समाचार टिप्पणी

पूर्वराजाको बढ्दो सक्रियता : नेतृत्वको असक्षमता कि व्यवस्थाप्रति असन्तुष्टि ?

आइतबार, २५ फागुन २०८१, १२ : ३६

काठमाडौं– करिब दुई दशक पछि बढेको पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताले गणतन्त्रवादी दल र तिनका नेताहरु सशंकित भएका छन् । गत फागुन ७ गते पूर्वराजाले आफूलाई साथ दिन देशवासीको नाममा सम्बोधन गरेपछि दलहरु निकै त्रसिएका छन् ।

नेपालबाट राजतन्त्रात्मक बहुदलीय शासन व्यवस्था समाप्ती भएको दुई दशकको अवधिमा पूर्वराजाले धार्मिक गतिविधिमा माधै सक्रियता कायम राखेका थिए । तर, पछिल्लो नेपाली जनतालाई साथ दिन आग्रह गरिएको उनको अभिव्यक्ति निकै अर्थपूर्ण देखिएको छ । 

उनको अभिव्यक्ति र देशव्यापी देखिएको जनलहरले सत्तासीन दलहरु मनोवैज्ञानिकरुपमा त्रस्त भएर प्रतिक्रिया दिन थालेका छन् । गणतन्त्रवादी नेताहरुले वर्तमान व्यवस्थाको बचाउ गर्दै पूर्वराजामाथि नियमन गर्नुपर्ने समेत बताउन थालेका छन् ।

नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पूर्वराजाका गतिविधि नियन्त्रण गर्नुपर्ने टिप्पणी गरेका थिए । प्रमुख  दल कांग्रेस, एमाले, माओवादीले पूर्वराजाको सक्रियताप्रति असन्तुष्टि व्यक्त गर्दै गणतन्त्रको रक्षा गर्न एकताबद्ध हुनेसम्मको तयारीमा छन् ।

यसैबीच पूर्वराजा शाह करिब एक महिना लामो पोखरा भ्रमण सकाएर काठमाडौं फर्किन लाग्दा समेत राष्ट्रिय राजनीति तरंगित बनेको छ । उनी आज पोखराबाट काठमाडौं आउन लागेका छन् । उनको स्वागतार्थ राजसंस्था  पक्षधर दल र समर्थकहरु त्रिभुवन बिमानस्थलमा जम्मा हुन थालेका छन् । दिउँसो तीन बजे काठमाडौं आउने पूर्वराजा शाहलाई विमानस्थलमा स्वागत गरी निर्मल निवासम्म पुर्याइने बताइएको छ । 

नेपालमा गणतन्त्र आएको लामो समय बित्दा पनि जनताहरुले कुनै फरकपन पाउन नसकेपछि असन्तुष्टि चुलिएको हो । त्यसकै उपज पूर्वराजाप्रति आकर्षण बढेको सहजै बुझ्न सकिन्छ । तर, यसतर्फ ध्यान नदिएर नेताहरुले विगतका राजतन्त्रकालीन शासनकालको अवधिलाई चित्रित गर्दै त्यसलाई गलत देखाएर गणतन्त्र सही भएको पुष्टि गर्न उद्यत छन् ।

वर्तमान व्यवस्थाका सकारात्मक कामले जनतालाई गणतन्त्रप्रति अपनत्वबोध कायम गराउन असमर्थ भएका वर्तमान शासकहरु विगत राजतन्त्रकालका गलत प्रवृत्ति देखाएर मात्रै यसको रक्षा गर्न सकिने भ्रममा छन् ।

वर्तमान व्यवस्थाप्रति जनताको अपनत्व कायम गराउन जनपक्षीय काम गर्नुको साटो जनताको असन्तुष्टिलाई मत्थर पार्न विगत देखाइदिने प्रवृत्ति आफ्नो असक्षमताबाट जोगिने उपाय मात्रै हो ।

आइतबार, २५ फागुन २०८१, १२ : ३६

प्रतिक्रिया