काठमाडौं - राजसंस्था पुनस्र्थापना गर्ने भन्दै शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनी समेत भएको छ। उक्त घटनामा एक पत्रकार र एक प्रदर्शनकारीले ज्यान गुमाएका छन्।
मृतक रजक एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार हुन् भने महर्जन प्रदर्शनमा सहभागी हुन्। महर्जनलाई घाइते अवस्थामा शिक्षण अस्पताल महाराजगन्ज लगिएकोमा अपराह्न ४ः०५ बजे मृत्यु घोषित गरिएको थियो।
प्रदर्शनका क्रममा ५३ नेपाल प्रहरी र २२ सशस्त्र प्रहरी पनि घाइते छन्। उता प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको प्रहरीले उल्लेख गरेको छ। प्रदर्शन उग्र बनेसँगै प्रदर्शनकारीले १५ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी भएको छ । ।
घटनापछि प्रहरीले दिएको जानकारी अनुसार तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्वल हाउस तीनकुने, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउन्ड, कोटेश्वर चोक, भाटभटेनीनजिकैको सरकारी गाडी, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टीको कार्यालय, बालकुमारीबाट काठमाडौं आउने करिडोर बाटो, बानेश्वर पुलपारिपट्टि, एयरपोर्टको फोहोरा, इन्द्रेणी सहकारीको कार्यालय भवन सिनामंगल, रोयल रेस्टुराँ सिनामंगल र एरोम्याक्सको कार्यालय रहेको भवन सिनामंगलमा आगजनी भएको हो।
प्रदर्शनका क्रममा कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको छ।
पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फागुन २५ गते काठमाडौं फर्कंदा उनको स्वागतमा मानिसहरुको उल्लेख्य उपस्थिति भएपछि उनका समर्थकहरु निकै हौसिएका थिए । त्यसपछि नै उनीहरुले आन्दोलनकै बलमा पूर्वराजालाई गद्दीमा फर्काउने घोषणा गर्दै आएका थिए । त्यसैले राजावादीहरुको शुक्रवारको प्रर्दशन आकस्मिक होइन । सरकारले आवश्यक सजकता र पूर्व तयारी नगर्दा अवस्था भयावह बन्न पुग्यो । त्यसैमा प्रधानमन्त्रीले केही समय पहिलेदेखि नै भड्कावपूर्ण अभिव्यक्ति दिन थाले । कुराको हेक्का नराखी भड्कावपूर्ण अभिव्यक्ति दिइरहे । उनले ‘भारतलाई देखाइदिने र पूर्वराजा ज्ञानेन्द्र शाहलाई थुन्ने’ चेतावनी समेत दिए । यसले आगोमा घीउ थप्ने काम गर्यो । चैत्र तीन गते लोकतन्त्र हाइवे भएको र हाइवेमा ब्याक गेयर नलाग्ने दाबी गर्दै अर्को भड्कावपूर्ण अभिव्यक्ति दिए । नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधनमा उनले भने– ‘डेमोक्रेसी भनेको हाइवे हो । हाइवेमा ब्याक गेयर लगाइँदैन । डेमोक्रेसी इज अ हाइ वे । यसमा ब्याक गेयर लगाइँदैन, अघि बढिन्छ । जुनबेला प्रधानमन्त्री आलीले पूर्वराजाका बारेमा विभिन्न लाञ्छना लगाउँदै वातावरण उत्तेजित बनाउँदै थिए त्यसबेला राजावादी शक्तिहरू प्रदर्शनको लागि एकजुट हुँदै थिए । त्यसको कमान्ड ओली र प्रचण्डकै छत्रछायामा हुर्किएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ थिए । जो, ओली र प्रचण्डलाई ‘मार्सी’ चामलको भात खुवाएर चर्चामा आएका थिए ।
राजावादीको प्रदर्शन प्रहरीसँगको भिडन्तमा परिणत भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गर्यो । प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रदर्शनकारीले पार्टी कार्यालय, निजी घर तथा सञ्चारमाध्यमहरूलाई निशाना बनाए ।
कोटेश्वरस्थित जडिबुटी कारखानामा आगजनी हुँदा कम्तीमा आधा दर्जन गाडी जले । पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालय नजिकै सरकारी नम्बर प्लेट भएको गाडी जलाइएको छ । माओवादी कार्यालयमा तोडफोड र आगजनीको प्रयास समेत भयो ।
विवादस्पद पृष्ठभूमिका दुर्गा प्रसाईं जोडिएपछि आन्दोलन अराजक बन्न सक्ने आँकल थियो, उनले परिस्थिति भड्काउन कोशिश गर्ने विषय समेत छलफलमा उठेको थियो । यसले गृहमन्त्री रमेश लेखक सुरक्षा व्यवस्थामा चुकेको प्रस्ट हुन्छ ।
प्रसाईको कमाण्डिङमा शुक्रबार मच्चाइएको यो आतंकले शायद अब राजावादीहरूको अभियानलाई दशकौं पछाडि धकेलिदिएको छ । राजावादी आन्दोलनलाई नकारात्मक धक्का दिएको छ ।
विस्मृतिमा धकेलिसकेको राजतन्त्रप्रति किन नेपाली जनताले चासो राख्न पुगे भन्ने विषयमा आजका मूलधारका दलहरुले गम्भीर समीक्षा गर्न जरुरी छ । परिवर्तनका बाहकहरुले आफ्नै मुद्दाहरुको स्मरण मात्र गरे पनि स्थिति काबुमा आउन सक्छ । गणतन्त्र भनेको एउटा राजा हटाएर सैयौं राजा जन्माउने व्यवस्था त होइन नि । राजतन्त्र अब फर्कन सक्तैन । फर्किन पनि हुँदैन । यिनै ज्ञानेन्द्रले गरेको शासन भोग्ने मानिसहरु ज्यूँदै छन् । उनमा राजकीय कौशल भएको भए राजतन्त्र समाप्त नहुन पनि सक्थ्यो । त्यसैले अबको विकल्प भनेको राजतन्त्र होइन । गणतन्त्रभित्रै विकल्प खोज्नु पर्दछ । बरु गणतन्त्रका बदनाम ठेकेदारहरुलाई बिदा गर्न ढिलाई गर्नुहुँदैन । पटक पटक परिक्षण भैसकेका अक्षम नेताहरुलाई अवकाश दिएर नयाँ र उर्जाशील तथा परिक्षण नभएका नेताहरुलाई उनीहरुको क्षमता प्रदर्शन गर्ने अवसर दिनुपर्दछ । त्यसैले गणतन्त्रलाई गणतन्त्रकै तथाकथित नायकहरुबाट बचाऔं । सबै दलका नेता कार्यकर्ताहरुको सद्वुद्धि आओस् ।
प्रतिक्रिया