरेले खरिद गरिएका सामग्री गोदाममा थन्क्याएर कवाड बनाई सो सामग्रीको बीमा बापतको रकम लिएर मात्रै परियोजनामा प्रयोग गर्ने गरेका छन् ।
यसरी बिमा रकम असुली गरी योजनाबद्ध रुपमा निर्माण सामग्री पुराना बनाएर गैरेले मोटो रकम लिँदै आएको परियोजना स्रोतको दाबी छ ।
यस बारेमा जानकारी लिन उनै आयोजना प्र्मुख गैरेसँग सम्पर्क गर्ने प्रयास गर्दा उनी सम्पर्कमै आउन चाहेनन् ।
कवाड खरिदकर्ता समर सप्लाइजका देवानलाई सम्पर्क गर्दा उनले सरकारी परियोजनाको सामग्री नभई परियोजनामा कार्यरत ठेकेदार कम्पनीको कवाड सामग्री खरिद गर्न लागेको दाबी गरे । देवानले सरकारी परियोजनाको निर्माण सामग्री नभएर परियोजना निर्माणको जिम्मा लिएको निर्माण कम्पनीमा रहेका कवाड सामग्री खरिद गर्न लागेको बताए ।
प्रतिक्रिया