रास्वपामा अन्योलता

सधैं स्टन्ट गरिरहने रवि लामिछाने गुमनाम, राजनीतिक कित्ताकाटमा रास्वपा अझैं अनिर्णित

आइतबार, ०३ चैत्र २०८१, ११ : ०६

काठमाडौं- चर्चामा आउन अनेकौं ‘उपद्रो’ गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का निलम्बित सभापति रवि लामिछाने पछिल्लो समय गुमनाम छन् । सहकारी ठगी प्रकरणमा देशका चार जिल्ला अदालतबाट अदालतपिच्छे धरौटी तिरेरर रिहा भएका उनी पछिल्लो समय कहीँकतै सार्वजनिक रुपमा देखिएका छैनन् । 

सहकारी ठगी प्रकरणमा करिब तीन महिना कास्की प्रहरीको हिरासतमा पुगेर अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा अभियोजन भएपछि उनको सांसद र पार्टी सभापति पद निलम्बन भएको थियो ।

अहिले पार्टी राजनीतिमा समेत नरहेका लामिछानेले सार्वजनिक कार्यक्रममा उपस्थिति जनाएका छैनन् । उनी काठमाडौंको हात्तिगौंडास्थित निवासमा गुमनाम जीवन बिताइरहेका छन् ।

विकसित राजनीतिक घटनाक्रम बारे रास्वपाको स्पष्ट धारणा आउन नसकेको समेत आरोप लाग्न थालेको छ । राजावादीहरुको बढ्दो सक्रियता र गणतन्त्रवादीहरुको प्रतिवाद अभियानमा रास्वपाले आफ्नो सार्वजनिक धारणा अझै प्रस्तुत गर्न सकेको छैन ।

यही परिवेशमा पार्टी सभापति र सांसद पद नै निलम्बनमा परेपछि लामिछाने भूमिगत जस्तै भएका छन् भने उनको पार्टीका अन्य नेताहरुले पनि यस विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

आजभोलि लामिछाने हात्तिगौडास्थित निवासमा पार्टी नेता कार्यकर्तार आफ्ना कानुन व्यवसायीसँग नियमित भेटघाटमै रहेको बताइन्छ । राजनीतिक सक्रियता कायम राख्न उनको निलम्बन फुकुवा हुनुपर्नेछ । तर, अदालतबाट धरौटीमा छुटेर मुद्दाको पुपक्र्ष गरिरहेकाले तत्काल उनको निलम्बन फुकुवा हुने सम्भावना छैन । 

केही दिन अघि मात्रै पोखरामा सञ्चारकर्मीहरुसँग लामिछानेले आफ्नो बोल्ने समय आएपछि सबै कुरा ओकल्ने बताएका थिए । पर्सामा प्रहरीले अनुसन्धान सकाएको उनको मुद्दा दर्ता नगरेर लम्ब्याउन खोजिएको रास्वपाका नेताहरुले बताइरहेका छन् । अन्य जिल्लामा भने लामिछाने धरौटीमा रिहा भएका हुन् । 

कास्की, काठमाडौं, चितवन, रुपन्देही जिल्ला अदालतबाट उनी धरौटीमा रिहा भएर मुद्दाको पुपक्र्ष गरिरहँदा पर्सामा भने अझैं मुद्दा दर्ता नभएपछि अन्योलता छाएको छ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियाले लामिछानेमाथि उठाइएका कानुनी प्रश्न निरुपण हुन बाँकी रहेकाले सार्वजनिक भूमिकामा नदेखिएको बताउँछन् । उनले आफ्नो सभापतिमाथि पर्सामा मुद्धा दर्ता नगरेरै प्रतिशोध साँध्न खोजिएको बताए ।

‘सभापतिज्यूमाथि उठाइएका कानुनी प्रश्नको निरुपण नभएकाले उहाँ (लामिछाने)कानुनी परामर्श र अनौपचारिक भेटघाटमै सीमित रहेर निवासमै बस्नु भएको छ’, उनले आजको अर्थसँग भने,‘ राज्यबाट हामीलाई अलमल्याउने काम भइरहेको छ । पर्सामा मुद्दा दर्ता नगरेर प्रतिशोध साँध्ने काम भएको छ । निलम्बन पनि यथावत रहेकाले सभापतिज्यूको सार्वजनिक उपस्थिति नदेखिएको हो ।’

साथ,ै उनले वर्तमान गणतान्त्रिक व्यवस्थाप्रति रास्वपा प्रतिवबद्ध रहेको बताए । प्रमुख सचेतक परियारले जलेश्वर बैठकबाटै आफूहरु गणतन्त्रको पक्षमा उभिएकाले व्यवस्थाको सन्दर्भमा शंका गर्न आवश्यक नरहेको प्रष्ट पारे ।

‘हामीले जलेश्वर बैठकबाटै दस्तावेजमै गणतन्त्रको पक्षमा घोषित रुपमै उभिने निर्णय गरेका छौ’ं, उनले अगाडि भने,‘हाम्रो प्रस्तावनामै गणतन्त्र र संविधानको रक्षा स्पष्टताका साथ किटान गरेकाले यसबारेमा शंका गर्न आवश्यक छैन ।’


 

आइतबार, ०३ चैत्र २०८१, ११ : ०६

प्रतिक्रिया