राजावादीलाई हामी ठीक गरिहाल्छौं : विप्लव

सोमबार, ११ चैत्र २०८१, १५ : ५६

काठमाडौं - राजावादीहरुको आन्दोलनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले मुलुकले एउटा सही निकास खाजेको बताएका छन् । चैत्र १५ गते त सडकमा मुठभेड नै हुने भयो हैन ? भन्ने आजको अर्थको जिज्ञासामा विप्लवले भने, ‘त्यस्तो केही हुँदैन । हामीसँग भिड्न सडकमा को आउँछ र ? हामी ठीक गरिहाल्छौं नि ।’ 

सरकार सञ्चालन गरेका दलहरुको असक्षमताको कारण नागरिकमा आक्रोश र वितृष्णा पैदा भएको स्विकार्दै उनले भने, ‘ यो व्यवस्था र दलहरुका थुप्रै कमी कमजोरी होलान् । जनतामा निराशा पनि बढेको छ । हामीले हिजो जे भनेका थियौं, त्यो गर्न सकिरहेका छैनौं । कम्युनिष्ट पार्टीहरुले राजनीतिक र सांगठनिक कुरा त गर्दै आएका छन् तर आर्थिक प्रणाली र योजना के हो भन्ने स्पष्ट पार्न सकिरहेका छैनन् । हामीले सानै भए पनि सुरुवात गरेका छौं । आत्मनिर्भर पार्टी बनाउने हाम्रो मिशन देखेर विदेशीहरुले पनि धेरै चासो राखेको पाइन्छ । आज सरकार समाजवादी बाटो हिडिरहेको छैन । दल र नेताहरुको जीवनशैलीले आम मानिसहरुमा घृणा पैदा गराएको छ । तर पनि गणतन्त्रभन्दा राजतन्त्र प्रगतिशील हुन सक्तैन । राजा आइहाले पनि उनीसँग मुलुकको संकट समाधान गर्ने के योजना छ ? के राष्ट्रपतिको ठाउँमा राजालाई राख्दैमा समस्याको समाधान हुन्छ , ? त्यसकारण राजावादीहरुको आन्दोलनको कुनै तुक छैन । तर जनतामा किन असन्तुष्टि पैदा भयो भन्ने प्रश्नको जवाफ भने खोज्नुपर्दछ । 

माओवादीसँग पार्टी एकता कहिले हुन्छ भन्ने सन्दर्भमा विप्लवले ‘यथास्थितिमा प्रचण्डजीसित मिल्न सकिंदैन’ भन्ने जवाफ दिंदै भन्छन्‘ एकताको लागि धेरै विषयहरु मिल्नुपर्छ । मुखले भने जस्तो सजिलो छैन एकता । यही अवस्थामा हामी उहाँसित जाने र ठूलो पार्टी देखाउने त्यो हुन सक्तैन । हामी पार्टीलाई आत्मनिर्भर बनाएका छौं । कम्युनिष्ट पार्टीेको अर्थनीति कस्तो हुनुपर्छ भनेर जनतालाई देखाइरहेका छौं । ’  

सोमबार, ११ चैत्र २०८१, १५ : ५६

प्रतिक्रिया