सांसद राजन दाहालद्वारा स्ववियु निर्वाचनमा बागी उम्मेदवार खडा

विहीबार, ०७ चैत्र २०८१, १८ : ०५

सिन्धुली- यही चैत ९ गते सिन्धुलीका चार क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू)को निर्वाचनमा रस्साकस्सी बढेको छ ।

सत्तारुढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का बीच सिन्धुली बहुमुखी क्याम्पस ढुंग्रेवास, सिद्धज्योति शिक्षा  क्याम्पस फोस्रेटार, गौतमी बहुमुखी क्याम्पस माढीबजार र भिमज्योति शिक्षा क्याम्पस खुर्कोटमा हुने निर्वाचनमा एमाले सम्बद्ध अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका बीच एलायन्स भएपछि नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ एक्लै चुनावी मैदानमा उभिएको छ । 

यस अगाडि भएको  निर्वाचनमा सिन्धुलीका ७ वटा क्याम्पस मध्ये लाम्पनटार बहुमुखी क्याम्पसमा मात्रै नेविसंघले जित हात पारेको थियो । माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले चारवटा क्याम्पसमा विजय हात पारिसकेको छ भने एमाले सम्बद्ध अनेरास्ववियु २ वटा क्याम्पसमा मात्रै सीमित भएको छ ।

अनेरास्ववियु र अखिल क्रान्तिकारी बीच एलायन्स भएको सिन्धुली बहुमुखी क्याम्पसमा माओवादीको संस्थापन पक्षको विरुद्ध सांसद राजन दाहालले आफ्नै कार्यकर्तालाई स्वतन्त्र उमेदवारका रुपमा सभापतिमा उठाएका छन् । दुई संगठनका बिद्यार्थी नेताहरु बीच भएको सहमति अनुसार सिद्धज्योति र गौमती, भिज्योति र सुनकोशी शिक्षा क्याम्पसमा दुई दुई वटा क्याम्पस लिने सहमति भएको थियो । 

त्यसैगरी सिन्धुली बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुको प्यानलमा सचिव र कोषाध्यक्ष पद लिएर अखिल क्रान्तिकारी स्ववियू निर्वाचनमा जाने सहमति भएपछि सांसद दाहालले आफ्नै संगठन र जिल्ला पार्टीको निर्देशन विपरीत आफ्ना कार्यकर्तालाई सभापति पदमा स्वतन्त्र उमेदवार बनाएको बिबरणहरु सार्वजनिक भएको हो ।

सांसद दाहालसँग यसबारेमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले आफूलाई यो विषयमा केही जानकारी नभएको भन्दै पन्छिए । विद्यार्थीहरुको असन्तुष्टिको विषय आफूसँग जोडेर प्रचार गरिनु गलत हुने उनले बताए ।

यता सोही क्याम्पसमा नेविसंघका तर्फबाट जिल्ला पार्टी सभापति उपेन्द्रकुमार पोखरेलको दबाबमा सभापति पदमा उमेदवार बनेका समिर विक्रम थापा विद्यार्थीहरु माझ ठेकेदारका रुपमा चिनिएपछि चुनावमा नेविसंघका उमेदवारहरुलाई संकट पैदा भएको छ । कमलामाई नगरपालिकाका प्रमुखको विश्वासपात्रका रुपमा रहेर काम गरेको थापाले नरपालिका अगाडिको चिल्ड्रेन पार्क र पार्किङको ठेक्का लिइरहेका छन् । 

कांग्रेस सभापति पक्षीय उमेदवारहरु विजयी नहुने अबस्था आएपछि सिन्धुली बहुमुखी क्याम्पसमा चुनावी प्रक्रिया नै अबरुद्ध गरिनुका साथै अघिल्लो दिन नेविसंघकै अगुवाईमा सिद्धज्योति र गौमतीमा तालाबन्दी गरिएको थियो ।

स्ववियु निर्वाचनमा उम्मेदवार छनोट गर्ने क्रममा पार्टी सभापति हाबी भएपनि नेपाली कांग्रेस सिन्धुलीको इतर पक्षमा भने तिब्र असन्तुष्टि  छाएको छ । सोही कारणले गर्दा सिन्धुली कांग्रेसमा तीव्र बिवाद देखिएको हो ।

विद्यार्थीहरुका समस्यासँग कहिल्यै पनि नजोडिएका थापा भन्दा अनेरास्ववियु र अखिल क्रान्तिकारीका तर्फबाट साझा उमेदवार बनेका तुलसीराम भुजेल निकै लोकप्रिय मानिन्छन् । क्याम्पसमा नियमित बसेर विद्यार्थीहरुको समस्यासँग जोडिंदै आएको भुजेल नेतृत्वको प्यानलले मात्रै विद्यार्थीहरुको समस्या समाधान गर्न सक्ने विद्यार्थी माझ चर्चाको विषय बन्न थालेको छ ।

विहीबार, ०७ चैत्र २०८१, १८ : ०५

प्रतिक्रिया