काठमाडौं- नेकपा माओवादी केन्द्रले तीनकुनेमा भएको राजवादी समूहको हिंसात्मक आन्दोलनका विषयमा विज्ञप्ति जारी गर्दै आन्दोलनका योजनाकारलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । आज (शनिबार) जारी गर्दै माओवादी केन्द्रले सो आन्दोलन पूर्वराजा ज्ञानेन्द्र शाहको योजनामा भएको दाबी गरेको छ ।
‘यस्ता हिंसात्मक एवं आपराधिक कार्य गर्न/गराउन उक्साउने योजनाकार तथा प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौं,’ माअोवादी केन्द्रले विज्ञप्तिमार्फत् भनेको छ ।
माओवादी केन्द्रले उक्त प्रदर्शनलाई ‘विध्वंशको पराकाष्ट’ को संज्ञा दिएको छ । माओवादीले प्रदर्शनमा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु, निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड, सञ्चार गृह र औषधि कारखानामा आगो लगाउने, डिपार्टमेन्ट स्टोरभित्र पसेर सामानहरु लुट्ने जस्ता डकैतीजन्य, अमानवीय र अराजक कार्यको घोर भ्रत्सना एवं निन्दा गरेको छ ।
प्रतिक्रिया