काठमाडौं- सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेपछि चौतर्फी विरोध सुरु भएको छ । सत्ता गठबन्धनदेखि प्रतिपक्षी दललगायत सर्वसाधारणसम्मले कुलमान हटाउने निर्णयको विरोध गरिरहेका छन् ।
पछिल्लो समय वर्तमान व्यवस्थामाथि नै असन्तुष्टि चुलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दीपक खड्काको जोडबलमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । कुलमान बर्खास्तीको निर्णयले आमजनमानसमा ओली सरकारप्रति आक्रोश बढाएको छ ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली र उर्जा मन्त्री खड्काले घिसिङलाई हटाउने उपयुक्त समय आएको भन्दै जसरी भए पनि बर्खास्त गर्नुपर्ने बताएका थिए । उनीहरुको कुलमानको बर्खास्ती प्रस्तावलाई केही मन्त्रीहरुले अहिले हटाउन नहुने अडानमा रहँदा प्रधानमन्त्री ओली र खड्कासँग नोकझोक समेत परेको थियो ।
अन्ततः प्रधानमन्त्री र उर्जामन्त्रीको हटाउनैपर्ने पक्षमा उभिएपछि मन्त्रिपरिषद् बैठकले चार महिना मात्रै पदावधि बाँकी रहँदा घिसिङलाई पदमुक्त गरेको हो । मुलुकको दैनिक १८ घण्टा लोडसेडिङ अन्त्य गरेका घिसिङको बर्खास्ती पछि ओली सरकारले फेरि देशलाई अन्धकारतर्फ लैजान लागेको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन् ।
कतिपयले यसलाई पदावधि बाँकी छँदा प्रचण्डले प्रधानसेनापति रुक्मांगत कटवाललाई बर्खास्त गरे जस्तै ओली सरकारको कुलमान बर्खास्ती पनि त्यस्तै घातक हुने टिप्पणी गरेका छन् । प्रचण्ड २०६५मा पहिलो पटक प्रधानमन्त्री हुँदा छोटो समय पदावधि बाँकी रहेका सेनापति कटवाललाई बर्खास्त गर्ने निर्णयले सरकार त्याग्नुपर्ने अवस्था निम्तिएको थियो । अहिले कुलमानको पनि करिब चार महिना कार्यकाल बाँकी रहँदा नै ओली सरकारले बर्खास्त गरेर चौतर्फी आलोचित भएको छ ।
यसले सत्तारुढ दलभित्रै पनि तीव्र असन्तुष्टि बढाएको छ भने प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिनि मन्त्रिपरिषद बैठकको निर्णय लगत्तै विरोध जनाएका थिए । प्रचण्डले सोमबार भनेका थिए, ‘मन्त्रिपरिषद् बैठकबाट उहाँलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट सार्बजनिक भएको छ । आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु।’
यस्तै सत्ता गठबन्धनकै कांग्रेस नेताहरुले पनि कुलमान बर्खास्तीको निर्णयको विरोध गरेका छन् । कांग्रेस नेता शेखर कोइरालाले सरकारको यो निर्णयलाई कुशासनको कडीका रुपमा टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न। यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरित बुद्धि । ’
यस्तै कांग्रेस महामन्त्री गगन थापाले कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ त्यो असन्तुष्टिलाई सम्बोधन गर्न आगो नै निभाइदेउ भनेर हामी दिन रात नभनी मेहेनत गर्ने सरकार चाहिँ आफैं असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?’
उनले मन्त्री गलत हुँदा प्रधानमन्त्रीले सम्हाल्नुपनेर्मा त्यसो नगरिएको बताउँदै गलत निर्णय गरिएको र उल्टो बाटो हिँडेर गन्तव्यमा नपुगिने सुझाब दिएका छन् ।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि कुलमानलाई हटाउने विषयमा पार्टीमा कुनै सहमति नभएको बताएका छन् । उनले बाँकी पदावधि काम गर्न दिनुपर्ने बताउँदै सरकारको यो निर्णय समुचित नभएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कारबाहीयोग्य भए पछि पनि गर्न मिल्थ्यो, केही राम्रा प्रयास छायाँमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्नथियो ।’
प्रतिक्रिया