काठमाडौं- समाजवादी मोर्चाले राजावादीको क्रियाकलापको सशक्त ढंगले प्रति प्रतिवाद गर्ने भएको छ । शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्थाबारे जानकारी लिँदै समाजवादी मोर्चाका नेताहरूले राजावादीको क्रियाकलाप आपराधिक भएको भन्दै सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको छाडातन्त्रलाई छुट दिन नसकिने बताए । ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएकोले सरकारले कडा कदम चाल्नुपर्ने उनको भनाई छ ।
सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको र ठूलो जनधनको क्षति भएको उनको आरोप थियो । प्रचण्डले काठमाडौँमा विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने धारणा राखे ।
त्यस्तै नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले पनि राजावादीको क्रियाकलाप आपराधिक रहेकाले सशक्त ढंगले प्रतिवाद गर्ने बताए ।
राजावादी समर्थकहरूले शुक्रबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा समेत तोडफोड गर्दै आगजनी गरेका थिए ।
प्रतिक्रिया