काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा देखिएको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोलाई लिएर एमाले उपमहासचिव विष्णु रिमाल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीबीच जुहारी चलेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव रिमाललाई वडाअध्यक्षको चुनाव लड्न राप्रपाका सांसद शाहीले चुनौती दिएका छन् ।
आइतबार पूर्वराजा पोखराबाट काठमाडौं आउने क्रममा स्वागत गर्न पुगेका राजावादीहरुको भीडमा योगीको फोटो समेत देखिएको थियो । उक्त तस्बिरप्रति कटाक्ष गर्दै रिमालले सामाजिक सञ्जालबाट टिप्पणी गरेका थिए । रिमालको टिप्पणीको प्रतिवाद गर्दै सांसद शाहीले उक्त तस्बिर प्रधानमन्त्री केपी ओलीको निर्देशनमा विष्णु रिमालले राख्न लगाएको बताएका थिए ।
त्यसपछि रिमालले काँक्रा चोरले काँक्रा आफैं खाएर बिया अरुको निधारमा टासेको भन्दै जवाफ फर्काएका थिए । रिमालको उक्त जवाफपछि सांसद शाहीले वडाअध्यक्ष लड्न चुनौती दिएका हुन् ।
केपी ओली प्रधानमन्त्री हुँदा सधै राजनीतिक सल्लाहकार हुने रिमाललाई जनमतबाटै अनुमोदित हुने हैसियत समेत नभएको बताएका छन् । ओली रिझाएर सल्लाहकार भएका रिमाल जनतासँग चुनवा फेस गर्ने हिम्मत नभएको आरोप लाग्ने गर्छ ।
अहिले यही विषयलाई लिएर सांसद शाही र रिमालबीच फेसबुकमा जुहारी चलिरहेको छ ।
प्रतिक्रिया