मलाई मार्ने योजना थाहा पाएपछि भागेंः दुर्गा प्रसाईं

आइतबार, १७ चैत्र २०८१, १४ : १३

काठमाडौं- राजावादी आन्दोलनका कमाण्डर बनेका दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बनाएको जानकारी पाएपछि भागेको बताएका छन् । शुक्रबार राजावादीको प्रदर्शन  हिंसात्मक भएपछि दुई जनाको ज्यान गएको थियो भने आन्दोलनकारीले सरकारी तथा निजी भवनमा आगजनी गरेका थिए ।

त्यसलगत्तै फरार भएका प्रसाईंले आइतबार एक भिडियो सन्देश जारी गर्दै युवा संघ र प्रहरीको मिलेमतोमा आफूलाई मार्ने योजनाबनाइएको  बताएका छन् । उनले कार्यक्रम स्थलमा पुग्नु अगावै कार्यक्रम बिथोल्न प्रहरीले प्रदर्शनकारीमाथि आक्रमण गरेको दाबी गरेका छन् ।

‘मलाई मार्न घरको छतमा सुटरहरु तैनाथ गरिएको थाहा पाए पछि पुलिसको ब्यारिकेट तोडेर भागेको हुँ ।’, उनले भनेका छन्, ‘प्रहरी लक्षित आक्रमण गर्ने कुनै योजना थिएन । समाजवादी मोर्चाको भन्दा बृहत प्रदर्शन हुने देखेर त्यसलाई बिथोल्न युवा संघ र प्रहरीको मिलेमतोमा मञ्चमै आक्रमण गरेका थिए ।’

उनले प्रहरी र सरकारकै योजनामा तीनकुने घटना घटाइएको दाबी गरेका छन् । साथै, उनले केही युरोपियन युनियनको पैसा खाने मिडियाले आफ्नो खेदो खनेको आरोप लगाएका छन् ।

आइतबार, १७ चैत्र २०८१, १४ : १३

प्रतिक्रिया