काठमाडौं- काठमाडौंको तीनकुनेमा आयोजित पूर्वराजा समर्थहरूको प्रदर्शनले हिंसात्मक रुप लिएपछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । शुक्रबार तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि त्यसका कमान्डरमध्येका एक दुर्गा प्रसाईं फरार रहेका छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
राजावादीको प्रदर्शनमा सहभागी भएका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र डा.महामन्त्री धवल शमशेर राणालाई पक्राउ गरेको छ । राप्रपाले पार्टीका उपाध्यक्ष मिश्र र महामन्त्री राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ । २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको छ भने चैत २६ र वैशाख ७ मा काठमाडौँमा प्रदर्शन गर्ने सार्वजनिक गरिसकेको छ।
आगामी आन्दोलन थप हिंसात्मक हुन सक्ने सुरक्षा विश्लेषण गरेर प्रहरी प्रधान कार्यालयले उपत्यका बाहिरबाट थप फौज मगाएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार बागमती प्रदेशमा रहेका प्रहरी युनिटहरूबाट ठुलो संख्यामा प्रहरीहरूलाई काठमाडौं झिकाउन लागिएको हो ।
राजसंस्था पुनस्र्थापना गर्ने भन्दै शुक्रबार पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना भन्दा बढी घाइते भएका थिए भने १४ वटा सरकारी भवन तथा सञ्चार गृहमा आगजनी गरेका थिए। उक्त घटनामा एक पत्रकार र एक प्रदर्शनकारीले ज्यान गुमाएका छन् ।
यस घटनाले सरकार सुरक्षा व्यवस्था मजबुद बनाउन चुकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । प्रहरीको पर्याप्त उपस्थिति नहुँदा तीनकुनेमा उग्र भएका आन्दोलनकारीलाई नियन्त्रण गर्न नसकिएको विश्लेषण प्रहरीले गरेको छ ।
प्रतिक्रिया